१६ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जीवनशैली


जाडोमा देखिन सक्ने स्वास्थ्य समस्या



जाडोमा रुघाखोकी, दम, जोर्नी दुख्नेलगायत समस्याले मानिसलाई सताइरहेको हुन्छ । खानपिनमा ध्यान दिने तथा न्यानो भएर बस्ने गरियो भने यस्ता समस्याबाट बच्न सकिन्छ । यस मौसममा सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

डा. खेमराज भुसाल, कन्सल्टेन्ट फिजिसियन त्रि.वि. शिक्षण अस्पताल
रुघा–खोकी
जाडो मौसममा रुघा, खोकी र ज्वरो आउने गर्छ । यस्तो वेलामा शरीरको प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । र, चाँडै यी समस्याले भेट्छ । संक्रमणबाट बच्न विशेष गरी चिसोबाट बच्नुपर्छ । झोलिलो खानेकुरा खानुपर्छ । सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । खाना खानुअघि र पछि साबुनपानीले हात धुनुपर्छ । यसले भाइरल इन्फेक्सन हुनबाट जोगाउँछ । प्रशस्त फलफूल खानुपर्छ । जसमा मौसम, कागती, सुन्तलालगायतका फलफूल खानुपर्छ । चना, केराउ, गेडागुडीको दाल खानुपर्छ । यसका अलावा बाफ लिनु, नुनपानीले कुल्ला गर्नु लाभदायक हुन्छ । तातो झोलिलो पदार्थ बढी मात्रामा प्रयोग गर्नुपर्छ । चिसो पानी पिउनुहुँदैन । तुरुन्त गर्मीबाट चिसोमा र चिसोबाट गर्मीमा जानुहुँदैन । बाइक वा स्कुटर चलाउने वेलामा नाक, मुख छोप्ने गरी हेलमेट लगाउनुपर्छ । कोल्ड ड्रिंक्स, आइसक्रिमबाट टाढा रहनुपर्छ । यस मौसममा केटाकेटी र बुढापाकाको विशेष ख्याल राख्नुपर्छ ।

टन्सिल
बालबालिकामा टन्सिलको समस्या आमरूपमा देखिन्छ । यो ब्याक्टेरियल या भाइरस संक्रमणबाट हुन सक्छ । यो समस्या भएमा घाँटीमा दुखाइ महसुस, खाना खान तथा बोल्न समस्या, ज्वरो आउने हुन सक्छ । यसबाट बच्न चिसो पेय पदार्थ तथा चिसो खानेकुराको सेवन गर्नुहुँदैन ।

दम
दम एक किसिमको एलर्जिक रोग हो । दमबाट पीडित बिरामीको समस्या जाडोमा बढ्न सक्छ । रातको समयमा, चिसो बढेका वेला तथा जाडोमा एलर्जी एटेक हुने सम्भावना बढी हुन्छ । अतः दमका रोगीहरू एलर्जिक तŒव तथा चिसो हावाबाट बच्नुपर्छ । धुलो, माटो, धुवाँ र वायु प्रदूषणबाट बच्न एकदमै जरुरी हुन्छ । दमका रोगीले नियमित सेवन गर्ने औषधि साथमै राख्नुपर्छ । चिकित्सकको सल्लाहविना बीचमै औषधि छाड्नुहुँदैन ।

जोर्नीको दुखाइ
वृद्धवृद्धामा बदलिँदो मौसममा हातखुट्टाका जोर्नी दुख्ने समस्या बढी देखिन्छ । अर्थराइटिस, सानो जोर्नीमा दुखाइ, घुँडाको दुखाइ असह्य हुन्छ । यसबाट बच्न सकेसम्म चिसो हावामा बाहिर निस्किने गर्नुहुँदैन । जोर्नीमा तातो सेकाइका लागि पट्टी या हट ब्यागको प्रयोग गर्न सकिन्छ । सामान्य किसिमको व्यायाम नियमित रूपले गर्नुपर्छ । होमियोप्याथिक औषधिका साथसाथै योगा तथा फिजियोथिरापीले पनि जोर्नीको दुखाइबाट आराम मिल्छ । साथै, नियमित औषधिको सेवन गरिराख्ने तथा चिकित्सकसँग वेला–वेलामा सम्पर्क गरी स्वास्थ्य परीक्षण गराइरहने गर्नुपर्छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ९ : ०८ बजे