१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पालिका पोफाईल


विरगञ्ज महानगरपालिको संक्षिप्त जानकारी



वीरगंजको स्थापना भएको झन्डै ११६ वर्षभन्दा बढी भइसकेको छ । तत्कालीन श्री ३ वीर शम्शेरले वि.सं. १९४५ देखि १९५० को बीचमा वीरगंज बजार स्थापना गरेको अनुमान छ । वीर शम्शेरले स्थापना गरेको हुनाले यसको नाम वीरगंज रहन भएको हो भन्ने भनाइ रहेको छ । वीरगंज स्थापनाभन्दा अगाडि पर्सा जिल्लाको मुख्य केन्द्र अलौं थियो । वि.सं. १९०४ साउन महिनामा सुगौलीबाट राजा राजेन्द्रले पर्सा जिल्लाको अलौंमा सैनिक क्याम्प राखेको इतिहास छ ।

वीरगंज बजारको स्थापनाभन्दा अगाडि यस आसपासका गाउँहरू बगही, अलौं, बरेवा, कलैया, प्रसौनी, इनरुवा, छपकैया, अस्तित्वमा आइसकेका थिए । कलैयाबाट प्रसौनी, इनरवा गाउँ हुँदै छपकैया भएर अलौं जाने सानो बाटो थियो, उक्त बाटोलाई रजैया सडक भनिन्थ्यो भन्ने तथ्य वीरगंजको ऐतिहासिक खोज पुस्तक वीरगंजको नालीबेलीमा उल्लेख छ । जंगलले ढाकेको स्थानमा वीरगंज बजार स्थापना गर्न श्री ३ वीर शम्शेरले आफ्ना विश्वासपात्र द्वय सिद्धवीर माथेमा र ध्वजवीर माथेमा (दुई दाजुभाइ) लाई क्रमशः माल अड्डा तथा काठ माल अड्डाको हाकिम बनाई वीरगंजमा खटाएका थिए । त्यसै सिलसिलामा सिद्धवीर माथेमाले निःशुल्क जग्गा तथा काठ वितरण गर्नुका साथै वीरगंजमा घर बनाउनेहरूलाई नगदको व्यवस्था गरी सहयोग पुर्याएका थिए । उक्त कार्यले पछि सिद्धवीर माथेमालाई मृत्युदण्डको सजायसमेत भुक्तान गर्नु पर्ने अवस्था आइसकेको थियो ।

वीर शम्शेरको स्वर्गबासपछि श्री ३ देवशम्शेर महाराज भए । तर चन्द्र शम्शेरले चलाखीपूर्ण चाल चली करिब तीन महिनाभित्रै देवशम्शेरलाई अपदस्त गरी आफैं श्री ३ महाराजा बने । स्व. वीरशम्शेर र देवशम्शेरका मान्छेहरूलाई चन्द्र शम्शेर देखी सहँदैनथे । वीर शम्शेरका खास मान्छे सिद्धवीर माथेमामाथि रिसइवी साँधी उनले सम्हालेको माल अड्डा जाँच गराउन लगाई माथेमामाथि तीन लाख अनियमितता गरेको आरोप लगाइयो । सिद्धवीरले वीरगंज बजार बसाल्नमा खर्च गरिएको हिसाब देखाउँदा त्यसलाई अमान्य ठहर गरियो र तत्काल रकम तिर्न आदेश जारी भयो । माथेमाले आफूले नखाएकाले रकम तिर्न नसक्ने जवाफ दिएपछि सजायस्वरूप छातीमा साइनबोर्ड टाँसेर बाजागाजासहित बजार परिक्रमा गराउँदै मच्छाखुशीमा लगेर काटेर हत्या गरिदिने मृत्युदण्डको मौखिक फैसला भयो । खाइ नखाई अहोरात्र खटेर वीरगंज बजार स्थापनामा वीर शम्शेरलाई सहयोग पुर्याउने माथेमामाथि मृत्युदण्डको फैसला भएको खबर सुनेपछि स्व. श्री ३ वीरशम्शेरकी महारानीले आफ्नो तर्फबाट रु. तीन लाख रकम तिरिदिएर माथेमालाई मृत्युदण्डको सजायबाट छुटकारा दिलाइन् ।

हाल नेपालको मुख्य प्रवेशद्वारको रूपमा रहेको वीरगंज शहरसँग जोडिएका नेपालकै प्रमुख मित्रराष्ट्र भारतको रक्सौल शहर पनि स्थापना भएको थिएन । त्यतिबेला भारतीय रेलहरू सुगौलीसम्म मात्र सञ्चालन थिए । सुगौलीबाट सामान ओसारपोसार गरी काठमाडौं लान गोरुगाडा प्रयोग गरिन्थ्यो । गोरुगाडामा सामान लोड गरी रक्सौल हुँदै छपकैया, सिमरा, अमलेखगंज हुँदै भीमफेदीसम्म पुर्याइन्थ्यो र त्यहाँबाट भरियाले पिठ्यूँमा बोकी काठमाडौंसम्म पुर्याउँथे । जसरी वीरगंज बजार बन्न पुग्यो त्यसरी नै भारतको रक्सौलमा पनि बजार बसेको हुनुपर्दछ । त्यतिबेला रक्सौल शहर फलेजरगंजको नामले चिनिन्थ्यो । तत्कालीन भारतमा ब्रिटिस साम्राज्यको चलनचल्ती भएकाले त्यहाँका प्रमुख व्यक्तिलाई फलेजर साहेब भनी सम्बोधन गरिन्थ्यो । पछि नेपालको सिमाना हुँदै रेल सेवा विस्तार गरी रेल स्टेशनको नाम रक्सौल रहन गएको बुझिन्छ ।

श्री ३ चन्द्र शम्शेरले आफ्ना दाइले स्थापना गरेको वीरगंज बजारलाई समेत विस्थापित गर्न चाहेका  थिए । उनी वीरगंजको बजारलाई त्यहाँबाट हटाएर रौतहटको हजमिनियामा बसाल्न चाहन्थे । बजार विस्थापित गर्ने चाल अनुसार वि.सं. १९८० मा रक्सौलदेखि वीरगंजको मुख्य बजार अतिक्रमण गर्दै अमलेखगंजसम्म रेल लाइन सेवा विस्तार गरे । लिंकबाट रेल कुद्दा आसपासका घरहरू चर्कने, फुट्ने र बासिन्दाहरू आतंकित हुने गर्थे तर वीरगंजबासीहरू अनेक विन्ती भाउ गर्दै रेललाइन बजार बाहिर सार्न अनुरोध गर्नतर्फ लागे तर उनी हजमिनिया जान तयार भएनन् । पछि रेल्वे लिंक बजारको पूर्वतर्फ (बजार बाहिर) सारिएको थियो ।

भौगोलिक स्थिति :
पूर्व        :    बारा जिल्ला
पश्चिम   :    पर्साको श्रीसिया खल्वाटोला, रामगढवा, प्रसौनीविर्ता
उत्तर    :    बारा जिल्ला
दक्षिण     :    भारतको बिहार
अक्षांस    :    २६ डिग्रीउत्तरदेखि २६ डिग्री उत्तर अक्षांशसम्म
८१ डिग्री पूर्वदेखि ८१ डिग्री पूर्वी देशान्तरसम्म
समुद्र
सतहदेखिको उचाई    :        १२२ मि. देखि १२५ मि. सम्म

राजनैतिक तथा प्रशासनिक विभाजन :
प्रदेश     : प्रदेश नं २
जिल्ला   :    पर्सा
जम्मा वडा संख्या   :    ३२
वी.म.न.पा. कार्यालय रहेको स्थान        :    वार्ड नं १०
राजधानीसम्मको दूरी               :    १९२ कि.मि.
नजिको विमानस्थल सिमरा सम्मको दूरी    :    २२ कि.मि.
महेन्द्र राजमार्ग (पथलैया) सम्मको दूरी     :    २६ कि .मि.
क्षेत्रफल                :           करिब २२ वर्ग कि.मि.
जनसख्या  (०६८ को जनगणना अनुसार) :         १४०  हजार

https://birgunjmun.gov.np/

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ५ : ५७ बजे