२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


एकै वर्ष सत्ताइस अर्ब भन्दाबढिको मोबाइल आयात



विगत पाँच वर्षमा नेपालीले मोबाइल फोन खरिदका लागि एक खर्ब ३७ अर्ब रुपियाँ खर्चिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार आव २०७४/७५ देखि २०७८/७९ सम्मको पाँच वर्षको अवधिमा मोबाइल आयातका लागि सो खर्च भएको हो । उक्त रकम खर्च गरेर दुई करोड ७५ लाख थान मोबाइल आयात गरिएको तथ्याङ्क छ ।

विगत पाँच वर्षमा मोबाइल आयातमा भएको खर्चका आधारमा प्रत्येक वर्ष २७ अर्ब ४६ करोड रुपियाँ मोबाइल आयातमा बाहिरिएको देखिन्छ ।

मोबाइल आयातबापत सरकारले वार्षिक औसत चार अर्ब ३३ करोड रुपियाँ बराबर राजस्व पनि सङ्कलन गरेको छ । यस हिसाबले विगत पाँच वर्षमा सरकारले मोबाइल आयातबापत २१ अर्ब ६४ करोड रुपियाँ भन्सार राजस्व सङ्कलन गरेको छ ।

यो पाँच वर्षको अवधिमा आव २०७७/७८ मा सबैभन्दा धेरै मोबाइल आयात भएको छ । तथ्याङ्कअनुसार उक्त आर्थिक वर्ष करिब ३७ अर्ब रुपियाँ बराबरको ७० लाख थान मोबाइल आयात भएको थियो ।

अधिकांशले चलाउँछन् स्मार्ट फोन

विश्वव्यापी प्रवृत्तिजस्तै नेपालमा पनि अधिकांशले स्मार्ट फोन नै प्रयोग गर्ने गरेका छन् । दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कुनै एक पटक सक्रिय भएका मोबाइल फोनको तथ्याङ्कका आधारमा हेर्दा कुल मोबाइल सेट प्रयोगकर्तामध्ये करिब ६८ प्रतिशतले स्मार्ट फोन प्रयोग गर्ने देखिएको हो । बाँकीले भने बार फोन प्रयोग गर्ने प्राधिकरणको तथ्याङ्क छ ।

सेवा प्रदायकअनुसार हेर्दा नेपाल टेलिकम र एनसेल दुवैका प्रयोगकर्ताले सबैभन्दा धेरै सामसुङ ब्रान्डका मोबाइल प्रयोग गर्ने पाइएको छ ।

प्राधिकरणका अनुसार नेपाल टेलिकमको नेटवर्कमा समीक्षा अवधिमा करिब एक करोड ५८ लाख मोबाइल सेट सक्रिय भएको देखिएको छ । त्यस्तै एनसेलको नेटवर्कमा एक करोड ७० लाख मोबाइल सेट सक्रिय देखिएको छ ।

टेलिकमको नेटवर्कमा सबैभन्दा धेरै सामसुङ र त्यसपछि रेड्मी, ओप्पो, नोकिया, भिभो, आइटेललगायतका मोबाइल ब्रान्ड बडी प्रयोग भएको देखिएको छ । एनसेलको नेटवर्कमा पनि सबैभन्दा धेरै सामसुङ र त्यसपछि साओमी, ओप्पो, भिभो, आइटेलजस्ता ब्रान्डका मोबाइल प्रयोग भएको पाइएको छ ।

पाँच वर्षमा हराए १५ हजार मोबाइल

समीक्षा अवधिमा करिब १५ हजार मोबाइल हराएको पाइएको छ । प्राधिकरणका अनुसार विगत पाँच वर्षमा सो बराबरका मोबाइल हराएको आवेदन प्राप्त भएको हो । सबैभन्दा धेरै गत आर्थिक वर्षमा मात्रै १० हजार मोबाइल हराएको निवेदन प्राधिकरणले प्राप्त गरेको थियो ।

हराएका कुल मोबाइलमध्ये सात हजार मोबाइल मात्र सेवा प्रदायकको नेटवर्कमा जोडिएको पाइएको प्राधिकरणले जनाएको छ, जसमध्ये प्राधिकरणले नेटवर्कमा टे«स भएका दुई हजार छ सय मोबाइल खोजीका लागि नेपाल प्रहरीलाई पत्राचार गरेको थियो ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ८ : ०७ बजे