नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले मध्यमवर्गीय उद्योगी व्यवसायी टाट पल्टिने अवस्थामा पुगेको बताएका छन् । ठूला उद्योगी व्यवसायीले पुँजी विदेश लगिरहेको तर राष्ट्रिय उद्योगी व्यवसायीहरु ऋणको ठूलो मारमा परेर टाट पल्टिन लागेका उनले बताए ।
पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले साना किसान भने मिटरब्याज र लघुवित्तको ऋणको पासोमा परेको बताए । ‘किसानले पुरानो जीवनबाट माथि उठ्न ऋण काढेका छन् । तर ती सबै जेथा मिटरब्याजीले लिएर सडकमा पु¥याइदिइरहेका छन्’ उनले भने ।
शहरमा शैक्षिक बेरोजगारीका कारण युवा पुस्ता विक्षिप्त रहेको बताए । क्याम्पस र विश्वविद्यालयबाट निस्केका युवाहरु बेरोजगारको ठूलो ताँती निस्केको पनि विप्लवले टिप्पणी गरे ।
युवापुस्तामा रहेको निराशा गत मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि देखिएको उनले बताए । ‘यो चुनाव इतिहासकै सबैभन्दा फितला र कमजोर भए, जनताले कम मतदान गरे र नयाँ विकल्पको खोजीमा हिँडे’ उनले भने, ‘चुनावमा नयाँ दल उदाउनु सकारात्मक कुरा हो ।’
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्ने पार्टीसँग एकता र मुद्दा मिल्नेसँग संयुक्त मोर्चामार्फत कार्यगत एकता गर्ने नीति लिने भएको छ । सो पार्टीको नवौँ केन्द्रीय कमिटी बैठकका निर्णय बुधवार सार्वजनिक गर्दै यस्तो नीति लिने जनाएको हो । साथै विप्लव नेतृत्वको पार्टीले नेता कार्यकर्ताको वैचारिकीकरण एवम् जन नेतृत्व निर्माणका लागि कम्युनिस्ट कलेज सञ्चालन गर्ने भएको छ ।
सो पार्टीले ‘जन आधारित पार्टी र जन आधारित नेता कार्यकर्ता’ भन्ने नीति पारित गरेर जनताको सुख दुःखमा पुग्ने योजना अगाडि सारेको छ । साथै पार्टीले आगामी दिनमा राष्ट्रिय स्वाधीनता र जनताका राजनैतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा केन्द्रित रहेर सङ्घर्ष गर्ने निर्णय गरेको छ ।
‘हाम्रो निष्कर्ष के छ भने विचार मिल्ने पार्टीहरूसँग पार्टी एकता गर्नुपर्छ, मुद्दा मिल्ने कम्युनिस्ट पार्टीहरूसँग सहकार्य गर्नुपर्छ’, पत्रकार सम्मेलनमा महासचिव विप्लवले भने, ‘यही व्यवस्थाभित्र घुमेर होइन । यसको समाधान वैज्ञानिक समाजवादमा खोज्नुपर्छ । त्यो सर्तमा नेपालमा वैज्ञानिक समाजवादी बहस, रूपान्तरणकारी राजनीतिक बहस होस् सबै देशभक्त शक्तिहरूसँग पनि ।’ उनले आफूहरू सबै विषयमा खुल्ला ढङ्गले छलफल गर्न तयार रहेको भन्दै नेपाल सबै विषयको निराशावादी गोल चक्करबाट मुक्त गर्नुपर्ने बताए ।
प्रतिक्रिया