सरकारले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ परिमार्जनका लागि अध्ययन थालेको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सडक खाली गराउँदा आमनागरिकले सास्ती पाएको तथा सुरक्षाकर्मीबाट ट्रमा सेन्टरका चिकित्सक कुटिएको घटनाको चौतर्फी आलोचना भएपछि सरकारले विशिष्ट व्यक्तिको सवारी व्यवस्थापन सहज बनाउन अध्ययन थालेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी आमनागरिक र विशेषगरी स्वास्थ्य संस्था, विद्यालयलगायत संवेदनशील संस्था तथा क्षेत्रहरूमा असहजता नहुने गरी कार्यविधि परिमार्जन गर्न अध्ययन थालिएको बताए । ‘आजैदेखि सरकारी टिमले अध्ययन सुरु गरेको छ । टोलीले कार्यविधि समयानुकूल बनाउन एक हप्ताभित्र मन्त्रिपरिषद्लाई सुझाव पेस गर्छ,’ उनले भने ।
चिकित्सक कुटिएपछि आन्दोलनमा रहेको चिकित्सक संघसँगको वार्ताका क्रममा अध्ययनबाट आएका सुझावलाई सरकारले यथाशीघ्र कार्यान्वयनमा लैजाने सहमति भएको सचिव पाण्डेयले बताए । वर्तमान कार्यविधिमा अति विशिष्ट व्यक्तिको सवारीका वेला सडकमा समन्वय गरेर सुरक्षा व्यवस्थापन मिलाउने व्यवस्था छ । तर, व्यवहारमा विगतको राजा–महाराजाजस्तै सडक खाली गराउने र जनतालाई रैतीजस्तै ठान्ने अभ्यास कायम छ ।
प्रतिक्रिया