२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


अन्तरिक्ष भ्रमण गर्न नेपाललाई चीनको निम्तो



चीनले आफ्नो अन्तरिक्ष अभियान र स्टेसनमा सहकार्य गर्न नेपालीलाई निमन्त्रणा दिएको छ। नेपालका लागि चीनका राजदूत छेन सोङले नेपालीलाई चीनको अन्तरिक्ष अभियान र स्टेसनमा सहकार्य गर्न आमन्त्रण गर्नुभएको हो।

चिनियाँ अन्तरिक्ष यात्रीले पहिलो अन्तरिक्ष भ्रमण (स्पेस वाक) गरेको भिडियो राख्दै उहाँले यस्तो आमन्त्रण गर्नुभएको हो। चीनको विदेश मन्त्रालयका प्रवक्ताले राखेको भिडियो सेयर गर्दै राजदूत सोङले ट्विटरमा अन्तरिक्ष अन्वेषण र चिनियाँ अन्तरिक्ष स्टेसनमा नेपाललाई सहभागी हुन निमन्त्रणा दिनुभएको छ।

‘हेड अप चिनियाँ ताइकोनट (अन्तरिक्ष यात्री) अन्तरिक्षमा हिँड्दै। अन्तरिक्ष अन्वेषण र चिनियाँ अन्तरिक्ष स्टेसनमा आफ्ना नेपोलिनट्स् (नेपाली अन्तरिक्ष यात्री) पठाउन र चीनसँगको सहकार्यमा सामेल हुन नेपाललाई स्वागत छ’, राजदूत सोङले गर्नुभएको ट्विटरमा उल्लेख छ। नेपालमा अन्तरिक्ष क्षेत्रमा लागेका संस्था तथा व्यक्तिले चीनको यस कदमको स्वागत गरेका छन् भने कतिपयले राजदूतको सन्देश स्पष्ट नभएको र यस विषयलाई थप स्पष्ट पार्न आग्रह गरेका छन्।

इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा एयरोस्पेसका उपप्राध्यापक डा. सुदीप भट्टराईले चीनको यो सन्देश नेपालका लागि सकारात्मक रहे पनि अलिक कूटनीतिक रहेको बताउँदै यो विषय राजदूतले सतहीरूपमा भनेको जस्तो देखिएको टिप्पणी गर्नुभयो।

अन्तरिक्ष प्रतिष्ठानका संस्थापक डा. आभाष मास्केले चीनले अन्तरिक्ष अभियान र स्टेसनमा सहकार्य गर्न नेपाललाई दिइएको निमन्त्रणा सकारात्मक रहेको बताउनुभयो। “यस विषयमा हामी छिट्टै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)सँगको अग्रसरतामा परराष्ट्र मन्त्रालयको नेतृत्वमा राजदूतसँग भेट्छौँ,” उहाँले भन्नुभयो, “नेपालले के कति रकम बेहोर्नुपर्ने हो, नेपालको कुन तहको सहभागिता रहने हो भन्नेलगायतका विषयमा हामी स्पष्ट हुनुपर्छ।”

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले राजदूतमार्फत आएको चीनको आमन्त्रण नेपालीका लागि सुखद भएको बताउनुभयो। उहाँले चीनको अन्तरिक्ष अभियान र स्टेसनमा नेपालीले पनि सहकार्य गर्ने भन्ने कुरा सम्भव रहेको तर यस विषयमा नेपाल सरकारले गम्भीर भएर पहल गर्नुपर्ने बताउनुभयो।

“नासोले विगत १५ वर्षदेखि नेपालको आफ्नै स्पेस प्रोग्राम हुनुपर्छ भनेर बहस चलाउँदै आएको छ। अन्तरिक्ष कार्यक्रम भनेको स्याटेलाइट प्रक्षेपण मात्र होइन, स्याटेलाइटमा चाहिने उपकरणदेखि मानव संसाधन पनि पर्ने गर्छ,” उहाँले भन्नुभयो।

वियोन्ड एपोजीका प्रमुख कार्यकारी अधिकृत सुदीपविक्रम अधिकारीले राजदूतको सन्देश अन्तरिक्ष क्षेत्रमा लाग्नेका लागि सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ७ : ४८ बजे