९ असार २०८२, सोमबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


शिव तत्व नै परम तत्व हो…



प्रेममान डंगोल- शिवरात्रिको अवसरमा हरेक वर्ष पशुपतिनाथलगायतका शिवमन्दिरहरुमा ठूलो मेला लाग्ने गर्छ । देवाधिदेव महादेव शिवको बारेमा केही कुरा भन्न खोज्नु वास्तवमा सूर्यलाई दियो देखाउनुजस्तै हुनेछ । तर पनि शिवको अध्ययन, आराधना गर्ने सन्दर्भमा केही कुरा भन्नुपर्दा उहाँ यति व्यापक हुनुहुन्छ कि उहाँको विषयमा हामीले चर्चा गरेर साध्य हुँदैन । किनकि उहाँ स्वयं असाध्य हुनुहुन्छ, अपरम्पार हुनुहुन्छ । उहाँको वर्णन हजार जिब्रो भएका शेषनागले समेत गर्न सक्दैनन् भने हामीजस्ता साधारण मानिसले कसरी गर्न सक्छौं र ? यो विश्व ब्रह्माण्डमा शिव व्याप्त हुनुहुन्छ । शिवसम्बन्धी अध्ययन मनन गर्ने सन्दर्भमा धेरै नै विधिहरू छन् । जस्तै– धर्म, दर्शन, योग, मन्त्र, तन्त्र आदि । त्यस्तै शिवको आराधना गर्ने सन्दर्भमा पनि विविध विधि छन् । जस्तै– पूजा, ध्यान, ज्ञान आदि ।

शिवसम्बन्धी गहिरो अध्ययन, चिन्तन, मनन गर्न धेरै नै कठिन कार्य हो । तर साधारणतया शिवसम्बन्धी अध्ययन गर्ने हो भने उहाँलाई हामीले दुई किसिमले आराधना गर्न सक्छौं । एउटा तत्व र अर्को धर्म पुरुषको रूपमा । वास्तवमा तत्वको हिसाबले शिव निराकार परमात्मा हुन् भने धर्म पुरुषको रूपमा शिव साकार महादेव हुन् ।

तत्व शिव :

तत्व शिव त्यो परम तत्व हो, जसबाट यो संसारको सृष्टि भयो र यो विश्व ब्रह्माण्ड चराचर जीव जगत्को विस्तार भएको छ । यो विश्व ब्रह्माण्ड चराचर जीव जगत्को सृष्टिका साथै पालन पनि भैरहेको छ भने तिनै शिव तत्वबाटै सारा जगत्को लय पनि भैरहेको छ अर्थात् संहार भैरहेको छ । त्यसैले तत्वको हिसाबले शिव जगत्का परम आत्मा हुनुहुन्छ । सारा जगत् उनैबाट उत्पन्न हुन्छ, त्यसैमा वृद्धि हुन्छ अनि त्यसैमा लय पनि हुने भएकोले शिव नै जगत्को आत्मा हुनुहुन्छ अनि शिवलिंग उनै निराकार परम आत्माका प्रतीक हुन् ।

धर्म पुरुष शिव :

धर्म पुरुषको हिसाबले शिव साकार शिवजी वा महादेव हुनुहुन्छ भने संसारमा प्रादुर्भाव हुनुभएर लोककल्याणका लागि शिवसम्बन्धी ज्ञानको उपदेश दिनुभएर सबैलाई बाटो देखाउनुभयो । उनै धर्म पुरुष शिवसम्बन्धी धर्म प्रचार गर्नुभएकोले नै उहाँलाई शिवजी भनिएको हो । त्यसैले शिवलाई कल्याणकारी शिव भनिएको हो । अनि उहाँ विभिन्न देवहरूका पनि देव हुनुभएकोले उहाँलाई महादेव भनिएको हो ।

शिवलाई ‘ओम्’को रूपमा लिइन्छ । त्यसैले ओम् नमः शिवाय भनेर प्रार्थना गरिन्छ । ॐ अर्थात् अ, उ, म्, विन्दु, नादरूपी शिवलाई नमस्कार गर्दै ॐ नमः शिवाय भनिएको हो ।

शिवलाई सर्वशक्तिमान्, सर्वव्यापी, सर्वज्ञ, निरञ्जन निराकारको रूपमा आराधना गरिन्छ भने महेश्वर रूप त्रिदेव ब्रह्मा, विष्णु, रुद्र अर्थात् सृष्टि, स्थिति, लय, मोक्षदाता महादेवको रूपमा पनि लिइन्छ । त्यसरी नै पञ्चमुखी महादेवको रूपमा सद्योजात, बामदेव, तत्पुरुष, अघोर र ईशान रहेका छन् भने अष्ट शिवायको रूपमा शर्व, भव, रुद्र, पशुपति, भीम, उग्र, महादेव, ईशान रहेका छन् । त्यसरी नै अजैकपाद, अहिर्बुध्न्य, कपाली, पिनाकी, पिंगल, विरूपाक्ष, विलोहित, शास्ता, शम्भु, हर, त्र्यम्बक एकादश रुद्रायको रूपमा पनि विराजमान रहनुभएको छ ।

शिवजीले आफ्नो साकार रूपमा विचरण गर्नुहुँदा विभिन्न लोककल्याणकारी कार्य गर्नुभएको र अनेकौं उपदेशहरू दिनुभएको पाइन्छ । एकदिन ब्रह्माले आफैंले छोरीजस्तै गरेर पालेका अंगजा नामकी युवतीको रूपमा मोहित भई यौनसम्बन्ध राख्न पुगेछ । अनि ब्रह्माले आफैंलाई धिक्कार गर्दै शंकर रुद्रलाई भेटेर आफ्नो गल्ती बताएर शोक प्रकट गर्नुभयो । शंकर रुद्रले पनि उपदेश दिनुभयो– ‘नचमन्युस्त्वया कार्यो भावीन्यर्थे कदाचनः’ अर्थात् हुनुपर्ने नभई छोड्दैन भन्ने भावीको अर्थ बुझेर यसमा शोक नगर्नुस् । शिव रुद्रको कुरा सुनेर ब्रह्माको चित्त बुझ्यो अनि शिवलाई श्रद्धा गरे ।

एकपटक देवता र दैत्यहरू मिलेर समुद्र मन्थन गर्दा विष पो निस्केछ, जुन विषले यो संसारकै नाश हुने भएकोले उक्त विषलाई भगवान् शिवले पिउनेबित्तिकै घाँटी नीलो भएकोले उहाँको नाम नीलकण्ठ भएको हो । त्यही समयमा ऋषिहरुले यस्तो विष पिएर हजुरलाई कष्ट भएन ? भनी सोधनी गर्दा उहाँले ‘यो विष त्यति कष्टदायक छैन, जति यो संसार कष्टदायक छ, त्यसैले महाविषरूपी यो संसारबाट मुक्त हुनुपर्छ’ भन्नुहुँदै उहाँले सांसारिक दुःखबाट मुक्त हुने उपाय ज्ञानयोगको उपदेश दिनुभयो ।

प्रजापति दक्षले रुद्र शिव र सतीदेवी दुवैलाई नबोलाई ठूलो यज्ञ गरे । शिवलाई नबोलाएको हुँदा दधिची मुनीले दक्षको विरोध गर्दै यज्ञस्थल छोडेर गए । यज्ञको कुरा थाहा पाएर सतीदेवीले साह्रै चित्त दुःखाएर बाबु दक्षकहाँ गएर हामीलाई किन नबोलाउनुभएको भनेर सोध्नुभयो । दक्षले शिवलाई निन्दा गरे । सतीदेवीले सहन सकिनन् र यज्ञको ज्वालामा हामफालेर आफ्नो प्राण त्याग्नुभयो । जसले गर्दा शिव गण र दक्षका समर्थकहरूबीच ठूलो लडाइँ भयो र दक्षको यज्ञ ध्वंस भयो । अन्त्यमा शिवजीले दक्षको पशुत्व मारिदिनुभयो र दक्षले शिवसँग क्षमा मागे । अनि शिवले दक्षलाई अहंकारको दुष्परिणामबारे ज्ञान दिनुभयो र उनलाई पनि आफ्नो गाणपत्य दिनुभयो ।

यस प्रकार ब्रह्मापछि दक्ष पनि महादेवका समर्थक भए । तर शिवका विरोधी कट्टरपन्थी ब्राह्मणहरू अझै बाँकी रहे । सतीदेवीको अन्त्य भैसकेपछि शोक मत्थर पार्न महादेवले दारुक वनमा नाङ्गै भ्रमण गर्नुभयो अनि त्यहाँका ब्राह्मणहरूले रिसाएर महादेवलाई गाली गरे तर महादेवले वास्ता गरेनन् । ती ब्राह्मणहरूले ढुंगाले हानेर, लठ्ठीले हिर्काएर शिवको लिंग पतन गरिदिए । तर शिवले आफ्नो योगबलले ती ब्राह्मणहरूलाई तर्साएर पछि ब्राह्मणहरूले पनि माफी मागे । अनि ती ब्राह्मणहरूलाई शिव भगवान्ले साङख्य योगको उपदेश दिनुभयो र तिनीहरू पनि ज्ञान परायण भएर शिवको समर्थक बने ।

त्यसपछि एकपटक भगवान् शिव मानसरोवरमा विचरण गरिरहेको समय पारेर अन्धक (जालन्धर) नामक असुरले कैलाशमा आएर पार्वतीलाई हरण गर्ने प्रयास गरेको थाहा पाएर महादेव फर्की आए र अन्धकलाई ज्ञानको त्रिशूलले मारिदिँदा उनको आत्मा (खराब मन) परिवर्तन भएर उनले पनि महादेवको गाणपात्य प्राप्त गरे । त्यस्तै एकपटक राजा सोम (चन्द्रमा) ले आफ्नो गुरुपत्नीलाई स्वास्नी राखेकोले उहाँले सोमलाई दण्ड दिँदा सोमले महादेवको आराधना गर्ने गरे । त्यसपछि एकपटक त्रिपुरासुर दैत्यहरूले देवगणहरूलाई दुःख दिएकोले उहाँले देवगणका तर्फबाट युद्ध गर्दै त्रिपुर दैत्यहरूको अहंकार नाश गरिदिनुभयो ।

त्यस्तै फेरि देवताहरूका शत्रु शंखचूड दैत्यलाई पनि युद्धमा हराएर उसको अहंकार नष्ट गरिदिनुभयो । तर यस प्रकार महादेवको अनुग्रहबाट देवताहरू विजयी भएको कुरा बिर्सेर हामीले नै दानवहरूलाई हराएको भनी अहंकार गरेकाले महादेवले देवताहरूले थाहा नपाउने गरी यक्षको भेष लिएर देवताहरूलाई पनि उनीहरूको अहंकार बोध गराउन ब्रह्म शक्तिको बोध गराउनुभयो र अन्तरध्यान हुनुभयो । यस प्रकार महादेवले लोकमा प्रादुर्भाव भएर विभिन्न क्रियाकलाप गर्दै शिवत्वको प्रचारप्रसार गर्नुभएको कुरा हामीले थाहा पाउन सक्छौं ।

खास गरेर महादेवका विभिन्न पक्षमध्ये एउटा महत्वपूर्ण पक्ष समय–समयमा उहाँले दिनुभएका उपदेशहरू हुन् । उहाँका विभिन्न उपदेशहरूमध्ये पनि एउटा प्रमुख उपदेश अष्टांग योगको मात्र अनुशरण गर्न सकेमा हाम्रो जीवन सार्थक हुनेछ । अष्टांग योगलाई पछि ऋषि पतञ्जलिले लोककल्याणका लागि प्रचारप्रसार गरे । आज आएर त्यही अष्टांग योगलाई पतञ्जलि योग भन्न थालियो । अष्टांग योगको अनुशरण गर्न सकेमा हामीलाई यम, नियम, संयमको ज्ञान भएर आध्यात्म ज्ञानको बाटोमा जान सकिन्छ, जसबाट मोक्षको उद्देश्य सहज हुन सक्छ । किनभने यम भनेको ५ वटा कुरा अहिंसा, सत्य, अस्तेय (चोरेर नलिने), ब्रह्मचर्य र अपरिगृह (चाहिनेभन्दा बढी नलिने) हुन् । अनि नियम भनेको ५ वटा कुरा शुद्धता, सन्तोष, स्वाध्याय, तप, र ईश्वर प्रणिधान हुन् ।

त्यस्तै संयम भनेको ध्यान र समाधिको कुरा हो । साधारण मानिसहरू ध्यान र समाधिको बाटोमा जान नसक्लान् तर यम, नियम मात्र पालन गर्न सकेमा हामीले आफ्नो चरित्र निर्माण गर्न सक्छौं, जुन आजको समयमा राष्ट्रका निम्ति, समाजका निम्ति नभई नहुने भएको छ । त्यसैले यस कुरालाई बुझेर भगवान् शिवको अष्टांग योगको अनुशरण गर्नेतर्फ मन दिएर आफ्नो जीवन सार्थक बनाउनुपर्छ । शिवलिंग (निराकार शिवको प्रतीक) वा महादेवको मुहार मात्र सम्झेर वा उहाँको मूर्तिलाई मात्र नमस्कार गरेर वा अक्षताले पूजा गरेर मात्र शिवलाई सम्झेको हुन सक्दैन । महादेव शिवको उपदेश पालन गर्नु नै उहाँलाई साँच्चिकै सम्झेको वा स्तुति गरेको ठहर्छ । यही शिव सम्झना हो । यही शिवरात्रिको महत्व हो । अनि यही नै वास्तवमा धर्मको पनि पालन हो ।-साभार नेपाल समाचारपत्र

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ८ : १० बजे