१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


स्ववियु निर्वाचन प्रक्रिया सुरु



त्रिभुवन विश्वविद्यालयले आउँदो चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदै छ।

प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको हो । सो समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ। यसअघि त्रिविका शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुसालको अध्यक्षतामा १६ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गरिसकेको छ। आउँदो चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदै छ।

विश्वविद्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी सङ्गठनले फागुन १९ गते अपराह्न ३ बजेभित्रमा दर्ता गर्नुपर्नेछ । फागुन २१ गते निर्देशनालयले मतदाताको नामावली प्रकाशन गर्नेछ।

सो नामावलीउपर फागुन २५ गते दिउँसो १ बजेभित्रमा दाबी विरोध गर्न पाइने तथा दाबी विरोधमाथि छानबिन गरेर सोही दिनको साँझ ५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गरिने निर्देशनालयले जानकारी दिएको छ ।

फागुन २६ गते प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिनेछ। फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयनपत्रको नामावली दाखिला हुनेछ। सोही दिनको साँझ ५ बजेसम्ममा प्रत्यक्षतर्फका उम्मेदवारको नामावली प्रकाशन हुनेछ।

फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेभित्रमा प्रत्यक्षतर्फका उम्मेदवारमाथि दाबी विरोध गर्ने समय तोकिएको छ। सोही दिनको साँझ ५ बजे प्रत्यक्षतर्फका उम्मेदवारमाथि परेको दाबी विरोधमाथि छलफल गरेर अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख गरिएको छ।

प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूलाई फागुन २९ गते दिउँसो १ बजेसम्म फिर्ता लिने समय दिइनेछ र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्देशनालयले जनाएको छ। चैत ५ गते बिहान ८ बजेदेखि निर्वाचन हुनेछ।

विद्यार्थी सङ्घ तथा सङ्गठनले फागुन २९ गतेदेखि चैत २ गतेसम्म मात्रै प्रचारप्रसार गर्न पाउनेछन्। त्यसपछि निर्वाचन सम्पन्न नहुँदासम्म मौन अवधि रहनेछ। मौन अवधिमा प्रचारप्रसार गरेमा कारबाही गरिने त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ।

त्रिविमा २०१८र१९ सालदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुरु भएको हो। सुरुका वर्षमा प्रत्येक वर्ष हुने गरेकोमा २०३६ सालपछि प्रत्येक दुई–दुई वर्षको अन्तरालमा निर्वाचन हुँदै आएको छ।

त्रिविले २०७३ सालदेखि मिश्रित प्रणालीमा निर्वाचन सुरु गरेको हो। जसअनुसार सभापति, सचिव तथा कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन तथा उपसभापति र उपसचिव समानुपातिक एवं ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुनेछन् तर २०७३ सालमा उपत्यकामा नौवटा र उपत्यका बाहिर १७ वटा क्याम्पसमा मात्र निर्वाचन सम्पन्न भएको थियो। स्ववियुको कार्यसमितिमा उम्मेदवार हुन उम्मेदवारी दर्ताको दिन २८ वर्ष ननाघेको हुनुपर्नेछ।

निर्वाचनमा सहकार्य

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ, नेकपा ९माओवादी केन्द्र०को अखिल क्रान्तिकारी र नेकपा ९एकीकृत समाजवादी० निकट अनेरास्ववियुबीच स्ववियु निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ।

अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालयमा नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका महासचिव आरती लामाबीच सहमति भएको अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले जानकारी दिनुभयो।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ७ : ५८ बजे