३२ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking

माइतीघर मण्डलामा मिथिला संस्कृतिको होली पर्व (भिडियोसहित)


फागु पूर्णिमाको पूर्व सन्ध्यामा मिथिला संस्कृति समाज नेपालले माईतीघर मण्डलामा ‘फागुवा उत्सव’ मनाएको छ । सो समाजको आयोजनामा रङ्ग र अबिर खेलेर राजधानीमा बसोकास गर्ने मैथिली समाुदायका नागरिकहरुले पर्व मनाएका हुन ।

विभिन्न मुद्दा र माग लिएर दिनहुँ भिडभाड भइरहने माइतीघर मण्डलामा मिथिला संस्कृतिको होलीले पर्वले रौनक छाएको हो । किसानदेखि विभिन्न समुदायका पहिचान, लोकतन्त्र, नागरिक खबरदारीका कैयन विषयमा दैनिकजसो सङ्घर्षका कार्यक्रम भइरहने माइतीघरमा ‘फगुवा उत्सव २०२३’ को माहोलले सबैको ध्यान त्यसतर्फ खिचेको थियो ।

माइतीघर सडक भइ आवतजावत गर्ने सर्वसाधरणदेखि सवारी साधनमा घुइँकिनेहरुले पनि माइतीघर पुगेपछि क्षणिक रुपमा भए पनि फरक दृश्यको दृश्यावलोकन गरेका थिए ।

दैनिक विभिन्न समूहको आन्दोलन भइरहने माइतीभरमा आजको दृश्यलाई सबैले उत्सुकतापूर्वक लिएका थिए । फागुको रङ्ग र अबिरले माइतीघरको सडक रङ्गिएको थियो । जम्मा भएका व्यक्तिको रङ्गले रङ्गीचङ्गी वेशभूषाले भिडतर्फ आकर्षण पर्थ्यो । त्यो दृश्यले सडकको माहोललाई बेग्लै उल्लासमय बनाएको थियो । माइतीघर मण्डलामा रङ्गिएको रङ्गमा झुम्मिएको जनसाधारणको भिडले कार्यक्रमको महिमा बढाएको थियो ।

आन्दोलनका क्रममा हुनसक्ने सम्भावित जोखिम नियन्त्रणका लागि हातहतियारसहित सुरक्षा पहरा दिइरहेका उल्लेख्य संस्थाका प्रहरी र सङ्घर्षरत समूहको हूललाई देखिरहनेका लागि बिल्कुल फरक दृश्य भएकाले उनीहरुको ध्यान त्यसतर्फ केन्द्रित हुनु स्वाभाविक पनि थियो ।

मिथिला संस्कृति समाजले आयोजना गरेको सो फगुवा महोत्सवलाई उल्लासमय बनाउन मिथिला समाज र परिवार मात्र होइन आम सर्वसाधरणको साथले कार्यक्रमको रौनक थपेको थियो । त्यसै पनि माइतीघर मण्डलाको रङ्गीचङ्गी दृश्यलाई वसन्तको सङ्घारमा रङ्गीचङ्गी फूल र बोटबिरुवाका साथै मण्डला आसपास बनेका गगनचुम्बी आकर्षक भवनले सहजै ध्यान खिचिरहेको हुन्छ । सधैँ देखिरहनेभन्दा शनिबारको फरक दृश्यले जो कोहीलाई मोहित तुल्याउँथ्यो ।

होलीको पूर्वसन्ध्यामा होली पर्वको महत्त्व र महिमाबारे मिथिला संस्कृतिभन्दा फरक समुदायलाई जानकारी गराउने उद्देश्यले फगुवा महोत्सव आयोजना गरिएको मिथिला संस्कृति समाजका अध्यक्ष बीरेन्द्र ठाकुरले बताए । मधेशमा फगुवाका रुपमा चिनिने होली पर्वका अवसरमा काठमाडौंमा बसोबास गर्ने तराईवासीलाई एक ठाउँमा जम्मा पारेर अन्य समुदायलाई पनि देखाउने लक्ष्यका साथ फगुवा उत्सव मनाउने गरेका हुन ।

होलीको सामाजिक, सांस्कृतिक र धार्मिक महत्त्व छ । सहरलाई मिथिला संस्कृतिको सन्देश दिन फगुवा पर्व मनाइएको अध्यक्ष ठाकुरले बताउनुभयो । विभिन्न पेसा व्यवसायको सिलसिलामा काठमाडौंमा बसोबास गर्ने तराई–मधेशका विभिन्न समुदायबीच होलीको माध्यमबाट आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्न महोत्सव गरिएको हो ।

मधेशी आयोगका अध्यक्ष डा। विजयकुमार दत्तले होलीको माध्यमबाट सामाजिक र सांस्कृतिक अन्तरघुलनको सन्देश दिने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न समुदायबीच सामाजिक अन्तरघुलन गरी एकताको सन्देश दिने उद्देश्यले यो कार्यक्रम गरिएको हो ।

मिथिला समुदायका मानिसले डम्फु, झ्याली, हार्मोनियमलगायतका बाजागाजाका साथ एकापसमा खुसी र शुभकामना साटेर होली उत्सवका रुपमा मनाएका थिए । आयोगका अध्यक्ष डा। दत्तले भन्नुभयो, “यो नेपाली संस्कार र संस्कृति हो तर, तराईमा छुट्टै उल्लासका साथ छुट्टै किसिमले होली मनाउने परम्परा छ, त्यसको सन्देश अन्य समुदायलाई दिन र तराई, पहाड, हिमाल सबै एकै कोही छैन पराइ भनेर सन्देश दिनका निम्ति पनि यो कार्यक्रम गरिएको छ ।”

सांस्कृतिक अभियन्ता राजानन्द माण्डव्यले मिथिला संस्कृतिको पुरानो इतिहास होली पर्वलाई उल्लासमय बनाउन यो अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मधेसका विभिन्न खाले संस्कृतिलाई पहाड र हिमालमा नपुर्‍याएसम्म एकताको भावना विकास हुँदैन । हिमाल, पहाड र तराई कोही छैन पराइ भन्ने एकताको सन्देश दिन यो अभियानले सहयोग पुग्नेछ ।”

समाजले अघिल्लो वर्ष पनि माइतीघर मण्डलामा फगुवा कार्यक्रम आयोजना गरेको थियो । समाजले संस्कृतिको जगेर्ना, मिथिला र मधेसको संस्कृति उत्थान विकासमा विभिन्न भूमिका निर्वाह गर्दै आएको छ । यो उत्सवमा कुनै पनि किसिमको मदिराजन्य पदार्थको प्रयोग हुन दिइँदैन । मालपुवा, बदाम, नरिवल, सुपाडी, छोकडा, किसमिसको मिष्ठान्न परिकारसहित अबिर दलेर यो पर्व मनाइएको हो । कुनै स्थान विशेषमा गर्दा सीमित मानिसले मात्रै फगुवाको महत्त्वबारे बुझ्ने भएकाले सडकमा गर्दा आम मानिसले जानकारी लिनसक्ने भएकाले साङ्केतिक रुपमा उत्सव आयोजना गरिएको अध्यक्ष ठाकुरले बताए ।

मधेशमा पौराणिक कालदेखि नै विशेष उत्सवका रुपमा मनाउँदै आइरहेको र यस संस्थाको स्थापनाकालदेखि नै संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्नु रहेको अध्यक्ष ठाकुरले उल्लेख गर्नुभयो ।

२२ गते पहाडमा र २३ गते तराईको जिल्लामा होली पर्व मनाउने गरिन्छ ।