११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


लामिछानेविरुद्ध राहदानी किर्ते मुद्दा नचलाउने निर्णय



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको राहदानी किर्ते मुद्दाको प्रक्रिया अघि नबढाउने निर्णय जिल्ला सरकारी वकिल कार्यालयले गरेको छ । प्रहरीको रायसहितको प्रतिवेदनअनुसार सरकारी वकिल कार्यालयले मुद्दा चलाउने आधार नभएको निर्णय गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि नेउपानेले विभिन्न आधार र कारणले मुद्दा अघि नबढाउने निर्णय भएको बताउनुभयो । निर्णयको जानकारी उच्च सरकारी वकिल कार्यालयमा पठाइएको छ । उच्च सरकारी वकिल कार्यालयले जिल्लाको निर्णय सदर वा बदर गर्न सक्नेछ । उच्चले पनि जिल्लाकै निर्णय सदर गरेमा महान्यायाधिवक्ताको कार्यालयमा पठाइनेछ । अन्तिम निर्णय महान्यायाधिवक्ता कार्यालयबाटै हुनेछ ।

लामिछानेले निष्क्रिय रहेको नेपाली नागरिकताका आधारमा सन् २०१५ मा नेपालको राहदानी लिएको आरोपसहित प्रहरीमा उजुरी परेको थियो । विदेशी नागरिक रहेकै अवस्थामा गलत विवरण दिएर राहदानी लिएकाले छानबिन र कारबाहीको मागसहितको उजुरी अनुसन्धानपछि प्रहरीले रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको थियो ।

सर्वोच्च अदालतले यसअघि लामिछानेको नागरिकता निष्क्रिय रहेको र विदेशी नागरिकता त्याग गरेपछि पनि पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न नै अयोग्य रहेको आदेश गरेको थियो । संवैधानिक इजलासको माघ १३ गतेको आदेशपछि लामिछानेको पार्टी सभापति, गृहमन्त्री र सांसद पद गुमेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ८ : ५२ बजे