११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण



विश्व बैंकले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । आयात प्रतिबन्ध, मौद्रिक नीतिमा कडाइ, उच्च मुद्रास्फीति र कम सरकारी राजस्व प्रतिबिम्बित गर्ने सरकारी खर्चको प्रभावका कारण यो वर्ष नेपालको आर्थिक वृद्धिदर कम हुने विश्व बैंकको अनुमान छ ।

नेपालको आर्थिक वृद्धिदर अघिल्लो पटकको अनुमानभन्दा पनि सुस्त हुने विश्व बैंकले जनाएको छ । यसअघि बैंकले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत हाराहारी हुने प्रक्षेपण गरेको थियो । अक्टोबर २०२२ को प्रक्षेपणको तुलनामा बैंकले अप्रिल, २०२३ मा ०.६ प्रतिशत कम प्रक्षेपण गरेको हो । सन् २०२४ मा भने ४.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने बैंकको प्रक्षेपण छ ।

यद्यपि, दृष्टिकोणमा हुने जोखिमहरू नकारात्मक पक्षमा झुकेका छन् र यसमा अपेक्षितभन्दा उच्च मुद्रास्फीति समावेश छ, जसले उपभोग र वृद्धिलाई कम गर्नेछ, सरकारी अधिकारीहरूमा हुने सम्भावित घुमाउरो प्रभावहरू, र मानव पुँजीमा घटेको लगानीबाट बढ्दो असमानता, कोभिड–१९ को प्रभाव अझै बाँकी रहेको बैंकको भनाइ छ ।

‘बाह्य क्षेत्रको दबाबलाई सम्बोधन गर्नका लागि गरिएका उपायहरूका बीचमा नेपाली अर्थतन्त्रले आर्थिक वृद्धिमा आएको सुस्तता र वित्तीय राजस्वमा आएको कमीको अनपेक्षित परिणामहरूको सामना गरेको छ’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले भने । यसले सरकारको हरित, लचिलो, र समावेशी विकास ग्रिड एजेन्डालाई थप दबाब दिने उनको भनाइ छ ।

यस्तै, दक्षिण एसियाली अन्य मुलुकहरूमा सन् २०२३ को आर्थिक वृद्धिदर क्रमशः माल्दिभ्स्को ६.६ प्रतिशत, श्रीलंकाको माइनस् ४.३ प्रतिशत, भारतको ६.३ प्रतिशत, बंगलादेशको ५.२ प्रतिशत, भुटानको ४.५ प्रतिशत र पाकिस्तानको ०.४ प्रतिशत रहने बैंकको प्रक्षेपण रहेको छ ।.

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ८ : १३ बजे