मृगौला प्रत्यारोपण गरेर नयाँ जीवन पाएको पनि १६ बर्ष पूरा भएर आजबाट १७ बर्ष लागिसकेछ…
म कृतज्ञ छु, तपाईहरु सबैप्रती जसले मेरो दु:खको त्यो पलमा आशीर्वाद, हौसला, सहयोग, सद्भाव र मेरो स्वस्थ जीवनका लागि प्रार्थना गरि मलाई नयाँ जीवन दिनुभयो !!
———————–
यस खुसिको दिनमा,
निराशाको त्यो दिन सम्झिदै,
मेरो जिन्दगिको हराभरा बनमा
लागेको त्यो डढेलो
अनि
झण्डै झण्डै जल्नै लागेको
त्यो एउटा “त्यान्द्रो आशाको” ।
हो त्यही आशाको त्यान्द्रोमा
आगो नलागोस्
र खरानी नबनोस् भनि
हात हातमा सेउला लिएर
त्यो बनको डढेलो निभाई
मेरो जिवनको ज्योती बालिदिनुहुने
मेरा बाबाआमा, घरपरिवार, दाजुभाई,
दिदिबहिनी,आफन्त, इष्टमित्र, साथिभाई
र मप्रती सहयोग सद्भाव राख्नुहुने
तपाईहरु सबैलाई सम्झिन्छु आज ।।
अस्पतालको बेडमा
मन थाम्न नसकी,
तप्प तप्प चुहिने ती थोपा
अनि लुछुप्प भिज्ने त्यो चिसो सिरानी देखेर,
तलदेखी माथिसम्म
डायलाइसिस र सलाइनका
पाइपहरु नियाल्ने
र
अतालिंदै
डाक्टर सापलाइ बोलाउने
ती सिस्टरहरु,
अनि मेरो बेडसम्म आइ
आँसु पुछिदिंदै
निराशाको बादल हटाई
आशाको किरण देखाउनुहुने र
धिपिक धिपिक निभ्न लागेको दियोमा तेल थप्दै
सलाइनको बोतलमा कोपेर राखेको सुइको सुइरो झिकेर
दियोको बाती तानिदिने
मेरा आदरणीय डाक्टरहरु सबैलाई सम्झिन्छु आज ।
मृगौला प्रत्यारोपणको यो अघिल्लो रात
दाई,
तपाईले मलाई एउटा मिर्गौला दिंदैगर्दा
आफ्नो आधा जीवन मलाई दिंदै गर्दा
तपाईं पनि त आधै त बाँकी रहनुहुन्छ नि?
अनि अझै दैब लागेर
हाम्रो अपरेसन सफल भएन भने?
र हस्पिटलको बेडबाट
तपाईं एक्लै डिस्चार्ज हुनु भो भने
आफ्नो ख्याल गर्नुहोला है दाई भन्दै
म भक्कानिदै गर्दा,
अनि घण्टा मिनेट गन्न खोज्दा
घडि नचलेको त्यो रातपछिको
बल्ल तल्ल सुनेको भालेको आवाजसंगै
अपरेशन कक्षको
टिट् टिट् टिट् टिट् आबाज छिचोल्दै
मेरो हातमा आफ्नो हात राख्दै,
तिमिलाई अंगदान दिन पाउँदा
म आधा हैन भाइ, झनै दोब्बर हुनेछु
म, मसंगै तिमिमा पनि हुनेछु भन्दै,
मलाई अपार माया गरि
यमराजको छाँया पर्न नदिने
ती महान प्रेमदाईलाई सम्झिन्छु आज ।
बिरानो ठाउँ, बिराना मान्छे
अनि बिरानै भाषा
अनि कानले नबुझेपनी मनले बुझ्ने
ति कोइम्बातुरे आक्का अनि आन्नाको
माया र सद्भाव
अनि
हरि नारायननजी, ओ हरि नारायननजी
अरे ओ पण्डितजी आँख खोलो
देखो तुम्हारे पशुपतिनाथ खुस है
तुम अब ठिक हो
अपरेशन सक्सेस हुंवा भन्दै
एनेस्थेसियाले लठ्याएको
मेरो शरिरको खुट्टामा प्याट्ट हान्दै
चिरनिन्द्राबाट बिउँझाईदिने
ती डाक्टर विवेक पाठक र देबदास माधवन
अनि मातृबात्सल्य प्रेम नै भुलाइदिने
ती नर्सहरु सबैलाई सम्झिन्छु आज ।
अनि आफैं सबैको आत्मामा रहि
सबैमा कृपादृष्टी राख्नुहुने
मेरो भगवानप्रती कृतज्ञ छु आज ।
अन्त्यमा,
तपाईहरु सबै जसको आत्मामा सच्चा भगवानको बास छ । तपाइको अनमोल सहयोग र अनुकम्पाले यस्तै असल कर्म मार्फत मजस्तै नयाँ जीवन प्राप्त गर्नेहरुको सिलसिला जारी रहनेछ ।
सधन्यवाद
– हरिनारायण शर्मा
प्रतिक्रिया