१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


वर्षमान पुनकी आमामाथि नातीबाट गोली प्रहार, नाती प्रधानन्यायाधीशको सुरक्षामा कार्यरत



नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तिर्थमाली पुन मगरलाई प्रहरी सहायक हवल्दारले आफ्नै पेस्तोलबाट गोली प्रहार गरेका छन् । प्रहरी वृत्त मालिगाउँले घटनास्थलबाट प्रहरीले प्रयोग गर्ने चिनियाँ पेस्तोल ‘टाइप–५४’ बरामद समेत गरेको छ ।

शुक्रबार राति साढे ९ बजे नेता पुनको दाइको घरमा गोली चल्दा ७४ वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी थिइन् ।

प्रधानन्यायाधीशको सुरक्षा टिममा कार्यरत सहायक हवल्दार प्रकाश पुन मगर गएराति नयाँ वर्ष मनाउन ७४ वर्षीया तिर्थमालीको निवासमा गएका थिए । तिर्थमाली नातामा उनको हजुरआमा हुन् । पारिवारिक जमघटको माहौलमा सामान्य विवाद भएपछि प्रकाशले तिर्थमालीलाई गोली प्रहार गरेर फरार भए ।

गोली प्रहार गरेर उनले आफ्नो पेस्तोल त्यहीँ छाडे । प्रहरी वृत्त मालिगाउँको टोलीले गएराति नै पेस्तोल बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानबाट १ राउण्ड फायर भएको देखिएको उपत्यका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । चिनियाँ ‘टाइप–५४’ पेस्तोल भीआईपी सुरक्षामा खटिने प्रहरीहरूले प्रयोग गर्दै आएका छन् । सामान्य अवस्थामा सहायक हवल्दारले पेस्तोल बोक्न पाउँदैनन् । तर, भीआईपीको सुरक्षामा खटिएको हुनाले प्रकाशले पेस्तोल पाएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले जानकारी दिए ।

सहायक हवल्दार प्रकाश पुनलाई प्रहरीले बागडोलबाट पक्राउ गरेको छ । आरोपीलाई अहिले अनुसन्धानका लागि नक्साल स्थित प्रहरी प्रधान कार्यालयमा लगिएको छ । पुनकी आमाको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।

कसरी भयो घट्ना ?
माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा शुक्रबार नयाँ वर्षको पारिवारिक जमघट थियो । रोल्पाका छिमेकी समेत रहेका प्रहरी हवल्दार प्रकाश पुन मगर पनि त्यहाँ पुगे ।

‘नेता पुनको भाइको साथी पनि भएकाले उहाँ प्रायः आइराख्नुहुन्थ्यो’, पुननिकटले भने, ‘शुक्रबार पनि त्यही भएर आउनु भएको थियो, पुनको आमालाई उहाँले हजुरआमा भन्नुहुन्थ्यो ।’

 

कामु प्रधानन्यायाधीशको सुरक्षार्थ खटिएका उनी ड्यूटी सकेर त्यहाँ पुगेका थिए । साथमा पेस्तोल लिएरै गएका थिए ।

प्रहरीका अनुसार, विशिष्ट व्यक्ति सुरक्षामा खटिने सुरक्षाकर्मीलाई जुनसुकै बेला हतियार चाहिन सक्ने हुनाले स्थायी रुपमा दिने गरिन्छ । त्यहाँ हवल्दार मगरले मादक पदार्थ सेवन गरेपछि सामान्य विषयमा विवाद भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले बताए ।

‘विवादबीच आफूसँग भएको पेस्तोल निकालेछन्, त्यसक्रममा एक्कासी पड्किएको जस्तो देखिएको छ’, ती अधिकृत भन्छन् ।

नेता पुनकी आमा ७४ वर्षीया तीर्थमाली पुनको खुट्टामा गोली लागेको छ । गोली लागेलगत्तै हवल्दार प्रकाश त्यहाँबाट भागेको स्रोतले जनाएको छ । घटना शुक्रबार बेलुकी साढे ९ बजेको भए पनि प्रहरीले मध्यराति १ बजे मात्रै खबर पाएको थियो । त्यसपछि खटिएको टोलीले उनको कोठाबाट प्रकाशलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
नेता पुन उपचारको लागि चीनमा रहेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  १० : ४४ बजे