एमाले अध्यक्ष केपी ओलीले सत्ताको संरक्षणमा पहिचानवादीहरूले प्रदेश सभा सांसद राम रानालाई मोबिल छर्किएर जिउँदै जलाउने आपराधिक घटना भएको भन्दै प्रतिरक्षामा उत्रिन कार्यकर्तापंक्तिलाई अपिल गरेका छन्।
मनोनीत चौध केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई बिहीबार पार्टी कार्यालयमा सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो अपिल गरेका हुन्। बिहीबार कोसी प्रदेशमा भएको घटनाको संरक्षक स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै भएको ओलीको आरोप छ।
मोबिल छर्किएर आगो लगाउनेसम्मको घटनालाई राजनीतिक मान्न नसकिने भन्दै ओलीले पहिचानवादीहरूको संरक्षक पुष्पकमलवादी प्रचण्डपथका अनुयायीहरूले घटना गराएको आरोपसमेत लगाए।
‘उदयपुरमा उपसभामुख सिर्जना दनुवारको गार्डलाई ढुंगा हानिएको छ, उहाँका साथमा रहनुभएकी उपमेयरको गाडीमा क्षति पुर्याइएको छ, यो सबै पहिचानवादीहरूको संरक्षक पुष्पकलवादीहरू प्रचण्डपथबाट भएको छ,’ ओलीले भने, ‘प्रचण्डपथ अझै गएको छैन। यो प्रचण्डपथ देशद्रोही पथ हो, आपराधिक पथ हो।’
नेपाललाई जातजातिका नाममा दंगाफसाद गराउने उद्देश्यले नियोजित रूपमा आपराधिक क्रियाकलाप भइरहेको उनको दाबी छ।
प्रतिक्रिया