१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


नेकपा विभाजनको यथार्थ विश्‍लेषण जरुरी छ : अध्यक्ष ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन् । आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक ‘सिंहावलोकन’को लोकर्पण गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘नेकपा विभजन भयो’ भनेर मात्रै अब नबुझिने भन्दै उनले विभाजनका कारणहरुको यथार्थ विश्लेषण गर्ने हो भने भविष्यका लागि राम्रो हुने बताएका थिए ।

यस्तै पार्टी कस्तो पृष्ठभूमिबाट विभाजनसम्म पुग्यो ? भन्ने कुराको यथार्थ जानकारी नागरिकले थाहा पाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । नेकपा विभाजनको कारण स्वचालित थियो वा परिचालित भन्नेबारे विश्लेषण जरुरी रहेको पनि अध्यक्ष ओलीले बताएका थिए ।

‘अढाई वर्षअघि हाम्रो पार्टी विभाजन भयो, त्यो विभाजन यसले यसो भन्यो, यसो भन्यो भनेर मात्रै हुँदैन । त्यसका पछाडिका कारणहरु के थिए । उद्देश्यहरु के थिए । किन विभाजन भयो ? किन गरियो ? कस्तो पृष्ठभूमिबाट त्यो विभाजनसम्म पुग्यो ? यी कुराहरु अलिकति आउनुपर्छ,’ अध्यक्ष ओलीले भनेका छन् ।

यस क्रममा ओलीले विभाजनका कारण र उद्देश्यबारे विस्तृतमा व्याख्या गरिनुपर्ने बताएका थिए । बडालको नयाँ पुस्तकका कतिपय सन्दर्भप्रति लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका थिए ।

ओलीले भनेका छन्, ‘विभाजन भयो भन्ने मात्रै कुरा भन्दा अलि त्यसलाई किन र कसरी ? केका लागि विभाजन भयो ? के उद्देश्य थियो ? त्यसमा आन्तरिक कारण कति थियो ? वाह्य कारण कति थियो ? स्वचालित कति थियो ? परिचालित कति थियो ? रिमोट कन्ट्रोल कति थियो, त्यहीँबाट बटन घुमाउने कति थियो ? यो सबै कुराको हामीले यथार्थ विश्लेषण आन्दोलनको हीतका लागि गर्‍यौं भने त्यसले भविष्यलाई राम्रो हुन्छ ।’ साथै नेकपा विभाजनको यथार्थ विश्लेषण गर्दा त्यसले आन्दोलनको हीत गर्ने पनि ओलीको तर्क थियो ।

यसअघि भने अध्यक्ष ओलीले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै कतैबाट ‘परिचालित’ भएर नेकपा विभाजन गरिएको आरोप लगाउँदै आएका थिए ।

२०७५ जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । त्यसको २ वर्षपछि २०७७ साल फागुन २३ मा नेकपा विघटन भएको थियो ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ९ : ०९ बजे