७ असार २०८२, शनिबार | Sat Jun 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


पौडीवाज गौरिका सिंह

गौरिकाको राष्ट्रिय कीर्तिमान



नेपालकी पौडीवाज गौरिका सिंहले २० औं वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । जापानको फुकुओकामा भएको च्याम्पियनसिपमा गौरिकाले महिला १०० मिटर ब्याकस्ट्रोकको हिट चरणमा १ मिनेट ०६.८० सेकेन्डबाट दूरी पार गरी राष्ट्रिय कीर्तिमान बनाइन् । उक्त इभेन्टमा ६१ खेलाडीले सहभागिता जनाएकोमा गौरिका ५१ औं स्थानमा रहिन् ।

विश्व एक्वाटिक च्याम्पियनसिपमा सोमबार १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्दै नेपालकी पौडीवाज गौरिका सिंह । तस्बिर : एएफपी

गौरिकाको यसअघि १ मिनेट ७.३१ सेकेन्डको कीर्तिमान उनको नाममा थियो । उनले उक्त कीर्तिमान १२ औं दक्षिण एसियाली खेलकुदमा गुवाहाटीमा बनाएकी थिइन् । १२ औं सागमा १ रजत र तीन कांस्य जितेकी गौरिकाले १३ औं सागमा ४ स्वर्ण जितेकी थिइन् ।

अर्का पौडीवाज नासिर हुसेनले राष्ट्रिय कीर्तिमानलाई निरन्तरता दिएका छन् । उनले सोमबार २०० मिटर फ्रिस्टायलमा १ मिनेट ५७.२६ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाए । यसअघि उनकै नाममा १ मिनेट ५८.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । नासिरले उक्त कीर्तिमान ११ औं एनएसए कप च्याम्पियनसिपमा राखेका थिए ।

हिट चरणमा ७२ प्रतिस्पर्धीमा नासिर ५९ औं स्थानमा रहे । नासिरले आइतबार पुरुष ४०० मिटर फ्रिस्टायलमा ४ मिनेट ८.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमान स्थापित गरेका थिए । मंगलबार डुवाना लामाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा नेपालका चार खेलाडीले भाग लिइरहेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ७ : ३९ बजे