२४ असार २०८२, मंगलबार | Wed Jul 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


घार खोलाको १४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो



म्याग्दीमा उत्पादन भएको घार खोला जलविद्युत आयोजनाको १४ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका ६ मा निर्माण भएको घार खोला जलविद्युत आयोजनाको सबै संरचना र उपकरणहरूको परीक्षण सफल भई उत्पादित विद्युत् आइतबार देखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

म्याग्दी हाइड्रोपावर प्रा।सलिले निर्माण गरेको घार खोला जलविद्युत आयोजनाको परीक्षण सफल भई दाना स्वस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका आवासीय इन्जिनियर जोसेप बज्राचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाँध, क्यानल, सुरुङ, पेनस्टक, टर्वाइन, जेनरेटर, स्वीचार्ड र प्रसारण लाइनलगायत सबै संरचना तथा उपकरणको परीक्षण सफल भएको छ ।’’ उहाँका अनुसार १५ दिन भित्र आयोजनाले व्यावसायिक उत्पादन थाल्ने छ ।

नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीको उपस्थितिमा गत असार २६ गतेदेखि आयोजनाले परीक्षण उत्पादन थालेको थियो । अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घार खोलाको विद्युत् गृहबाट आठ किलोमिटर लामो प्रसारण लाइनमार्फत दुई सय २० केभी क्षमताको दाना सवस्टेसनमा लगेर जोडेको हो ।

अन्नपूर्ण गाउँपालिका–५ कुरिलाखर्कमा बाँध बनाइ घार खोलाको पानी तीन हजार पाँच सय मिटर लामो सुरुङबाट सोही गाउँपालिका, ६ अमिलाकाफलस्थित आउटलेटबाट एक हजार दुई सय मिटर पेनस्टक पाइपमा चार सय ८५ मिटर हेडबाट बेनी–जोमसोम सडक छेउको पोखरेबगरमा रहने विद्युत् गृहमा खसालिएको छ । दुई अर्ब ४१ करोड रुपियाँ लागत अनुमान गरिएको आयोजना विसं २०७४ चैतदेखि निर्माण थालिएको थियो । कोरोना महामारीका कारण निर्धारित समयमा भन्दा दुई वर्ष आयोजना ढिला सम्पन्न भएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ८ : ११ बजे