पृष्ठभूमि
स्वामी छविप्रकाशानन्द गुरुदेव (वि. सं. १९४८-२०२८) हामी सबै ऋषिपरम्परासँग जाेडिएका छाैँ ।त्यसैले हाम्रा अनेक गाेत्र छन्,प्रवर छन् र फरक फरक कुलाचारसमेत अस्तित्वमा छन्। यतिसम्मकि हामी हिन्दु हाेइनाैँ हामीमा जबर्जस्ती हिन्दूत्त्व थाेपरे भन्नेहरूका पनि गाेत्र प्रवर्तक ऋषिहरू छन् ।
कुनै पनि याेगी तपस्वीकाे नाम लिँदा बित्तिकै हाम्रा मष्तिस्कले लामाे ऋषिपरम्पराका फाेटाकाे रिल घुमाइ-घुमाइ देखाइदिन्छ ।
१. गाेत्र र वंशपरम्परा
स्वामी छविप्रकाशानन्द गुरुदेव गर्गगाेत्रका आचार्य थरकाे एउटा हाँगाे लामिछाने कुलमा जन्मनुभएकाे हाे ।श्रीमद्भागवतमा भारद्वाजका पुत्र मन्यु, मन्युका पुत्र गर्ग, गर्गका पुत्र शिनि र शिनिका पुत्र गार्ग्य हुन् भनिएकाे छ । गर्गगाेत्रका पाँच प्रवर छन्, गर्ग, गार्ग्य, गाैतम, विश्वामित्र र पराशर । गर्ग र गार्ग्य पितृकुल, गाैतम ऋषिकाे मातृकुल, विश्वामित्रकाे गुरुकुल र पराशर ऋषिकाे शिक्षा र दीक्षाबाट गर्गगाेत्रका मानव समुदायकाे जीवन विकसित र पल्लवित भएकाे पाइन्छ ।आचार्य वरदराजकाे लघुसिद्धान्त काैमुदीकाे तद्धितप्रकरणमा सूत्रका उदाहरण दिने क्रममा गार्गी, गार्ग्य, गार्ग्यायण रूपहरू दिइएका छन् ।
गुरु गर्गाचार्यले याेगेश्वर भगवान श्रीकृष्ण र बलराम दाइकाे नामकरण संस्कार गर्ने साैभाग्य प्राप्त गर्नुभएकाे थियाे ।
गर्गगाेत्रका मानिसहरू गाेकुलबाट गढवाल आए, गढवालबाट महाकालीमा आाएका हुन् । बाबुराम आचार्यले गर्गगाेत्री आचार्य वंशावलीमा गर्गहरूकाे उत्पत्तिस्थल जुम्लाकाे असिदारकाे सिरान गर्ज्याङकाेट हाे भन्नुभएकाे छ ।
श्याम दिलदासका शिष्य, जाेसमनि सन्तपरम्पराका प्रवर्तक सन्त ज्ञान दिलदास पूर्वमा ज्ञान र शिक्षाका ज्याेति बन्नुभयाे । उहाँकाे नाम इतिहासमा अमर छ ।सन्त ज्ञान दिलदासका अनुयायी आेखल ढुङ्गाका गुरुङहरू भेला भएर गरेकाे सिर्जना निकै चर्चित पनि छ-
रुम्जाटारकाे काेदाेकाे पीठाे निर्गुणकाे दाउन ।
धर्म र कर्म गुरुङले गरे छकपरे बाहुन ।।
पूर्वकाे समाजमा अद्वैत वेदान्तदर्शनलाई सर्वसुलभ बनाउन लामिछाने वंशका सन्त ज्ञानदिलदासकाे महत्त्वपूर्ण भूमिका छ । गढवालबाट लामिछानेहरू लगभग १३०० वर्षपूर्व सिंजा उपत्यकाकाे लामथाँडामा आएकाे अनुमान गरिएकाे छ । लामाे छानाे भएकाे घरकाे व्यक्ति र लामिछाना गाउँ विर्ता पाएकाे अर्थमा लामिछाने थरकाे अर्थ खाेजिँदै आएकाे छ । कतै कामका आधारमा, कतै ठामका आधारमा कतै उपाधिका आधारमा थर बनेका छन् । जुन अर्थमा थर बनेकाे भए पनि लामिछानेकाे गाेत्र गर्ग हाे भन्नेमा सबै लेखकहरूमा एकमत देखिन्छ । लामिछानेका पूर्वज आचार्यहरू कास्की, स्याङ्जा र पर्वत राज्यका राजगुरु समेत बनेकाे देखिन्छ ।
२. लामिछानेकाे जराेकिलाे
जुम्लाकाे सिंजाबाट प्यूठान, कास्की, पर्वतकाे धाइरिङ, स्याङ्जाकाे बाङ्गे हुँदै पर्वतकाे भाेगसिंगमा पुगेकाे भनिएकाे लामिछाने वंशावलीकाे लामाे सूचीमा बलभद्रलाई समाज सुधारक र भाेगसिंगका लामिछानेहरूका मूलपुरुषका रूपमा चित्रण गरिएकाे छ । स्वामी छवि प्रकाशानन्द गुरुदेव बलभद्रका नाति हुनुहुन्छ । बलभद्र स्याङ्जा फेदीखाेला गाउँपालिका-५, बाङ्गे बाटामुनिबाट पर्वतकाे भाेगसिंगमा बसाईँ सर्नुभएकाे थियाे ।।लामिछाने कुलमा वराह मष्टाेकाे पूजा गर्ने प्रचलन छ । गैडुपूजा पनि हुने गर्दछ ।
जन्म,पारिवारिक स्थिति र स्वभाव
तन्त्रविज्ञ, गाैरीशङ्करका उपासक पिता प्रतिमान र पतिव्रता माता मन्दिराका पवित्र काेखबाट जेठा छाेराका रूपमा वि. सं १९४८ फागुनमा स्वामी छवि प्रकाशानन्द गुरुदेवले पर्वतकाे भाेगसिंग चितीमा जन्म लिनुभएकाे हाे ।। त्यतिबेला बलभद्रका सन्तानहरू कहलिएका साहु थिए । गुरुदेवका बाबा प्रतिमान बलभद्रका जेठाे छाेराे हुनुहुन्थ्याे ।
राणा सरकारका बडाहाकिम गाउँमा पुगेर प्रतिमान् तिम्राे माैजा कति हाे भनेर साेधनी हुँदा प्रतिमानले भन्नुहुन्थ्याे रे -पूर्वमा चिसापानी देवीस्थानकाे जहर(रुख)र दक्षिणमा कालीगण्डकीकाे बगर ।
बुबा प्रतिमानझैँ उहाँ तन्त्रकाे सिद्धिमा भरपर्नुभएन । बुबाले लामाे समयसम्म गरेकाे तन्त्रकाे अभ्यासबाट प्राप्त सिद्धि र परिणामहरूकाे घरमै प्रत्यक्ष अनुभव गरेकाले संसारलाई ईश्वरबुद्धि वा आत्मबुद्धिले हेर्ने ज्याेति प्रदान गर्ने श्रुतिसम्मत अद्वैत वेदान्त दर्शनकाे हिमायती, प्रचारक बन्नुभयाे । सिद्धिका किस्ताबन्दीका सफलताहरूमा उहाँ अल्झनुभएन । शुद्ध चैतन्यकाे निर्बाध अनुभूतिकाे रसास्वादन गरिरहनु भयाे । ब्रह्माकार वृत्तिमा लामाे समयसम्म अडिनु भयाे ।
३. स्वामी परमानन्द सरस्वतीका आध्यात्मिक गुरु
शास्त्रहरूमा गुरुहरूकाे पनि वर्गीकरण गरिएकाे छ । गुरुगीतामा निषिद्ध गुरुदेखि लिएर सद्गुरु वा परम गुरुसम्म चर्चा गरिएकाे छ । मैले स्वामी छवि प्रकाशानन्दज्यूलाई बाेधक गुरुका रूपमा सम्झन्छु ।गृहस्थजीवनकाे अभ्यास गरिसकेर ४७ वर्षकाे उमेरमा निख्रेर परमार्थ सिद्धिमा लाग्नुभएका गुरुदेवबाट भए गरेका पुरुषार्थहरू प्रेरक त छँदैछन् । अाध्यात्मिक जगतका लागिअमर अाधारस्तम्भ बनेर बसेका छन् ।
बागलुङकाे शिरबारीबाट दैवीप्रेरणाले म्याग्दी मुसुङकाे कुटीमा पुग्नुभएका परमानन्दलाई शिष्यकाे रूपमा आश्रय दिनुभयाे । सातवर्ष मुसुङमा गुरुशिष्यका कठाेर साधनाहरू भए । स्वामी छवि प्रकाशानन्द गुरुदेवका तपस्थलीहरूमा देवीस्थान, शूलीकाेटकाे गढी, पाेखरा पञ्चासेकाे हरपल डाँडाे, साेलीघाेप्टे, हिले, चिसापानी, मुसुङ, झुलेनी, सालिमे दह अादि हुन् ।
झुलेनीमा बस्दा छवि गुरुले भन्नुभयाे – हामी गुरुशिष्य सँगै भयाैँ भने तिमी मेराे भरमा पर्छाै म तिम्राे भरमा ।मैले तिमीलाई सिकाउनु पर्ने याेग सिकाइसकेँ ।अब तिमी यहाँबाट पश्चिम जाऊ ,एक्लै बसेर साधना गर तिम्राे कल्याण हुन्छ।
यही गुरुपदिष्ट मार्गकाे अनुसरण गरेर परमानन्द स्वामीले गुल्मीकाे दिब्रुङमा आश्रम बनाउनु भयाे ।गुरुकृपाप्रसाद बाट दिब्रुङमा सिद्धि प्राप्त गर्नुभयाे ।गुरुकुल आश्रमहरूकाे स्थापना र संरक्षणका अभियान सञ्चालन गर्नुभयाे ।वेदान्त प्रदीपमा स्वामी परमानन्द सरस्वतीले म छविप्रकाशानन्द गुरुज्यूकाे कृपापात्र परमानन्द ब्रह्मचारी भनेर लेखकीयमा आफ्नाे परिचय गराउनुभएकाे छ ।
४. सालिमे दह गुल्मीमा भयाे समाधि
बागलुङ काठेखाेला गाउँपालिकाकाे फापर खेतकाे धुरी झुलेनीबाट छवि प्रकाशानन्द गुरुदेव गुल्मीकाे सालिमे दहमा सर्नुभयाे ।दिब्रुङमा स्वामी परमानन्द सरस्वतीकाे आश्रम व्यवस्थित भएकाले दिब्रुङमा सँगै बस्न अनुराेध भए पनि उहाँले मान्नुभएन । छवि गुरुज्यूकाे इच्छा बमाेजिम दिब्रुङ नजिकैकाे लेक सालिमेमा बस्ने प्रबन्ध भयाे । तपस्या र ज्ञानले खारिएकाे शरीरले सालिमे दहकाे कुटीमा वि. सं २०२८ श्रावणकृष्ण द्वादशीमा विश्राम लियाे ।
५. केही शङ्का छ ?
छवि गुरुका वाणीमा अर्थगाम्भीर्य झल्कन्थ्याे ।हरिहर सन्न्यास आश्रम देवघाटधामका पूर्व व्यवस्थापक ब्रह्मलीन स्वामी पद्मानन्द सरस्वती महाराज अर्लाङ्काेटमा छँदा नियमित रूपमा सालिमे दहका तपस्वी महात्मा छवि गुरुलाई भेट्न जानुहुन्थ्याे ।उहाँकाे गलकाेट नगरपालिकाका प्रमुख भरत शर्मा गैरैसँग नजिककाे सम्बन्ध थियाे भनिएकाे छ ।
घरमा खेताला थिए तर पनि पद्मानन्दका मनमा सालिमे जाउँ जाउँ भन्ने भाव उर्लेर भयाे । आमालाई भन्नुभयाे ।आमाबाट घरमा खेताला भएकाले बेलुका जाने अनुमति मिल्याे । छवि गुरुले गाेरस र नाैनी रुचाउने भएकालेआमाले ठेकाे घारघुर पार्नुभयाे । नाैनी बन्याे । देवी देउतालाई सम्झेर धूप राखेर तताएर भाँडामा खन्याएर अाफू काममा जानुभयाे ।मेलाबाट आउँदा झमक्क साँझ परिसकेकाे थियाे । अँध्याराेमा राखेकाे घिउकाे भाँडाे कुल्चिएछ पाेखियाे । आमाले थाहा पाएर भन्नुभयाे-बाबू ! राम्राे लच्छिन् देखिएन आज नगए हुन्न ? बिहानैदेखि खिचिराखेकाे सालिमेकाे आकर्षण शक्तिले राेकिन दिएन ।लाइट बालेर भए पनि राती आठ बजे पुर्यायाे सालिमे दहमा ।
कुटीमा पुगेर हेर्दा सुनसान छ ।
मैले केही खान्न तिम्ले खाने भए पकाएर खाऊ, भाँडा खाद्यान्न त्यहाँ छन् भनेर छवि गुरुले देखाउनु हुन्छ ।हजुरले नखाने भएपछि मैले पनि मेलामा खाजा खाएकाे छु भन्ने प्रतिक्रिया पाएपछि अागाे बलेन त्याे साँझ महात्मा छविलालकाे सालिमे दहकाे कुटीमा छवि गुरुले आफ्नाे अवस्था बताउनु भयाे – मैले बिहान पनि भाेजन गरेकाे छैन । अब मेराे शरीर रहन्न ।लाससँग डराउँछाै कि, डराउने भए गाउँमा झर । भाेलि आए । परमान्दलाई मेराे खबर पुर्याए ।उनले मेरा आैर्ध्वदैहिक कर्म गरून् भन्ने इच्छा छ । उनले आफ्नाेभन्दा मेराे बढी चिन्ता मान्छन्, त्यसैले मैले म विदा हुन थालेकाे कुरा भनेकाे छैन । याे व्यवस्था पनि मिलाउनु ।
रात नछिप्पिँदै प्राण पखेरुले विदा लिए । रातभर जाग्राम भयाे ।बिहानै दिब्रुङमा पुग्दा स्वामीज्यू दिउरीमा चिया पकाउँदै हुनुहुँदै ।स्वामीज्यूले साेध्नुभयाे – बिहानै कताबाट आउनुभयाे? ।सराङतिर थिएँ ,हजुरकाे दर्शन गरेर घर फर्कन खाेजेकाे ।गुरुजीले चिया पिउनु भयाे । भारी मनले पद्मानन्दले कुराे खाेल्नुभयाे-छवि गुरु जानू भयाे । म गुरुजीले भनेर छाेड्नुभएकाले हजुरलाई खबर गर्न आएकाे हुँ ।
स्वामी परमानन्द सरस्वती केही बाेल्नुभएन । हातमा समातेकाे दिउरी भुईँमा खस्याे आधाघण्टासम्म झाेक्राउनु भयाे । साईँसुईँ केही भएन । लामाे सन्नाटा छायाे । पद्मानन्दले हिँजाे छवि गुरुले भनेकाे झल्झल्ती सम्झनुभयाे मेराे बढी चिन्ता गर्छन्— ।
एक घण्टाभित्र दिब्रुङबाट सालिमे दहकाे यात्रा प्रारम्भ भयाे । सालिमेमा समाधि बन्याे छवि गुरुकाे ।साेह्र दिनसम्मका अनुष्ठानहरू भए । प्रत्येक वर्ष सालिमे दहमा गुरुभण्डारा हुने घाेषणा भयाे । समाधिमा परमेश्वर राममन्दिर तयार भयाे । श्रावण कृष्णद्वादशीमा सत्सङ्गसहितका भण्डाराहरू हुँदै गए । अद्यापि त्याे मन्दिरमा नियमित पूजा चलिराखेकाे छ
६. गुरुभण्डारा
महात्माहरूकाे निर्वाण दिवसमा उत्सव हुन्छ, भण्डारा हुन्छ ।श्रावण कृष्णद्वादशीमा सालिमे दहमा भण्डारा छ । सराङ, अर्जेवा, भञ्ज्याङ, वामी, दह, अर्लाङ्काेट । वामीटक्सारबाट भक्तहरू सालिमे दहमा जम्मा भएर रुद्राभिषेक गर्नुहुन्छ ।जङ्गलका टुसा र निहुराकाे तरकारी बनाउनु हुन्छ । आफ्नै घरमा उब्जेकाे अन्न र आफैले पालेका वस्तुभाउकाे दूध आफैले बाेकेर लैजानुहुन्छ । पायस बनाएर बाँड्नुहुन्छ । ब्रह्मज्ञानी महात्मा छविलाल गुरुकाे स्मरण गर्नुहुन्छ । भण्डारामा सहभागी हुनेहरूमा समेत दिव्य ऊर्जा सञ्चरण हुन्छ । तपाईँलाई पायक पर्छ भने सहभागी हुनुहाेस् । अहिले सालिमे दहकाे गुरुआश्रमकाे संरक्षण स्वामी भाष्करानन्द सरस्वती महाराजले गरिरहनु भएकाे छ । मुसिकाेट नगरपालिकाले बृहद् गुरुयाेजना बनाएर प्रशस्त लगानी गरिरहेकाे छ । गुरुपरम्पराका समग्र सददस्यहरूका तर्फबाट परमश्रद्धेय छविलाल गुरुदेवका श्रीचरणमा ५१ अाैँ वार्षिक स्मृति दिवसका अवसरमा श्रद्धापुष्प समर्पण गर्दछाैँ ।
७. छवि प्रकाशानन्द गुरुदेवले दिनुभएका उपदेशहरू
क. सांसारिक व्यवहारले व्यवहारतिरै तान्छ, ईश्वरका भजनले ईश्वरतिरै तान्छ ।
ख. सधैँ भगवानका नाम जप्ने बानी बसाल, नाम जप्न नछाेड ।
ग. जीवन प्रारब्धले धानिने हा्े, खाने वस्तुले हाेइन ।
घ. अर्कालाई कष्ट दिएर मीठाे खानभन्दा आधापेट रुखा सुखा खाऊ ।
ङ. नढाँट, नचाेर कुनै पनि प्राणीलाई कष्ट नदेऊ ।
च. व्यवहारले भन्दा सङ्कल्पले हाानि गर्छ,सङ्कल्प नभइकन स्वभावले आएका व्यवहारकाे गहिराे छाप हुन्न ।
छ. गृहस्थीमा बसेपनि त्यसमा आशक्त नबन, पाहुना बसेझैँ बस, सर्वस्व मेरै हाे भनी हुरुक्क नबन, मेराे भन्ने अहङ्कार नराख ।
ज. लामाे समय विरक्त भइरहन कठीन छ, छिट्टै घर नछाड ।
झ. मन वन हाेस् तन घर हाेस् याे असल हाे तर वन आएर पनि मन घर जानू राम्राे हाेइन ।
ञ. विपना बिग्रे सपना, सपना बिग्रे सपना ।
ट. मन इन्द्रिय सबै आफ्ना मुठीमा राख, छाडा नछाड ।
ठ. आफ्ना अधीनमा नरहेका मन र इन्द्रियले चाैरासी लाख याेनीमा घुमाउँछन् ।
ड. संसारलाई झूटाे नश्वर सम्झ र आशक्ति हटाऊ ।
ढ. साधु रुखमुनि वा आडारमा एक्लै बस्नु ।
ण. अर्काकाे सेवा लिएर र अर्काकाे आशमा साधु कहिल्यै नबस्नु ।
त. गृहस्थले दुई छाक खानु, विरक्तले प्राण धान्नमात्र खानु ।
थ. विरक्तले भिक्षा नमिले वनमा मिलेका वस्तु खानु मरिन्न, प्रारब्धले जसरी भए पनि पाल्छ ।
द. साधु सङ्ग्रही भयाे भने दु:ख पाउँछ ।
ध. आत्मज्ञान नभएसम्म जन्ममरण छुट्दैन ।
न. शरीर छाेडेर जाँदा आफूसँग सबै चीजसँगै जाँदैनन् भन्ने ख्याल गर्नु ।
प. जाग्रत र स्वप्नमा दु:ख मेटिन्नन् ।
फ. कसैलाई दु:ख नदिई मिलेका वस्तु ईश्वरकाे प्रसाद सम्झी निरभिमानी बनी स्वीकार गर्नु ।
ब. मैले गीतालाई गुरु मानेकाे छु, संसारमा गुरु नपाएका व्यक्तिहरू गीताका शरणमा जाऊन् ।
भ. मन वचन र कर्मले कहिल्यै पनि प्राणि हिंसा नगर्नु ।-प्रस्तुती ब्रह्मचारी हंस चैतन्य (विस्तृतमा स्वामी परमानन्द गुरुस्मृतिग्रन्थ पृष्ठ २२- ४७ हेर्नसक्नुहुन्छ)
प्रतिक्रिया