डा. अरूणा उप्रेती
र्णालीका बालबालिका कुपोषित हुनुको प्रमुख कारण भाते संस्कृति र सरसफाइको कमी हो भनेर मैले बारम्बार भन्दै आएकी थिएँ धेरै लेख लेखेकी थिएँ ।,। यसकारण, कर्णालीमा कामका लागि चामल बाँड्ने संघका कति साथीहरू मसँग रिसाए पनि तर जब डा. तीर्थबहादुर श्रेष्ठको ‘कर्णालीमा भुखभरि होइन, भातमरी छ’ भन्ने शब्दहरू पढें तब ममा साहस आयो, झन् लेख्न । आत्मविश्वास जाग्यो, स्थानीय अन्नलाई प्रवर्धन गर्न ।
त्यसरी बारम्बार लेखिएका लेखको बिस्तारै प्रत्यक्ष प्रभाव त मैले आफैं पनि महसुस गर्न थालेकी छु । मेरा साथीले पहिले–पहिले घरमा बोलाउँदा चिप्स, चाउचाउ र कोल्ड ड्रिंकहरू त जानेबित्तिकै दिन्थे ।
‘अरूणाले भनेर नहुने रहेछ, के गर्ने, पाहुनालाई नभई नहुने’ भन्ने मेरा साथीले केही दिनअघिको भोजमा ‘कोल्ड ड्रिंक’ दिएनन् । कागती, पुदिना र बिरे नुन हालेर सर्बत बनाएर खुवाए । घरमै बनाइएको फलफूलको रस खुवाए । तामाको रस, मार्सी भात, सिमीको रस, टिमुर र गोलभेंडाको अचार खुवाए । ती साथीले भने, ‘आज त अरुणाको लेख पढेर र खाना खुवाएजस्तै भयो ।’ म नि दंग परें, मेरा साथीमा समेत यति प्रभाव परेछ । वास्तवमै मेरो लेखनीले केही न केही काम त गरेछ ।
कोल्ड ड्रिंक त आजकल विवाह भोजमा पनि कम प्रयोग हुन थालेजस्तो लाग्छ ।
कतिपय स्वास्थ्यमा समस्या देखिनुमा हाम्रो हात हुँदैन तर कतिपय स्वास्थ्य समस्याचाहिँ हाम्रै बानी, व्यवहार, भोजन र जीवनशैलीका कारण निम्तिएका हुन्छन् ।
हाम्रो खानपानमा आएको परिवर्तनले साना बालबालिकादेखि वयस्कसम्म समस्यामा छन् । म भान्छामा गएर सायद स्वादिष्ट खाना त बनाउन सक्दिनँ तर खान हुने स्वस्थकर खानाचाहिँ बनाउन सक्छु । प्रत्येक आमाबुबालाई मैले भन्ने गरेकी छु, ‘तपाईंलेआफ्नो सन्तानलाई स्वस्थकर खाना खाने बानी लगाइदिनुभयो । स्वस्थकर खाना कसरी बनाउने भनेर व्यावहारिक रुपमा सिकाइदिनुभयो भने यो उनीहरूका लागि एक ठूलो शिक्षा र सम्पत्ति हुनेछ ।’
तपाईंका बालबालिका देश विदेश जहाँ गए पनि आफैं स्वस्थकर खाना खवाउन सक्नेछन् । यसकारण, उनीहरूको पैसा बचत हुन्छ र शरीर स्वस्थ हुन्छ । उनीहरू काम गर्न सक्छन् ।
कति आमाबुबाले ‘हामी त छोराछोरीलाई भान्छाको काम लगाउँदैनौं, उनीहरूलाई त चिया पनि राम्रोसँग पकाउन आउँदैन’ भनेर बडो गर्वपूर्वक सुनाउँछन् । यो त गर्व गर्ने विषय होइन, लज्जाको कुरा हो । बाल्यकालदेखि नै भान्छामा सहभागी हुन सन्तानलाई प्रेरणा दिइरहनुपर्छ । खाना बनाउनु एउटा कला हो, पाँचतारे होटेलको जस्तो बनाउन सबैले सक्दैनन् र जरुरत पनि छैन । तर, साधारण खाना बनाउन जान्नु निकै राम्रो हो । अहिले वैदेशिक रोजगारमा जानेहरू आफूसँगै चाउचाउ लिएर जान्छन् । दिनभर काम गरेर कोठा फर्किएपछि चाउचाउ उमालेर खान्छन् । अनि, अस्वस्थ हुन्छन् ।
यस्ता विभिन्न कारणले मानिस अस्वस्थ भएकाले पोषणबारे लेख्न जरुरी भएको हो । अहिले कति अभिभावक स्वास्थ्यप्रति सचेत छन् । ‘तपाईंले पोषणहीन खाना दिँदा उनीहरूलाई विषालु माया दिएजस्तै लाग्छ । बालबालिकाले रोएर माग्यो भने तपार्इं चुरोट र रक्सी त दिनुहुन्न नि । जंक फुड पनि त्यस्तै हो, लागूपदार्थ जस्तो ।
मेरा एक मित्रकी छोरी १६ वर्षकी भइन् । उनको तौल झन्डै 80 केजी छ ।
पहिले माया गरेर छोरीले मागेजस्तो बजारीया र महँगो खाना दिँदा दिँदा छोरीले घरको खाना नै खान छोडेकी हुन् । चाउचाउ, कोकाकोला र फ्यान्टा उनको खाना हुन्थ्यो । खाजा पनि बिस्कुट र कुरमुरे आदि हुन्थे । उनमा यस्तो कुराको लत बस्दै गयो । र, उनको तौल अस्वाभाविक रुपमा बढ्दै गयो । अहिले उनी अनेक समस्याबाट पीडित छिन् । त्यस्तै आमाबुबा पनि जंक फुडको लत छुटाउन लागिपरेका छन् तर असफल छन् ।
यस्ता त धेरै घटना छन् ।
लेखले पाठकलाई पोषणबारे जानकारी दिई स्वस्थ हुन प्रेरित गर्छ त्यसैले म स्वस्थ खाना खानुको महत्त्वबारे लेखिरहन्छु ।
प्रतिक्रिया