२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


विराटनगरमा दुई महिने निषेधाज्ञा

मोरङको विराटनगरमा दुई महिने निषेधाज्ञा



महानगरलाई केन्द्र बनाएर विभिन्न समूहले गर्ने धर्ना र जुलुस‚ प्रदर्शनलाई निस्तेज पार्न जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबारदेखि लागू हुनेगरी विराटनगरमा दुई महिना निषेधज्ञाको आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार सूचना जारी गरेका हुन् ।

महानगरलाई केन्द्र बनाएर विभिन्न समूहले गर्ने धर्ना र जुलुस‚ प्रदर्शनलाई निस्तेज गर्न असोज २ गते बिहान ६ बजेदेखि दुई महिनाका लागि विराटनगरमा निश्चित स्थानमा निषेधाज्ञा जारी गरिएको सूचना उल्लेख छ । स्थानीय प्रशासनको निषेधाज्ञाका कारण यो अवधिमा पर्ने कुनै पनि चाडपर्व महानगरवासीले निषेधाज्ञाको घेरामा रहेर मनाउनु पर्ने भएको छ ।

पहिचानवादी र जनता समाजवादी पार्टीको सम्भावित आन्दोलन, धर्ना र जुलुसलाई मध्यनजर गर्दै महानगरका निश्चित स्थानमा निषेधाज्ञा जारी गरिएको प्रजिअ यादवको प्रस्टीकरण छ । विगतमा पनि महानगरका निश्चित स्थानमा अघोषितरुपमा निषेधाज्ञा थियो । यसपालि ती स्थानमा समयावधि घोषणा गरेर निषेधाज्ञा जारी गरिएको हो ।

यसले समूहगत रुपका बाधा विरोधका गतिविधिबाहेक जनताको दैनिक जनजीवनमा कुनै पनि प्रभाव नपार्ने प्रजिअ यादवले बताएका छन् । असोज २ गते पहिचानवादीको प्रदेश नामकरण संयुक्त संघर्ष समितिले कोशी प्रदेश नाम खारेज माग गर्दै मोटरसाइकल र्‍याली निकाल्ने तयारी गरेको थियो ।

विराटनगर महानगरको नगर सुरक्षाकर्मीले जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई दुर्व्यवहार गरेका थिए । घटनाविरुद्ध उक्त पार्टीका कार्यकर्ताले पनि प्रदर्शन गर्ने तयारी गरेका थिए । त्यसले पनि अवस्था अशान्त हुनसक्ने आकलन स्थानीय प्रशासनको छ ।

प्रशासनले महानगरको देवकोटा चोकदेखि पश्चिमको अस्पताल चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक, मुख्यमन्त्री निवासको तीन सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयदेखि तीन सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालय आसपासका क्षेत्रमा निषेधज्ञा आदेश जारी गरेको छ । उक्त स्थानमा सर्वसाधारण र सवारी साधन आवतजावतबाहेक कुनै पनि किसिमका सभा, जुलुस, भेला र र्‍याली निकाल्न निषेध गरिएको सूचनामा छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ९ : ३६ बजे