२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


हतियारधारी समूहद्वारा लुटपाट, घरधनीमाथि आक्रमण



सर्लाहीको लालबन्दी नगरपालिका–५, शान्ति टोलमा हतियारधारी समूहले एक घरमा लुटपाट गरेको छ । लालबन्दी नगरपालिका ५ को वडा कार्यालय नजिक रहेको रामचन्द्र ठाकुरको घरमा बिहीबार बिहान २ बजेतिर लुटपाट भएको हो ।

मुखमा रुमाल बाँधेर आएका ५÷६ जनाको समूहमा रहेका अज्ञात व्यक्तिले ठाकुरको घरबाट नगद र केही सर सामग्री लुटेर लगेका प्रहरीले जनाएको छ । लुटेरा समूहलाई प्रतिकार गर्दा घरधनी ४५ वर्षीय ठाकुर घाइते हुनुभएको छ । उहाँको टाउकोमा चक्कु प्रहार भएको छ ।

घाइते ठाकुरको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको प्रहरीले जनाएको छ । घरधनी ठाकुर केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किनुभएको हो । सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पन्जियार थारुले लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको जानकारी दिनुभयो । “घटनाको अनुसन्धानका लागि जिल्लाबाट समेत अनुसन्धान टोली खटिएको छ, लालबन्दीका इन्स्पेक्टरको नेतृत्वमा घटना लगत्तै प्रहरी परिचालन भइरहेकै छ,” डिएसपी थारुले भन्नुभयो ।

थारुका अनुसार घटनास्थलबाट एक थान नल कटुवा पेस्तोल बरामद भएको छ । घरको कमाउण्डवालमा लगाइएको ग्रिल नाघेर हतियारधारी समूह घरभित्र प्रवेश गरेका थिए । घरको भान्सा तथा घरसङ्गैको धान खेतमा रगतका टाटा देखिएका छन् । भर्खरै नयाँ बस्ती बस्दै गरेको क्षेत्रमा लुटपाटको घटना भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  १० : २९ बजे