२६ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


१५ वर्षीया बालिकाको बलात्कारपछि हत्या



गुल्मीको शान्तिपुर बजार चार दिनदेखि अशान्त छ । चन्द्रकोट गाउँपालिका– ४ शान्तिपुरकी १५ वर्षीया बालिका परिवर्तित नाम ४६ चन्द्रकोट ९५० घरनजिकैको हुँग्दीखोलामा नग्न र डुबेको अवस्थामा फेला परेकी थिइन् । खोलामा बालिकाको शव फेला परेको देखेपछि स्थानीयले बलात्कारपछि हत्याको आशंका गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

स्थानीयले घटनामा संलग्न व्यक्तिमाथि कडा कारबाही र शान्तिसुरक्षाको माग राखी आन्दोलन गर्दै आएका हुन् । मुख्य बजार र इलाका प्रहरी कार्यालयनजिक बालिकाको बलात्कारपछि हत्याको घटनाले स्थानीयमा निकै ठूलो त्रास रहेको शान्तिपुरका अगुवा तेजेन्द्र थापाले बताए । उनले मुख्य बजारनजिक बलात्कार र हत्यासँगै दिउँसै सहकारी चोरी हुने घटनाले स्थानीयमा सुरक्षाको कुनै अनुभूति नभएको बताए । ‘विगतदेखि नै शान्तिपुर र पेरिफेरीमा ठूला घटना भइरहेका छन् । इलाका प्रहरी कार्यालय भएको अनुभूति स्थानीयले गर्न पाएका छैनन,’ उनले भने, ‘नागरिक त्रासमा छन् ।’

मृतक बालिका शान्तिपुरको श्रीलंकाटोलमा आमासँग भाडाको घरमा बस्दै आएकी थिइन् । बालिका १६ कात्तिकबाट परिवारको सम्पर्कमा थिइनन् । आमासँग घरनजिकैको खेतमा काम गर्न गएकी उनी १६ कात्तिक बिहान ११ बजे खेतालालाई सुर्ती किन्न भनी बजार गएपछि फर्किनन् । साँझ अबेरसम्म छोरी सम्पर्कमा नआएपछि सबैतिर खोजे पनि फेला नपरेको उनको आमाले बताइन् । १७ कात्तिक बिहानै छोरी खोलामा मृत फेला परेको खबर सुनेपछि उनी स्तब्ध बनिन् । उनले दिउँसोबाटै छोरीलाई कब्जा गरेर राति हत्या गरेर फालिएको हुन सक्ने बताउँदै न्यायका लागि सबैसँग अनुरोध गरिन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार घटनामा संलग्न बाँके खजुरा गाउँपालिका– ४ का २३ वर्षीय रहिस खाँ पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतबाट म्याद थप गरी बलात्कार र हत्या कसुरको मुद्दामा पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख प्रधानले जानकारी दिए । बालिकाको पोस्टमार्टमपछि अत्येष्टि गरिएको छ ।

पछिल्लो तीन वर्षमा यो चन्द्रकोट गाउँपालिकाको दोस्रो ठूलो घटना हो । चन्द्रकोट गाउँपालिका– ३ हर्राचौरको जंगलमा १६ कात्तिक ०७७ मा दुई बालिकासहित महिलाको बीभत्स हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको थियो ।१३ दिनपछि घटनामा संलग्नलाई कास्कीस्थित पोखरा महानगरपालिका– २५ हेम्जाबाट पक्राउ गरिएको थियो । हत्या भएका तीनजना मोरङ कानेपोखरी गाउँपालिका– ३ हर्कपुर घर भएकी ३२ वर्षीया सरिता भन्ने शिवमाया लिम्बू र उनका जुम्ल्याहा छोरी सात वर्षीया गंगा र जमुना मगर थिए । गुल्मी जिल्ला अदालतले हत्याकाण्डमा संलग्न मुख्य व्यक्ति बागलुङ गल्कोट नगरपालिका– ८ ज्यामिरेका ४६ वर्षीय पूर्णबहादुर सुनारलाई जीवित रहेसम्म कैद सजाय फैसला गरेको छ । नयाँ पत्रिका

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ८ : १५ बजे