२६ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


किसानका दुस्खमा सहयोगी बन्दै रुरु क्षेत्र गाउँपालिका



रुरु क्षेत्र गाउँपालिकाले टीकासँगै दोसल्ला ओढाएर सम्मान पत्र दिएपछि कुलचन्द्र ज्ञवालीले विगतको तीतो यथार्थ सम्झिए– रोगले फर्म नष्ट भएर बिउ र विषादीको खर्च माग्न गाउँपालिका पुग्दा आलोचना खेपेर घर फर्किनुपरेको थियो । तर, यसपटक तिनै ज्ञवालीलाई पालिकाले उनले कृषि क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गर्‍यो ।

‘कम्तीमा स्थानीय सरकारको नेतृत्व गर्नेहरूले किसान सम्झिन थाले,’ उनले भने, ‘आज मूल्यका चोटका बीच कर्मले सम्मान पाएको छ ।’ रुरु क्षेत्र गाउँपालिका– ४ का ज्ञवालीले ५२ रोपनी जग्गामा पाँच वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । उनको परिवारका सबै सदस्य कृषि कर्ममा छन् । उनले गत वर्ष ६३ लाखको तरकारी बेचे ।

सोही कार्यक्रममा रुरु क्षेत्र– २ का चिरञ्जीवी अर्याललाई पनि गाउँपालिकाले सम्मान गर्‍यो । १९ सय कुखुरा पालेका उनको फर्ममा दैनिक १७ सय अन्डा उत्पादन हुन्छ । नाफाको ग्यारेन्टी, बिमामा किसानको पहुँच अभिवृद्धि तथा बजार र मूल्यको समस्या अर्यालले सुनाए । उनले पालिकाले सानाठूलाको स्तर छुट्याएर अनुदान वितरण गर्नुपर्ने र दाना तथा घाँसमा अनुदान पाए किसानलाई राहत हुने प्रतिक्रिया दिए ।

किसानलाई प्रोत्साहन गर्नु पालिकाको कर्तव्य हो स् यदु ज्ञवाली, प्रमुख, रुरु क्षेत्र गाउँपालिका
आयातित कृषि उपजको सेवनले अहिले अधिकांश घरमा गम्भीर रोगका बिरामी बढिरहेका छन् । यस्तो वेला व्यावसायिक कृषि कर्म गर्दै आएका किसानहरूलाई प्रोत्साहन गर्नु पालिकाको कर्तव्य हो । माटोमा रमाउनेहरूको सम्मानले सबैलाई ऊर्जा प्राप्त भएको छ ।

वार्षिक १६ हजार लिटरभन्दा बढी दूध बिक्री गर्ने रुरु क्षेत्र गाउँपालिका– ५ का बाबुराम श्रेष्ठ, ५० भन्दा बढी बाख्रापालन गरेर वार्षिक साढे चार लाखभन्दा बढीको बिक्री गर्ने रुरु क्षेत्र गाउँपालिका– १ का राजेन्द्र थापालाई पनि उत्पादनमा आधारित उत्कृष्ट कृषकलाई सम्मान गरिएको पशु शाखा प्रमुख अमित ज्ञवालीले जानकारी दिए ।

त्यस्तै, एक सय ४५ बोट सुन्तलाबाट वार्षिक ५० क्विन्टल सुन्तला बिक्री गर्ने रुरु क्षेत्र– ४ का युवराज ज्ञवाली, व्यावसायिक मौरीपालन गर्ने रुरु क्षेत्र– ६ का टेकबहादुर पचभैयाँ र १८ रोपनीमा १३ वटा पोखरी निर्माण गरेर व्यावसायिक माछापालन गर्ने रुरु क्षेत्र– ५ का कृष्णप्रसाद ज्ञवालीलाई पनि गाउँपालिकाले सम्मान गरेको छ । ज्ञवालीले वार्षिक चार लाखभन्दा बढीको माछा बिक्री–वितरण गर्ने गरेका छन् ।

बच्चा र माउ गरेर २७ वटा बंगुरपालन गरेका रुरु क्षेत्र– २ सिर्जना प्रजा सार्की, खुदो र गुणको व्यापारमा अब्बल रुरु क्षेत्र– ३ का चोलानाथ ज्ञवालीलाई पालिकाले सम्मान गरेको छ । ज्ञवालीले वार्षिक १० देखि १५ लाखको कारोबार गर्ने गाउँपालिकाका पशु स्वास्थ्य शाखा प्रमुख ज्ञवालीले बताए । त्यस्तै, ४५ वटा बोटमार्फत वार्षिक दुई लाखको लिची व्यापार गर्दै आएका रुरु क्षेत्र– १ का टेकबहादुर कामीलाई पनि गाउँपालिकाले सम्मान गरेको छ ।

किसानहरूलाई कृषि पेसामा ऊर्जा प्रदान गर्न कृषक सम्मानलाई नियमित गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले बताए । पौडेलका अनुसार व्यावसायिक कृषि गर्नेहरूका लागि कृषि कर्जामा अनुदान दिने, जग्गा भाडामा लिएर व्यावसायिक कृषि कर्म गर्नेहरूका लागि जग्गा भाडामा अनुदानलगायत, दूधमा उत्पादनमा आधारित अनुदान प्रदान गर्ने गरिएको छ ।

रुरु क्षेत्र गाउँपालिकाका प्रमुख यदु ज्ञवालीले माटोमा रमाउनेहरूको सम्मानले सबैलाई ऊर्जा प्राप्त भएको बताए । गाउँपालिकाले आयातीत कृषि उपजको सेवनका कारण अहिले अधिकांश घरमा गम्भीर रोगका बिरामी बढिरहेको अवस्थामा व्यावसायिक कृषि कर्ममार्फत समृद्धि प्राप्त गरिरहेका किसानहरूलाई प्रोत्साहन गरेको ज्ञवालीले बताए । उनले बेरोजगारीको नाममा गाउँका उर्वर खेतबारी बाँझो बनाएर परदेश पस्ने युवाहरूको अवस्थालाई केही हदसम्म रोक्न कृषि र पशुपालनका योजनाहरू नीति तथा कार्यक्रममा समेटेको बताए । नयाँपत्रिका, टोपलाल अर्याल

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ९ : १० बजे