२६ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


राष्ट्रिय वाणिज्य बैङ्कमा तालाबन्दी



पश्चिम नेपालको केन्द्र रहेको नेपालगन्जबाट कार्यालय सार्न खोजेपछि स्थानीय सङ्घ संस्थाले विरोध गर्दै बैङ्कको कार्यालयमा तालाबन्दी गरेका छन् ।

यसअघि स्थानीय नागरिकको चर्को विरोधका बाबजुद नेपालगन्जमा रहेको सरकारी तथा गैरसरकारी निकायका विभिन्न क्षेत्रीय कार्यालय बुटवललगायतका विभिन्न ठाउँमा सारिएका थिए । सोही क्रममा बिहीबार राष्ट्रिय वाणिज्य बैङ्कको प्रादेशिक कार्यालय नेपालगन्जबाट बुटवल सार्न लागेको खबर पाएपछि निजी क्षेत्रको अगुवा संस्था नेपालगन्ज उद्योग वाणिज्य सङ्घले कार्यालयमा तालाबन्दी गरेको हो ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीको नेतृत्वमा गएको टोलीले नेपालगन्जस्थित वाणिज्य बैङ्कको प्रादेशिक कार्यालयमा तालाबन्दी गरेर नसार्न चेतावनी दिँदै सार्न खोजिएमा आन्दोलन चर्काउने घोषणा गरेको छ ।

सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले तालाबन्दी गरेर नेपालगन्जबाट एकपछि अर्कोगरी कार्यालय अन्त सारेर नेपालगन्ज सुनसान बनाउने कार्य भइरहेकाले सोको विरोध गरिएको बताउनुभयो । उहाँले बैङ्क व्यवस्थापनसँग सो निर्णय तुरुन्त पुनर्विचार गर्न माग समेत गरिएको बताउनुभयो ।

नेपालगन्जलाई लुम्बिनी प्रदेशको राजधानी बनाउनुपर्ने माग गर्दैआएको सङ्घले राजधानीको माग पूरा नभएपछि विभिन्न क्षेत्रीय र प्रादेशिक कार्यालय राख्नु पर्ने र यो सहरको महत्वलाई जीवन्त राख्नु पर्ने माग गर्दैआएको थियो ।

बेला बेलामा नेपालगन्ज आउने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले समेत विभिन्न प्रादेशिक तथा क्षेत्रीय कार्यालय यहाँबाट नसार्ने प्रतिबद्धता जनाउँदै आए पनि सार्न लागिएकोमा विरोध गरिएको नेपालगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ६ : २२ बजे