आतंकवादी गतिविधि हुन लागेको विश्वसनीय गुप्तचर सूचनाका आधारमा हवाई आक्रमण गरिएको पाकिस्तानको भनाइ
इरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको एक दिनपछि पाकिस्तानले इरानमा रहेका आतंकवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेको छ । इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको विस्फोटमा परी तीन महिला र चार बालबालिकासहित नौजनाको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
बिहीबार बिहान पाकिस्तानले इरानको सिस्टान–ओ–बलुचिस्तान प्रान्तमा अतिवादी लुकेका स्थानलाई लक्षित गरी शृंखलाबद्ध सैन्य आक्रमण गरेको पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । इरानले पाकिस्तानमा ‘आतंकवादी समूह’विरुद्ध आक्रमण गरेपछि उक्त प्रत्याक्रमण भएको हो ।
पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ, ‘ठूलो परिमाणमा आतंकवादी गतिविधि हुन लागेको विश्वसनीय गुप्तचर सूचनाका आधारमा बिहीबार हवाई आक्रमण गरिएको छ ।’ सरवन सहरवरपरका विभिन्न क्षेत्रमा विस्फोटको आवाज सुनिएको इरानको सरकारी समाचार संस्था इरनाले एक प्रान्तीय अधिकारीलाई उद्धृत गरी जनाएको छ ।
तेहरानले इराक र सिरियामा पनि ‘इरानीविरोधी अतिवादी समूह’विरुद्ध आक्रमण गरेपछि इरान सरकारले पाकिस्तानमा जैस अल–अदल समूहलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको जनाएको थियो । तेहरान र इस्लामाबादले एक–अर्कालाई उनीहरूको भूमिबाट आक्रमण गर्न अनुमति दिएको आरोप लगाउँदै आएका छन्, तर दुवैतर्फका आधिकारिक सेनाले आक्रमण गरेको बिरलै पाइन्छ ।
इजरायलले गाजामा हमासविरुद्ध युद्ध लडिरहेको र यमनमा प्यालेस्टाइन समर्थक हुथी विद्रोहीले ‘रेड सी’मा कार्गो जहाजमाथि आक्रमण गरेको समय इरानको आक्रमणले मध्यपूर्वमा थुप्रै संकट थपेको छ । बुधबार इरानका रक्षामन्त्री मोहम्मद रेजा अस्टियानीले तेहरानले आफ्नो सुरक्षाको कुनै सीमा नतोक्ने बताएका थिए । यसैबीच, इरान र पाकिस्तानको निकट साझेदार चीनले संयमित हुन आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता माओ निङले दुवैले ‘तनाव बढाउने खालका गतिविधिबाट बच्नुपर्ने’ बताएका छन् ।
अमेरिकाले पाकिस्तान, इराक र सिरियामा इरानले गरेको आक्रमणको निन्दा गरेको छ भने विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले तेहरानले पछिल्ला केही दिनमा आफ्ना तीन छिमेकीको सार्वभौम सीमा उल्लंघन गरेको बताएका छन् ।
पाकिस्तानको आधिकारिक वक्तव्यमा बिहीबारको आक्रमण कहाँ भएको थियो भन्नेबारे केही बताइएको छैन, तर पाकिस्तानी सञ्चारमाध्यमका अनुसार यो आक्रमण दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको पन्जगुरनजिकै भएको थियो ।
आक्रमण हुनुभन्दा केही घन्टाअघि पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर–उल–हक काकरले इरानी विदेशमन्त्रीसँग भेट गरेका थिए । ‘पाकिस्तानको सार्वभौमिकताको यो उल्लंघन पूर्णतया अस्वीकार्य छ र यसको गम्भीर परिणाम हुन सक्छ,’ पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आक्रमणमा दुई निर्दोष बालबालिकाको मृत्यु भएको र तीन बालिका घाइते भएको बताइएको छ ।
मध्यस्थताका लागि चीन इच्छुक
पाकिस्तान र इरानको सीमा क्षेत्रमा आतंकवादी लडाकुलाई लक्षित गरी हालै भएका आक्रमणपछि बेइजिङले मध्यस्थता गर्न इच्छुक रहेको जनाएको छ । पाकिस्तानी क्षेत्रबाट बिहीबार भएको आक्रमणमा कम्तीमा नौजना इरानीको मृत्यु भएकोे छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भने, ‘यदि दुवै पक्षले चाहेमा स्थितिलाई कम गर्न रचनात्मक भूमिका निर्वाह गर्न पनि हामी तयार छौँ ।’ आणविक शक्ति सम्पन्न पाकिस्तान र छिमेकी इरान दुवैले आफ्नो कम जनसंख्या भएको सीमा क्षेत्रमा अतिवादसँग जुधिरहेका छन् । निङले अगाडि भने, ‘दुवै पक्षले शान्ति र संयमता अपनाउनेछन् र तनाव बढ्नबाट जोगिनेछन् भन्ने चीनको पूर्ण विश्वास छ ।’
बिहीबार पाकिस्तानले इरानमा रहेका लडाकु समूहमाथि आक्रमण गरेको बताएको थियो । तेहरानले कम्तीमा सातजनाको ज्यान जाने गरी भएको आक्रमणको जवाफमा पाकिस्तानका कार्यवाहक राजदूतलाई बोलाएको जनाएको छ । दुवै देश बेइजिङका घनिष्ठ साझेदार र सांघाई कोअपरेसन अर्गनाइजेसनका सदस्य हुन् । इरान र पाकिस्तान चीनका मित्रराष्ट्र र महत्वपूर्ण प्रभाव भएका देश भएको भन्दै मध्यस्थताका लागि चीनको पहल रहने प्रवक्ता माओले दोहोर्याए । नयाँपत्रिका
प्रतिक्रिया