२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


पूर्वमन्त्रीको नेतृत्वमा दलित महिला महासंघ गठन



दलित महिलाहरुको मुद्दालाई सिंहदरबारसम्म पुर्‍याउने भन्दै पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बिमला वि.क.को नेतृत्वमा दलित महिला महासंघ गठन भएको छ ।
मंगलबार पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री वि.कको अध्यक्षतामा ११ सदस्यीय दलित महिला महासंघ नेपालको गठन भएको हो ।

महासंघ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता समेत भएको छ । सातवटै प्रदेशका २८ वटा जिल्लाका दलित महिलाहरुले नेतृत्व गरेको ३६ वटा संस्था महासंघमा आवद्ध भएको अध्यक्ष वि.क.ले जानकारी दिइन् ।

महासंघको उपाध्यक्षमा आशा बि.क., महासचिव सरस्वती नेपाली, सचिव मिना परियार, कोषाध्यक्ष जसमाया गजमेर र सदस्यहरुमा अजिता पासवान, कविता नेपाली र धनमाया विश्वकर्मा रहेका छन् । त्यस्तै जुनि बि.क., पवित्रा नेपाली र मैना आछामी पनि महासंघको कार्यसमिति सदस्य रहेका छन् ।

अध्यक्ष वि.क.ले दलित महिलाहरु लिङ्ग, जात र वर्गका हिसाबले अझैपनि समुदायको पिँधमा रहेको उल्लेख गर्दै उनीहरुको अधिकारको वकालत गर्नका लागि साझा मञ्चको आवश्यकता भएकाले महासंघको गठन गरिएको जानकारि दिइन् । उनले हत्या, हिंसा र वलात्कारको घटनामा ७० प्रतिशत भन्दा बढी दलित महिलाहरु पीडित हुनुपरेको अवस्था भएपनि यसले सिंहदरबारलाई अझै छुन नसकेको बताइन् ।

दलित महिलाहरुको मुद्दा र मागलाई सिंहदरबारसम्म पु¥याउनका लागि महासंघले काम गर्ने उनको भनाई छ । दलित महिलाहरु विभिन्न पार्टी तथा गैरसरकारी संस्थाहरुमा विभक्त हुँदा अधिकारको लागि साझा रुपमा अघि बढ्न नसकिएकोले साझा मुद्दामा साझा रुपमा अगाडी बढ्न महासंघ आवश्यक भएको उनले बताइन् ।

अध्यक्ष वि.क.ले महासंघले दलित महिलाहरुको हितमा कानुन, योजना र बजेट तर्जुमाका लागि वकालत गर्ने पनि बताइन् । त्यसैगरी महिला आरक्षणभित्र दलित महिलाको अर्थपूर्ण प्रतिनिधित्वको लागि लड्ने पनि उनको भनाई छ ।

त्यस्तै महासंघकि सचिव मिना परियारले दलित महिलामाथि हुने गरेको हिंसाको विरुद्धमा महासंघले सडक संघर्ष समेत गर्ने बताइन् । उनले कानुनहरुलाई दलित महिलाको पहुँचयोग्य बनाउने, दलित महिला जनप्रतिनिधिहरुलाई सशक्तिकरण र नेतृत्व विकासका लागि महासंघले सहजीकरण गर्ने पनि जानकारि दिइन् ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ८ : १२ बजे