२१ चैत्र २०८१, शुक्रबार | Sat Apr 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


बाँदर नियन्त्रण यसरी गर्न सकिन्छ…



चन्द्रमणी अर्याल

मानव–बाँदर द्वन्द्वको दीर्घकालीन समाधानका निम्ति तिनका वासस्थानको पुनस्र्थापना अनिवार्य सर्त हो 
पछिल्ला वर्ष नेपालमा विशेषतः मध्यपहाडी क्षेत्रमा बाँदर आतंक विकराल बन्दै गइरहेको छ । बाँदरले गर्दा जनजीविकाका थुप्रै आयाममा नकारात्मक प्रभाव पारेको छ । बाँदरबाट हुने क्षति कम गर्न व्यक्तिगत, संस्थागत र समूहगत रूपमा थुप्रै पहल भएका छन् । तर, मानव–बाँदर द्वन्द्वका कारणलाई बेवास्ता गरी गरिएका यी पहल खास प्रभावकारी भने हुन सकेका छैनन् ।

नेपाली बाँदर र बाँदरआतंक स् नेपालमा तीन प्रजातिका लंगुर बाँदर ९नेपाल लंगुर, तराई लंगुर र हिमालयन लंगुर० र दुई प्रजातिका मकाका बाँदर अर्थात् असामी र राता बाँदर पाइन्छन् । हालका बाँदर आतंकहरू प्रायः रातो बाँदरसँग सम्बन्धित छन् । यद्यपि, बाँदरको आतंक नयाँ भने होइन ।

मेरो आफ्नै बाल्यकालका बाँदर धपाउन गएका धूमिल याद छन् । हाल शुक्लागण्डकी–६ जाम्दी भन्ने ठाउँमा हाम्रो घरबारीको छेउमा ‘लाखु कुर्ने कटेरो’ भनेर खरले छाएको स्थायी संरचना नै थियो । मकै खेती पाक्ने, विशेषतः जेठ असारमा दिनभर परिवारबाट कसै न कसैले त्यहाँ पहरा दिनुहुन्थ्यो । स्कुल छुट्टी भएर फर्किएपछि हामी चार–पाँचजना केटाकेटीलाई ढ््यांग्रो बजाएर बाँदर लखेट्ने जिम्मा आइलाग्थ्यो ।

बाँदर लखेट्न घरमा पालिएको कुकुरले पनि साथ दिन्थ्यो । गाउँका सबैजसो मानिसको बारी र जंगलको संगम नजिक सोही प्रकृतिका कटेरा हुन्थे । बाँदरले कहिलेकाहीँ केही मकै लाने मौका पाए पनि समस्या विकराल भने थिएन । तर, समयक्रममा जाम्दीबाट मानिस खैरेनीटार तथा अन्य क्षेत्रतर्फ बसाइँसराइ गर्ने क्रम बढ्दै गयो, सोही अनुपातमा बाँदरको समस्या पनि बढ्दै गयो । धेरै समयपहिलेदेखि नै देशका केही क्षेत्रमा बाँदरको समस्या थियो, तर पछिल्लो समय बाँदरको समस्या देशव्यापी बनेको छ । मुख्यतः देशका मध्यपहाडी क्षेत्रमा यो समस्या विकराल बनेको छ ।

बाँदरहरूको कारणले जनजीविकामा प्रत्यक्ष रूपले नै नकारात्मक असर पर्न गएको छ । बाँदरले खाद्यान्न बालीमा आक्रमण गरी खाद्य सुरक्षामा नै चुनौती थपिएको छ । काभ्रे जिल्लामा गरिएको एक अध्ययनले कुल उत्पादनको करिब ४।२ प्रतिशत खाद्यान्न बाँदरले क्षति गर्ने देखाएको थियो । सोही प्रकृतिको तनहुँ र कास्कीमा गरिएको अर्को अध्ययनले वन्यजन्तुका कारण हुने क्षतिमध्ये करिब ७४ प्रतिशत क्षति बाँदरका कारण हुने देखाएको थियो ।

सामुदायिक वनलाई पहिलेकै अवस्थामा पुनस्र्थापना गर्ने, जंगलहरूको खण्डीकरण रोक्ने र बाँदरका प्राकृतिक सिकारीहरूको पुनस्र्थापना गर्ने दिशामा काम गर्नुपर्ने देखिन्छ । जीविकोपार्जनलाई विविधिकरण गर्दै जाने र बाँदरले क्षति नगर्ने खेतीलाई प्रोत्साहन गर्नु पनि जरुरी देखिन्छ ।

बाँदरको आतंकका कारण मानिसका दैनिक जनजीवनमा पनि असर परेको छ । युवा पलायनका कारण गाउँघरमा महिला र प्रौढ मात्रै रहेको स्थितिमा बाँदर आतंकका कारण मानिसले जग्गा बाँझै राख्ने अवस्था सिर्जना भएको छ । बढ्दो रूपमा व्यापार घाटा सामना गरिरहेको र वेला–बखत भारतले खाद्यान्न निर्यात गर्न रोक लगाउँदा तर्सिनुपर्ने अवस्था रहेको नेपालजस्तो देशका लागि बाँदरको समस्या खाद्य सुरक्षाको हिसाबले प्रमुख चुनौतीको रूपमा देखा परेको छ ।

खाद्यान्न बालीमा पुर्‍याउने क्षतिका अलवा बाँदरले स्कुल जाने र अन्य बालबालिकालाई सताउन थालेका रिपोर्ट पनि आउन थालेका छन् । बाँदरको आतंक खेतबारीमा मात्रै सीमित छैन । देशका विभिन्न भागमा बाँदरले घर–भान्सामा पसेर पकाएका खाने कुरासमेत लिएर जाने खालका घटनामा बढोत्तरी भएको छ । थुप्रै ठाउँमा बाँदरका कारण मानिसहरू आजित भएर बसाइँसराइ गर्ने क्रम तीव्र भएको छ ।

बाँदरआतंक नियन्त्रणका प्रयास स् बाँदरले मच्चाएको आतंक नियन्त्रणका लागि व्यक्तिगतदेखि संस्थागत रूपमा प्रयास भएका छन् । सिन्धुपाल्चोक मेलम्चीका किसानले खेतबारीमा बाघको फोटो राखेपछि बाँदरको समस्या केही हदसम्म नियन्त्रण भएको भन्ने समाचार प्रकाशितै भएको थियो । त्यो कति समयसम्म प्रभावकारी रह्यो, थप खोजी भएको छैन । अन्य सामूहिक प्रयास पनि भएका छन् । जुम्लाको सिञ्जा गाउँपालिका–६ मा बेरोजगारलाई बाँदर धपाउने प्रयोजनका लागि चौकीदार राखिएको समाचार आएको थियो । तनहुँको म्याग्दे गाउँपालिकामा सामुदायिक वनमा फलफूलका बिरुवाहरू रोप्ने काम गरियो भने सिन्धुपाल्चोकका केही ठाउँमा बाँदरको आतंक बढ्न थालेपछि मानिसहरूले समूह बनाएर बाँदर धपाउने प्रयास गरे । यसका साथै प्रदेश सरकारलाई बाँदरको आतंक नियन्त्रणका लागि ध्यानाकर्षित गर्न हेटौँडामा प्रदेश सभाहल अगाडि किसानले प्रदर्शन पनि गरेका थिए ।

देशका विभिन्न पालिकाले पनि बाँदर आतंक नियन्त्रणका लागि प्रयास थालेका छन् । दोलखाको कालिन्चोक गाउँपालिकाले बाँदर समाएर घर–घरमा पाल्ने नीति अंगीकार गर्दै पाँच लाख बजेट नै विनियोजन गरेको थियो । देशका अन्य नगरपालिकामा पनि यस्तै प्रयास भएका छन् ।

जस्तै, पर्वतको महाशिला गाउँपालिकाले ३० लाख तथा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले पाँच लाख बजेट बाँदर नियन्त्रणका लागि विनियोजन गरेका थिए । यसका साथै पश्चिम नवलपरासीको बौदाकाली गाउँपालिकाले बाँदरआतंक नियन्त्रणका लागि सुझाब दिन कार्यदल गठन गरी सो कार्यसमितिको सुझावबमोजिम अगाडि बढ्ने निर्णय गरेको छ । मकवानपुरको थाहा गाउँपालिकाले बाँदर धपाउने उपकरण अनुदानमा वितरण गरेको थियो ।

धरान उपमहानगरपालिकाले बाँदरहरू समातेर बर्दिया राष्ट्रिय निकुञ्जमा लगेर छाडेको थियो । तर, यीमध्ये धेरैजसो प्रयास कि अल्पकालीन छन् या त तिनले बाँदर–मानव द्वन्द्वको मूल कारणलाई पूर्णतया उपेक्षा गरेका छन्, जसका कारण समस्याको दीर्घकालीन समाधान हुन सकेको छैन ।

पछिल्लो समय स्याङ्जा, कास्की, गुल्मीलगायत ठाउँमा बाँदर नियन्त्रणका लागि भन्दै घरवरपरका रुख काट्ने उर्दी नै जारी गरिए । तर, यस्ता उपायले समस्या समाधान गर्नेभन्दा पनि समस्यालाई चर्काउने मात्रै कार्य गर्ने देखिन्छ । सरकारले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ लागू गरी वन्यजन्तुबाट मृत्यु भए, घाइते भए वा घरपालुवा जीव जनावरको मृत्यु भएमा राहत दिने गरेको थियो । तर, बाँदरबाट हुने क्षतिमा राहत दिने व्यवस्था थिएन, जसका कारण शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाहिर बाँदरबाट भएको क्षतिमा केही सहयोग हुने अवस्था थिएन । तर, हालै सरकारले नयाँ निर्देशिका जारी गरी बाँदरबाट हुने क्षतिमा पनि राहत दिने व्यवस्था गरेको छ ।

उपाय के रु स् बाँदरले देशभर मच्चाएको आतंक नियन्त्रणका लागि विभिन्न उपाय सुझाइएको छ । जीविकोपार्जनका उपाय विविधीकरण गर्ने, बाँदरका लागि वनमा नै खानाको प्रबन्ध गर्नेदेखि लिएर बाँदरको परिवार नियोजन गर्नेसम्मका उपाय सुझाइएका छन् । पछिल्लो समय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति आरजु राणाले परिवार नियोजन गरी बाँदरको संख्या नियन्त्रण गर्नुपर्ने सुझाव दिएकी थिइन् ।

अल्पकालीन रूपमा कृषिबालीमा निर्भर किसानलाई पशुपालनतर्फ मोड्दा पनि बाँदरले पुर्‍याउने क्षति कम हुन सक्छ । तर, यसबाट चितुवासँगको द्वन्द्व बढ्न सक्छ । यसैगरी वनमा फलफूल रोप्ने अर्को विकल्पका पनि आफ्नै समस्या छन् । फलफूलका बिरुवा रोप्दैमा आजको भोलि नै समस्या समाधान हुँदैन । फेरि फलफूलका बिरुवा रोपेपछि हुर्कन र तिनले फल दिन समय लाग्छ । साथै फलफूलको उपलब्धता बढेसँगै बाँदरको प्रजनन क्षमता वृद्धि भई समस्या झन् बढ्न सक्छ । बाँदरहरू समाएर बन्ध्याकरण गर्ने उपाय पनि प्राविधिक, आर्थिक तथा व्यावहारिक रूपमा सहज हुने देखिँदैन । बाँदरको आतंक कम गर्न अल्पकालीन र दीर्घकालीन उपाय अविलम्ब पहिचान र अवलम्बन गर्नुपर्ने देखिन्छ ।

केही अध्ययनले बाँदरहरूको वासस्थानमा मानवीय गतिविधिको बढोत्तरी, वासस्थानको खण्डीकरण आदि कारणले बाँदरहरूको आतंक बढ्दै गएको बताएका छन् । त्यसका साथै बाँदरको समस्या विकराल हुनुको कारण खोज्दै जाने हो भने माओवादी द्वन्द्व र सामुदायिक वनको पनि भूमिका देखिन आउँछ । ०५२ सालबाट सुरु भएको माओवादी द्वन्द्वका कारण देशभरका अधिकांश ठाउँमा मानिस बसाइँसराइ गर्ने क्रम सुरु भयो र बिस्तारै बिदेसिने क्रम पनि तीव्र हुन थाल्यो ।

जसका कारण जमिन बाँझो छोड्ने क्रम बढ्न थाल्यो, जहाँ बिस्तारै बुट्यानहरू पलाउन थाले । त्यसका साथै नब्बेको दशकमा सामुदायिक वन बनाएर हस्तान्तरण गर्ने क्रम बढेर गयो । धेरैजसो सामुदायिक वनहरू आर्थिक रूपले आकर्षक एकल प्रजातिका रुखलाई महत्व दिने गरी व्यवस्थापन गर्न थालियो । यी सबैका कारण ती जंगलहरू चितुवा, ध्वाँसेजस्ता जनावर, जसले प्राकृतिक रूपमा बाँदरको संख्या नियन्त्रण गर्थे तिनका लागि उपयुक्त हुन सकेन । बाँकी भएका चितुवा पनि मानवसँगको द्वन्द्वका कारण मारिने क्रम तीव्र छ । यस्ता क्रियाकलापले बाँदरसँगको द्वन्द्व झन् बढाउन मद्दत गर्छ ।

सामुदायिक वनलाई पहिलेकै अवस्थामा पुनस्र्थापना गर्ने, जंगलहरूको खण्डीकरण रोक्ने र बाँदरका प्राकृतिक सिकारीहरूको पुनस्र्थापना गर्ने दिशामा काम गर्नुपर्ने देखिन्छ । यसका साथै जीविकोपार्जनलाई विविधीकरण गर्दै जाने र बाँदरले क्षति नगर्ने वा कम क्षति गर्ने प्रजातिको खेतीलाई पनि प्रोत्साहन गर्नु जरुरी देखिन्छ ।

अन्त्यमा स् नेपालको कृषि क्षेत्रको प्रमुख चुनौतीमध्ये एक मानव–बाँदर द्वन्द्व विकराल हुँदै गइरहेको छ । वेलैमा यो समस्याको समाधानका उपाय खोजी गरी कार्यान्वयन नगर्ने हो भने समस्या बढ्दै गएर नेपालको कृषि क्षेत्र नै समाप्त हुने, खाद्य संकट गहिरिने र नेपालका गाउँ बस्तीबाट मानिस पूर्ण रूपले विस्थापित हुने अवस्था आउन सक्छ । यसको समाधानमा सरोकारवाला पक्षले वेलैमा ध्यान दिनु जरुरी छ । अल्पकालीन रूपमा राहत, क्षतिपूर्ति दिने, बाँदरलाई तर्साउने तथा समात्ने, हेरालु राख्ने, जीविकोपार्जनलाई विविधीकरण गर्नेजस्ता काम गर्न त सकिन्छ । तर, मानव–बाँदर द्वन्द्वको दीर्घकालीन समाधानका निम्ति तिनका वासस्थानको पुनस्र्थापना अनिवार्य सर्त हो । नयाँपत्रिकाबाट

(अर्याल पद्मकन्या बहुमुखी क्याम्पसको वातावरण विभागका उपप्रध्यापक हुन्)

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ८ : १० बजे