सोमबारदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ। सोमबार अपराह्न ४ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकका लागि सम्भावित सात कार्यसूची तय भएको छ।
बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। त्यसपछि राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्र र प्रधानमन्त्री तथामन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।
संसद सचिवालयका अनुसार सभामुखले प्रतिनिधिसभा नियमावली २०७९ अनुसार बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची तय भएको छ। यसैगरी, राष्ट्रिय सभामा उत्पत्ति भएर सन्देशसहित प्राप्त विद्युतीय व्यापार विधेयक २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ टेबुल हुनेछ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० एवं कानुनमन्त्री धनराज गुरुङले मन्त्रिपरिषदको निर्णयबाट जारी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश पेश गर्ने कार्यसूची छ।
प्रतिक्रिया