७ असार २०८२, शनिबार | Sat Jun 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


नेपालमा अझै २० प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि



नेपालमा २० प्रतिशतभन्दा बढी जनसङ्ख्या अझै पनि गरिबीको रेखामुनि रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार काठमाडौँमा सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९-०८० नेपालमा अझै पनि २०.२७ प्रतिशत मानिसहरू गरिबीको रेखामुनि रहेको उल्लेख गरिएको हो ।

करिब १२ वर्षपछि प्रतिघर परिवारले उपभोग्य वस्तुमा गर्ने खर्चको आधारमा सो तथ्याङ्क सार्वजनिक गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले बताउनुभयो । उहाँकाअनुसार मानिसहरूको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, साधनमाथिको पहुँच, मनोरञ्जनबाट वञ्चित हुनेहरू अझै पनि २० प्रतिशतभन्दा बढी पाइएको छ ।

प्रदेशगत रूपमा भने सबै भन्दा कम गरिबी गण्डकी प्रदेश रहेको छ भने सबैभन्दा बढी गरिबी सुदूरपश्चिम प्रदेशमा रहेको पनि कार्यालयका प्रवक्ता रेग्मीले बताउनु भयो । सुदूरपश्चिम प्रदेशमा अहिले पनि करिब ३४ प्रतिशत मानिसहरू गरिबीको रेखामुनि रहेका छन् ।

‘‘नेपालमा तय गरिएको गरिबीको नयाँ रेखा भनेको २०.२७ प्रतिशत हो । आजको मेरो प्रस्तुतिको सारांश यही हो । आज पनि नेपालमा करिब २० प्रतिशतभन्दा बढी मानिसहरू न्यूनतम मापदण्डअनुसार खान नपाउने, लगाउन नपाउने, मनोरञ्जनका क्रियाकलाप गर्न नपाउने अथवा शिक्षा, स्वास्थ्य र साधनमाथिको पहुँच नपुगेको मान्छेहरूको प्रतिशत अहिले पनि करिब २० प्रतिशत छ भनेर यो पछिल्लो सर्वेक्षणले देखाएको छ ।,’’ कार्यालयका प्रवक्ता रेग्मीले भन्नुभयो, ‘‘प्रदेशगत रूपमा फेरि गरिबीको रेखा त्यहाँ भित्र पनि विभेद छ भन्ने देखिन्छ । सबैभन्दा कम गरिबी गण्डकी प्रदेशमा देखिएको छ । बागमती सँगसँगै छ । त्यसपछि कोशी प्रदेशमा छ । सबैभन्दा बढी गरिबी सुदूरपश्चिम प्रदेशमा देखिएको छ । यो सात वटा प्रदेशको हामीले तुलना गर्‍यौँ भने लुम्बिनी र कर्णाली पनि पछाडि पछाडि छन् । मधेश र लुम्बिनीको उस्तैउस्तै छ । कर्णालीमा सुधार भएको देखिएको छ पछिल्लो प्रतिवेदनअनुसार । सुदूरपश्चिममा अहिले पनि करिब ३४ प्रतिशत गरिबी छ ।’’

सर्वेक्षणमा कणाली प्रदेशमा भने गरिबीको सङ्ख्यामा सुधार हुँदै गएको देखाइएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ८ : ०६ बजे