बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने अवस्था तथा समस्या हो । विज्ञहरू भन्छन्, ‘समाजमा अटिजमलाई रोग भन्ने गलत बुझाइ छ, तर यो रोग नभएर बालबालिकाको मस्तिष्क विकासका क्रममा आउने समस्या हो ।’
यसलाई ‘न्युरो डेभलपमेन्ट डिसअर्डर’ पनि भनिन्छ । अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि सामाजिक तथा सञ्चारसम्बन्धी सीप सिकाइको क्षमता कम हुन्छ । जसले गर्दा उनीहरू कक्षामा पनि आफ्ना अरू साथीहरूका तुलनामा कम बुझ्ने हुन्छन् ।
परिवारले ख्याल राख्ने र सामान्य हेरचाह गर्ने गर्दा पनि यो समस्याको निदान हुन्छ । तर, यसलाई ठूलो समस्या या निको नहुने रोगका रूपमा लिने सामाजिक सोचले गर्दा समस्या परिवारभित्रै झन् बल्झिँदै जाने गरेको देखिन्छ । अटिजमसम्बन्धी समाजको यही गलत बुझाइलाई चिर्न तथा समाजमा यो समस्याको पहिचान र निदान गर्न महिला उप्रेरणा विकास मञ्च नाम संस्थामा आवद्ध भएका महिलाहरुले अटिजम, बौद्धिक अपांगता केयर सेन्टर सञ्चालन गरी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन । अटिजम निको नहुने रोग होइन भन्ने चेतनाका साथै यसलाई समाधान गर्न सकिने उपायका बारेमा घरपरिवार, शिक्षक र समाजमा विशेष कार्यक्रम सञ्चालन गर्दै आएको महिला उत्प्रेरणा विकास मञ्चकी अध्यक्ष गिता कुमारी घिमिरेले बताउँछिन ।
विश्व स्वस्थ्य संगठनको तथ्यांकलाई आधार मान्दा प्रत्येक ६४ जनामध्ये एकजनामा कुनै न कुनै अटिजमको लक्षण रहेको छ । तर, नेपालमा भने अहिलेसम्म यो समस्याका बालबालिका के–कति छन् भन्ने तथ्यांक कसैले पनि अध्ययन गरेका छैनन । अहिले भने बल्ल महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रलायले स्थानीय तहमार्फत अटिजम भएकाहरुको सर्वे गरी तथ्यांक तयार पार्ने योजनामा रहेको छ । फरक क्षमता भएका यस्ता व्यक्तिका लागि विशेष खालको व्यवहार आवश्यक पर्दछ । साथै, घरपरिवार तथा समाजले सकारात्मक दृष्टिकोण राख्ने हो भने यो समस्या धेरै सहज हुने संस्थाकी अध्यक्ष घिमिरेको भनाई छ । उनका अनुसार अटिजमबारे परिवारका सदस्य पनि खुल्नुपर्छ र आफ्ना घरपरिवारमा यस्तो समस्या भएका बालबालिका भएमा उनीहरूको समस्या समाधानका लागि लाग्नुपर्छ ।
परिवारका सदस्यले वास्तविकता नबताइदिँदा वास्तविक तथ्यांक संकलन हुन नसकेको सम्बद्ध क्षेत्रमा लागेका व्यक्तिको भनाइ छ । समाजमा यी व्यक्तिको अवस्था र संख्या नै पहिचान हुन नसक्दा यस विषयमा राज्यले नीति बनाउन पनि कठिनाइ हुने गरेको बताइन्छ । पछिल्लो समयमा परिवारका सदस्यहरू पनि बिस्तारै खुल्दै गएका छन् । परिवारका सदस्य खुल्दा भित्रभित्रै गुम्सिएका धेरै पिरमर्का पनि हल्का हुने गर्दछ । यसरी कुनै पनि समाजमा समस्या खुलेर बाहिर आयो भने त्यसको समाधान पनि सहज बन्दै जानेछ ।
नेपाली समाजमा अहिले कतिपय अभिभावक आफ्ना नानीबाबुमा यस्तो समस्या देखिएमा घरभित्रै समस्या लुकाउने र बाहिर नल्याउने गर्दा समस्या झनै थुप्रिएर रहने गरेको र यसले बाबुआमा नै डिप्रेसनमा जाने गरेको पनि देखिएको छ । आफ्ना सन्तानको भविष्यको पिरले गर्दा अभिभावक पनि प्रताडित भएको पाइने गर्दछ । जसका कारण परिवार नै विखण्डनतिर जाने गरेको देखिएको छ ।
यस्ता बालबालिकाको थेरापीबाट उपचार गरे सहज हुने गर्दछ । समान्यतया सातामा तीन चारपटक थेरापी गराउने हो भने बालबालिकालाई धेरै नै सहज हुने र यसले जीवनमा परिवर्तन ल्याउने अनुभव धेरै अभिभावकको छ ।
अटिजमका सामान्य लक्षण कस्ता ?
बालबालिकामा देखिने केही सामान्य लक्षणबाट उनीहरूमा रहेको अटिजम थाहा पाउन सकिन्छ । एक्लै खेल्न मन पराउने, आँखा जुधाउन नसक्ने, अस्वाभाविक रूपमा हाँस्ने वा कराउने, उमेरअनुसार बोली नफुट्ने, आफू समान उमेरसमूहका साथीसँग घुलमिल हुन मन नपराउने, घाउचोट लाग्दा दुखाइ महसुस नहुने अटिजमका सामान्य लक्षण हुन् ।
अटिजम भएका बालबालिकाले सामान्य दुखाइ हुँदा चिच्याएर रुने कराउने गर्छन् । यसबाहेक उनीहरूले सांकेतिक भाषाको प्रयोग गर्न सक्दैनन् । उनीहरूमा उमेरअनुसार बौद्धिक क्षमता पनि उत्कृष्ट हुँदैन । सामान्यभन्दा कुनै ठूलो आवाज सुन्दा कान थुन्छन् र झर्को लागेजस्तो व्यवहार देखाउँछन् । यस्ता बालबालिकालाई सामान्य शिक्षण विधिबाट पठनपाठन गराउन सकिँदैन ।
अटिजम भएका बालबालिकाको जीवन सहज बनाउने तरिका
आमाबुबाले बालबालिकालाई यथेष्ट समय दिनुपर्छ । उनीहरूलाई रचनात्मक काममा क्रियाशील गराउनुपर्छ र आफ्नो बच्चाको मानसिक क्षमताबारे बुझ्न चिकित्सक वा विशेषज्ञको सल्लाह, सुझाव लिनुपर्छ । किनकि जति छिटो बच्चाको अवस्था थाहा हुन सक्यो, त्यति नै उनीहरूमा भएका समस्याको पहिचान गर्न र उनीहरूमा आवश्यक अन्य सञ्चार प्रक्रियालाई सहज तुल्याउन मद्दत पुग्ने हुन्छ ।
अटिजम केन्द्रमा थेरापीका माध्यमबाट पनि सहज तरिकाले सञ्चार प्रक्रियाका लागि सक्रिय बनाउन सकिन्छ । यस्तो वेला बालबालिकाका अतिरिक्त उनीहरूका अभिभावकले पनि यससम्बन्धी थेरापी लिनु आवश्यक हुन्छ ।
अटिजमको उपचार
अटिजमको कुनै औषधि छैन । यसको मुख्य उपचार भनेको थेरापी नै हो । व्यवहार थेरापी सबैभन्दा उत्तम हुन्छ । त्यसैले अभिभावकले यससम्बन्धी थेरापी लिनु आवश्यक छ भनिएको हो ।
अटिजम भएका बालबालिकालाई फिजियोथेरापी, स्पिच थेरापी, अकुपेसनल थेरापी, संगीत चिकित्सा, कला थेरापी, व्यवहार थेरापी, प्राकृतिक चिकित्सा थेरापी आदि दिन सकिन्छ । यस्ता थेरापीबाट अटिजम भएका बालबालिकाको शारीरिक तथा मानसिक क्षमताको विकास हुने, उनीहरू रमाउने र खुसी हुने, उनीहरूलाई आराम दिने र यसका कारण उनीहरूमा रोग–प्रतिरोधक क्षमताको पनि विकास गर्न मद्दत पुग्दछ ।
सामान्यत राजधानीमा सञ्चालित अटिजम केयर सेन्टरहरुमा मासिक ३० देखि ५० हजार रुपैयाँसम्म मासिक शुल्क लिएर बालबालिकालाई थेरापी गर्ने गरिएको अवस्था छ । यो रकम सबै अभिभावकहरुले तिर्न सक्ने अवस्था समेत छैन । मञ्चमा आवद्ध महिलाकै छोराछोरीहरुमा अटिजम देखिएपछि महंगा केयर सेन्टरमा जादाँजादाँ आर्थिक संकट भएकाले सदस्यहरुबाटै रकम उठाएर स्थानीयस्तरमै अटिजम केयर सेन्टर सञ्चालन गरेको बताउँछन ।
चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ बलम्बुमा महिलाहरुले सञ्चालन गरेको अटिजम केयर सेन्टरमा विभिन्न प्रकारमा थेरापीका साथ शिक्षण सिकाई प्रक्रिया सञ्चालन गरेका हुन । सरकारी विद्यालय र निजी विद्यालयले अटिजम भएका बालबालिकाहरुलाई भर्ना नलिने र मंहगा सेन्टरमा पठाउन नसक्ने अभिभावकहरुलाई लक्षित गरी सेन्टर सञ्चालन गरेकाले केही सहज भएको अभिभावकहरुको भनाई छ ।
बागमती प्रदेशमा अटिजमको अवस्था
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका डा. साकार खनालले प्रदेशमा सबैभन्दा बढी काठमाडौं जिल्लाम रहेका छन् ।
तथ्याङ्क अनुसार बागमती प्रदेशमा १ हजार २ सय ५३ जनामा अटिजमको समस्या छ । काठमाडौंमा ४ सय ९५, ललितपुरमा ८३, भक्तपुर ७८, चितवन १ सय १३, मकवानपुर ७७ र नुवाकोटमा ६५ जनामा अटिजमको तथ्यांक छ । त्यस्तै सिन्धुपाल्चोकमा ५४, दोलखा ३३, सिन्धुली ६५, रामेछाप २८, काभ्रे ६५ र रसुवामा १७ जनामा अटिजमको अवस्था रहेको मन्त्रालयको तथ्यांक छ ।
प्रदेशमा अझै अटिजम अवस्थाको पहिचान गर्न नसक्दा कति बालबालिकामा यस्तो समस्यामा छन भन्ने एकिन तथ्याङ्क छैन । नेपालमा ग्रामीण क्षेत्र भन्दा शहरीक्षेत्रमा बढी बालबालिका प्रभावित भएको तथ्याङ्कले प्रष्ट पारेको छ । बालक भन्दा बालिकामा बढी अटिजमको समस्या देखिएको हो । नेपालमा कुल जनसंख्यामा कम्तिमा तीन लाख जनामा अटिजम भएको अनुमान गरिएको छ । ५ देखी ७ वर्ष भन्दा कम उमेरसमूहका बालबालिका यसको प्रभावमा परेका छन् ।
सन् २०१२ देखि २०१८ सम्म उपचार गराउँन अटिजम प्रभावित बालबालिका आउन सुरु भएका छन् ।
सन् २०२३ को नयाँ तथ्याङ्क अनुसार ३६ जना बच्चामध्ये एक जनालाई अटिजम भएको तथ्याङ्क छ । भारतमा आठ करोड मानिसमा अटिजम भएको अनुमान छ । श्रीलङ्कामा दुई लाख मानिसहरुलाई अटिजम भएको अनुमान गरिएको छ ।
प्रतिक्रिया