गण्डकी प्रदेश पर्वत जिल्लास्थित कुश्मा नगरक्षेत्रमा रहेका विभिन्न प्रसिद्ध धाम मध्ये धार्मिक सम्पदास्थल मोदीवेणी÷मोदीबेनी धाम पनि एक हो । राजनीतिक विभाजनमा मोदीवेणी कुश्मा नगरपालिकामा रहेपनि फलेवास नगरपालिका तथा गण्डकी पारीको भाग बलेवा तर्फको किनारलाई समेत मोदीवेणी अर्थात मोदीवेणी घाटको रुपमा परिचित छ । माधवी गंगा (मोदीखोला) र कृष्णगण्डकी (कालीगंगा) को संगम स्थलमा अवस्थित मोदीबेनी पावन क्षेत्रका रुपमा परिचित रहेको छ । विभिन्न पुराणहरुमा यसको महिमा बारे वर्णन गरिएको पाइन्छ ।
पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारबाट ४ किलोमिटरको सवारी दूरीमा मोदीबेणी पुग्न सकिन्छ । कुश्मा बजारबाट २ दशमलव ८ किलोमिटरको पैदलयात्रा गरेपछि करिब २ सय मिटरको ढलान गरिएको सिंढी ओर्लंना साथ मोदीबेनी पुगिन्छ । मोदीबेनीमा भगवान विष्णुले नरसिंह अवतार लिएर हिरण्यकश्यपु नाम गरेको असुरलाई बध गरेको स्कन्दपुराणमा उल्लेख गरिएको छ । विक्रम सम्वत् १८९० मा श्री जयराम दासले नरसिंह शालग्राम भगवानको स्थापना गरेपछि हालसम्म उनकै अनुयायीहरुले शालिग्रामको पूजा गर्दै आएका छन् ।
दास बैरागीको नाममा सम्बोधन गरिने निम्मार्ग समुदायका पूजारीहरुले शालिग्रामको पूजा गर्ने गर्दछन् । यहाँ पूजारीको स्थान स्वतः पूजारीका सन्तानहरुमा हस्तानतरण हुने परम्परा रहेको छ । यो मन्दिरमा शालिग्रामको पूजा दैनिक तीन पटक गरिन्छ । बिहान गाईको दूधले शालिग्रामको स्नान गरिसकेपछि श्रीखण्ड चढाइन्छ । दिनको समयमा जल अर्पण गरिन्छ भने रातीको समयमा दुध, फलफूल चढाउनुका साथै आरति गर्ने गरिन्छ ।
माघे संक्रान्ति, नरसिंह चतुर्दशी, महाशिवरात्री र हरिशयनी तथा हरिवोधनी एकादशीको दिन हजारौंको संख्यामा भक्तजनहरु यस स्थानमा बराहको पूजा गर्न जम्मा हुने गर्दछन् । प्राचिन कालमा भारतबाट चीन जाने प्रचलित बाटोमा पर्ने यस स्थानमा भारतीय यात्रीहरु दर्शनका लागी आउने गर्दथे । हाल पोखरा बाग्लुङ्ग राजमार्ग सञ्चालनमा आएपछि साधन प्रयोग गरी यो तीर्थस्थल सजिलै पुग्न सकिन्छ ।
यस पवित्र स्थलमा शवदहन स्थल, १०८ धारासहितको स्नानस्थल, हवन गृह, अतिथि गृह, बृद्धाश्रम स्थल लगायतका पूर्वाधारहरु निर्माण भएका छन भने केही निर्माणकै चरणमा छन् । मोदीबेनीको वृहत्तर विकासका लागि स्पष्ट गुरुयोजना तथा कार्ययोजनाको निर्माण भैसकेको छ । गुरुयोजना अनुसार नै प्राचिनकालका कुटीका विशेषताहरु, प्राचिन कालकै बास्तुकलासँग मेल खाने गरी आधुनिक संरचनाहरु निर्माण हुँदैछन् ।
यस क्षेत्रमा फल र फूलहरुका बोटविरुवा लगाई सुन्दर पार्कको निर्माण गरिएकाले यहाँ पुग्दा अलौकिक आनन्दको अनुभूति प्राप्त गर्न सकिन्छ । भगवान विष्णुलाई तुलसी, पारीजात, पीपल, कुश, कपुर, कल्की, अशोक, धुपी एवम् गुलाब आदि मन पर्ने भएकोले यो पार्कमा यस खालका विरुवाहरु रोपिएका छन् । स–साना पोखरी र तिनमा कमलका फूलहरुले पोखरीको शोभा बढाएको छ ।
सत्य र द्धापर युगमा ऋषि महर्षिहरुले तपत्या गरेका गुफा तथा प्राचिन देवालयहरु अझै देख्न सकिन्छ । बाईसे चौबीसे राज्यकालमा गण्डकी क्षेत्रका राजा तथा शासकहरु यस क्षेत्रमा यज्ञ गरी मोक्ष प्राप्त गर्ने गरेको किम्वदन्ती पाइन्छ । कालीगण्डकी किनारका अन्य धार्मिकस्थलहरु जस्तै रिडी, सेतीबेनी, देवघाट, त्रिवेणी, जैमुनीघाट, सहस्रधारा दिव्यधाम, गलेश्वर र मुक्तिनाथ आदि स्थलहरुसँग मोदीवेनीलाई जोडी धार्मिक करिडोरको अवधारणा अघि बढाई सकिएको छ । यो अवधारणाले यस क्षेत्रको धार्मिक पर्यटन प्रर्बद्धनमा ठुलो महत्व राख्ने विश्वास लिईएको छ ।
यस धामको नाममा मोदीबेणी तथा ज्ञयादीमा सयौं रोपनी खेत तथा जग्गाहरु समेत छ ।
प्रतिक्रिया