मैनाली समाज नेपालले समाज र देशमा महत्त्वपूर्ण योगदान दिएका व्यक्तिहरूलाई सम्मान गरेको छ।
शनिबार आयोजित कार्यक्रममा न्याय क्षेत्रबाट पूर्वन्यायाधीश तपबहादुर मगर तथा समाज सेवाको क्षेत्रमा उत्कृष्ट काम गरेकोमा विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक सबिता उप्रेतीलाई खिलमिका लक्ष्मी मैनाली पुरस्कार प्रदान गरिएको हो। सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरलाल श्रेष्ठले पुरस्कार प्रदान गरेका हुन्।
त्यस्तै, यही वर्षबाट स्थापना गरिएको रमा–हरिप्रिया मैनाली स्मृति पुरस्कार स्नेही काख संस्थाकी संस्थापक श्रीनेहा पोखरेललाई प्रदान गरियो। लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले दिवंगत श्रीमतीको स्मृतिमा २७ लाख रुपैयाँको कोष स्थापना गरी पुरस्कार स्थापना गरेका हुन्। जसमा समाजसेवामा उत्कृष्ट काम गर्ने र उनको पुर्ख्यौली थलो काभ्रेको कानपुरस्थित दुई विद्यालयका विपन्न छात्रालाई सो कोषबाट हरेक वर्ष पुरस्कार तथा सहयोग गर्ने कार्यक्रममा जानकारी गराइएको छ।
कार्यक्रममा काशी मैनाली शिक्षा पुरस्कार, भीमालक्ष्मी मीन मैनाली पुरस्कार पनि प्रदान गरिएको छ। मैनाली समाज नेपालले नेपाल सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनाली, अर्थविद् डा. सिद्धार्थ मैनाली र जादुगर सुरज मैनालीलाई पनि सम्मान गरेको छ।
समाजमा उत्कृष्ट काम गर्नेलाई प्रोत्साहित गर्न मैनाली समाजले हरेक वर्ष न्याय र समाजसेवा क्षेत्रका व्यक्तिहरूलाई सम्मान गर्दै आएको समाजका अध्यक्ष शम्भु मैनालीले बताए।
प्रतिक्रिया