२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बैशाख पहिलो सातादेखि ई–ड्राइभ नेपालले लुम्बिनी प्रदेशमा सेवा विस्तार गर्दै



राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी ई–ड्राइभ नेपालले लुम्बिनी प्रदेशमा सेवा विस्तार गर्ने भएको छ ।

विगत ६ महिनादेखि काठमाडौं उपत्यकामा मात्रै सिमित ई–ड्राइभ नेपालले बैशाख पहिलो साता देखि लुम्बिनी प्रदेशको भैरहवा र बुटवलमा सेवा विस्तार गर्न लागेको हो । ई–ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले राइड सेयरिङ सेवामा नेपाली कम्पनी मार्फत काठमाडौं उपत्यकामा विद्युतीय ट्याक्सी र बाइक मार्फत दिइरहेकोे सेवा अब ई–ड्राइभ नेपालले लुम्बिनी प्रदेशको बुटवल र भैरहवामा विस्तार गर्न लागिएको बताए ।

अध्यक्ष मास्केले राइडर बन्न इच्छुकले नवीकरण भएको लाइसेन्स, बिलबुक र बीमाका कागजात सहित आबद्धताका लागि निःशुल्क आवेदन खुला गरी दर्ता प्रक्रिया शुरु गरिएको बताए । उनले ट्याक्सी र बाइक राइडरले कागजी प्रक्रिया पुरा गरी ई–ड्राइभ नेपालमा आवद्ध हुन सकिने बताए ।

उनका अनुसार ई–ड्राइभले काठमाडौं उपत्यकामा अन्य भन्दा फरक तरिका अपनाएर सेवा दिइरहेको छ । उनले आफुहरुले बिद्युतबाट चल्ने ट्याक्सीमार्फत सेवा दिइरहेको बताए । उनले गत कात्तिक अन्तिम सातादेखि ३ सय ५० विद्युतीय ट्याक्सी र ५ हजार बाइक आवद्ध भएर सेवा दिइहेको जानकारी दिए । अध्यक्ष मास्केले देशका अन्य शहरहरुमा पनि सेवा विस्तार गर्ने नीति अनुरुप पहिलो सेवा विस्तार लुम्बिनी प्रदेशको बुटवल र भैरहवाबाट गर्न लागिएको बताए ।

त्यस्तै, ई–ड्राइभ नेपालका लुम्बिनी शाखाका अध्यक्ष राजकुमार गुप्ताले नेपालमा धेरै चलेका विदेशी राइड सेयरिङ एप भए पनि ई–ड्राइभ नेपाल नेपाली इञ्जिनियरले बनाएको एप भएको बताए । उनले विदेशी ब्राण्डलाई भन्दा पनि मेक इन नेपाललाई प्राथमिकता दिन आवश्यक भएकाले ई–ड्राइभ लुम्बिनी प्रदेशमा विस्तार सुरु गरिएको बताए । गुप्ताले नेपाली इञ्जिनियरले बनाएका एपलाई सहयोग पु¥याउने उद्देश्य भएकाले लुम्बिनीमा बिहीवार देखि निःशुल्क आवदेन खुला गरिएको जानकारी दिए ।

अहिले ई–ड्राइभमा काठमाडौं उपत्यकामा आफ्नै कम्पनीका २० वटा र बाँकी अन्य नीजि क्षेत्रका विद्युतीय ट्याक्सीले सेवा दिएरहेको छ । ई–ड्राइभको यात्रा सरल र सुलभ रहेको कम्पनीले जनाएको छ । ग्राहकको सुरक्षाका लागि नेभिगेसन प्रणाली प्रयोग गरिएको छ भने यसबाट ट्याक्सी कहाँ छ भन्ने सजिलै पत्ता लगाउन पनि सकिने जानकारी दिइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ३ : ०९ बजे