१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्दैं



नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संविधानको धारा ७६ (२) अनुसार नै मुलुकको प्रधानमन्त्री बन्ने बताएको छ । शनिबार संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक रमेश लेखकले सो कुरा बताउनुभएको हो ।

उहाँले विश्वासको मतको प्रस्ताव धारा १०० बमोजिम प्रस्तुत गर्नुपर्ने बताउनुभयो । राजनीतिक रूपमा कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमति गरेपछि स्वाभाविक रूपमा अहिलेको सरकारका विपक्षमा दुई तिहाइभन्दा बढी मत पुग्ने बताउनुभयो । नयाँ सरकार गठन हुन ७६ (३) मा जानु नपर्ने र ७६ (२) अनुसार नै नयाँ सरकार गठन हुने उहाँको भनाइ छ । ७६ (२) अनुसार लिनुपर्ने विश्वासको मत लिइसक्नुभएको र त्यसमा असफल भएको खण्डमा मात्र ३ मा जाने अवस्था आउने प्रमुख सचेतक लेखकले बताउनुभयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते लिनुहुने विश्वासको मतको विपक्षमा पार्टीले मतदान गर्ने प्रस्ट पार्नुभयो । बैठकले कांग्रेस र एमालेको सहकार्यमा बन्ने सहमतिको सरकार गठन गर्ने सहमतिलाई समर्थन गरेको उहाँले बताउनुभयो ।

बैठकले संविधानको अभ्यासको सन्दर्भमा देखापरेका संविधानका सबल र कमजोर पक्ष र यसका जटिलताको समीक्षा गरेर संविधानलाई समसामयिक रूपले संशोधन गरी सङ्घीय लोकतान्त्रिक, गणतन्त्रात्मक शासन व्यवस्था र समावेशिताको सवाललाई थप सुदृढ गर्नेकुराको कार्यान्वयन गर्ने निर्णय गरेको बताउनुभयो । नयाँ बन्ने सरकार राष्ट्रिय सहमतिको सरकार हुने र पहिलो चरणमा एमालेका अध्यक्ष केपी शर्मा ओली र दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमतिलाई कार्यान्वयन गर्न दृढता व्यक्त गर्ने निर्णय गरेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कांग्रेस र एमालेबिच असार १७ गते राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर अघि बढ्ने सहमति भएको छ । आजको संसदीय दलको बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमतिलाई समर्थन र स्वागत गरेको छ ।’

कांग्रेस र एमालेबिचमा राष्ट्रिय स्वार्थको रक्षा गर्नका निमित्त, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न, शिथिल भएको अर्थतन्त्रलाई क्रियाशील बनाउनका निमित्त सहकार्य सुरु भएको उहाँको भनाइ छ । अविरल वर्षाका कारण देशभर बाढी, पहिरो, डुबानको समस्या उत्पन्न भएको र नागरिकको जीवन असहज भएकाले नागरिकको जीवन सहज बनाउन सरकारसँग आग्रह गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २३ असार २०८१, शनिबार  ९ : २० बजे