१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


बाढी पहिरोबाट नौ जनाको मृत्यु, पुरा विवरण आउने क्रम जारी



राजधानी उपत्यकासहित देशका विभिन्न भूभागमा अधिक वर्षा हुँदा ठुलो जनधनको क्षति भएको छ । यो क्रम शनिबार रातिदेखि पश्चिमतर्फ सर्दै गरेकाले त्यसतर्फ बाढी र पहिरोको उच्च जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार विगत २४ घण्टामा बाढी–पहिरोमा परी नौ जनाको मृत्यु भएको छ । अन्य सात जना बेपत्ता छन् । यससँगै मनसुन सुरु भएयता मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ ।

शनिबार पहिरोले पुरिएर स्याङ्जामा दुई जना, पर्वतमा दुई जना र काठमाडौँमा एक जना, काभ्रेमा दुई जना, तनहुँमा एक जना र दाङमा एक जना गरी नौ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिनुभयो । काभ्रेपलाञ्चोक जिल्लाको रोसी गाउँपालिका–११ मा खोला तर्ने व्रmममा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको हो । शनिबार साँझ भ्याकुरे खोला तर्ने व्रmममा स्थानीय ६५ वर्षीया जालमाया रुजाल मगर र उहाँकी पाँच वर्षीया भदै सेतीमाया रुजाल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

त्यस्तै तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा एक जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको र शुक्लागण्डकी नगरपालिका–१३, काउरेमा पहिरोमा पुरिएर तीन जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । काउरेका ४० वर्षीय हीरा नेपाली, ३६ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएको र खोजी जारी रहेको गौतमले बताउनुभयो ।

खोलाले बगाएर दाङमा एक जना, पर्वतमा दुई जना र दोलखामा एक जना गरी सात जना बेपत्ता रहेको प्रवक्ता कार्कीले बताउनुभयो । त्यस्तै पहिरोले तनहुँमा पुरिएर चार जना, गुल्मीमा एक जना र ओखलढुङ्गामा दुई जना गरी सात जना घाइते भएका छन् । काठमाडौँको नागार्जुनमा पहिराले रेस्टुरेन्ट पुरिँदा गोरखाका मनोज विकको मृत्यु भएको छ ।

स्याङ्जाको बिरुवा–६, लामाखेतमा ईश्वरी लम्सालको घर पुरिँदा ६५ वर्षीय गुह्येश्वरी शर्मा मरासिनी र ५८ वर्षीय हरिदेवी शर्माको मृत्यु भएको छ । ६६ वर्षीय माधव शर्मा बेपत्ता छन् । लम्साल परिवारका पाँच जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ । बाढीका कारण दाङमा दुध बेच्न गएका एक किसान र दोलखामा एक महिला बेपत्ता छन् ।

गौरीशङ्कर नगरपालिका–८ मा माथिल्लो भेगमा आएको हिउँपहिरोपछि रोल्वालिङ खोलामा आएको बाढीले आठ घर बगाएको छ । स्थानीय होटल व्यवसायी जाङ्मु शेर्पालाई बाढीले बगाएको जनाइएको छ ।

गण्डकीमा अति भारी वर्षा

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार विगत २४ घण्टामा देशभरमध्ये गण्डकी क्षेत्रमा अधिक भारी वर्षा भएको छ । महाशाखाका अनुसार सो प्रदेशको पाल्पा कुमाल गाउँमा २०२ मिलिमिटर र आसपासका क्षेत्रमा ३०० मिलिमिटर वर्षा भएको हो । लुम्बिनीको दाङमा २७१ मिलिमिटर वर्षा भएको आइतबारदेखि लुम्बिनीदेखि सुदूरपश्चिम भेगमा अति भारी वर्षाको सम्भावना रहेकाले जोखिम उच्च रहेको मौसमविद् कँडेलले औँल्याउनुभयो ।

पचासभन्दा बढी सडक बन्द

अविरल वर्षापछिको बाढी तथा पहिरोले सात प्रदेशका प्रमुख राजमार्गसहित ५० भन्दा बढी सडक अवरुद्ध बनेका छन् । बाढी पहिरोले तहसनहस पारेको सडक अवरोध हटाउँदै सम्पर्क सञ्जाल खुलाउने पहल सुरु भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिनुभयो । जोखिम बढेकाले केही दिन यात्रा नगर्न सुझावसहितको सूचना सर्वसाधारणका लागि सरकारले जारी गरेको छ । गोरखापत्र

प्रकाशित मिति : २४ असार २०८१, आइतबार  ९ : ४४ बजे