मुगुको मुगम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँमा भएको २४ घर र सार्वजनिक गुम्बा तोडफोड गरी लुटपाट गर्नेलाई प्रहरीले सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय मुगुले जेठ १२ गते राति बिष्णु बहादुर बुढासहित ७-८ जना व्यक्तिहरूको समुहले हातहतियार सहित गाउँमा गोली पड्काएर स्थानीयहरुलाई कुटपिट गर्नुका साथै डरत्रासमा राखेर लुटपाट गर्नेलाई सार्वजनिक गरेको हो ।
सोही गाउँका २४ वटा घर र एउटा गुम्बा तोडफोड गरी नगद पैसा, सुन, चाँदी, गरगहना, अन्दाजी ३५ तोला सुन, चाँदी ९९४.५ तोला, बुद्धको मुर्ति २ वटा, रिणमोक्षको मुर्ति वटा १, मुगाको माला अन्दाजी ९५ तोला, यार्सा, मोबाईल, नगद ५० लाख २५ हजार रुपैयाँ लुटपाट गरेको स्थानियहरुले प्रहरीमा जाहेरि दिएका थिए ।
घटना लगत्तै मुगु प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक प्रकाश सिंहको कमाण्डमा प्रहरी खटाएर विभिन्न ७ वटा स्थानमा अनुसन्धान सुरु गरेको थियो । उक्त अनुसन्धान र खोजतलासमा मुगु प्रहरीले जुम्ला, कालिकोट, डोल्पा र हुम्ला प्रहरीसँग समन्वय सहकार्य गरि नाकाहरुमा प्रहरी परिचालन गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार अनुसन्धानका आधारमा प्रतिवादी जुम्ला पातारासी गाउँपालिका–३ महरी गाउँका ३४ वर्षीया विष्णु बहादुर बुढा, जुम्ला गुठीचौर गाउँपालिका–३ का आक्रोश, पर्से भन्ने गणेश भण्डारी र सोही ठाउँका, पुर्ण प्रसाद भण्डारी र वडा– ४ का कमल थापाको संलग्नता रहेको छ ।उनीहरूबाट विभिन्न सामानहरु बरामद गरिएको छ ।
प्रतिक्रिया