२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गण्डकी


चार दिनदेखि अवरुद्ध बुद्धसिंह मार्ग खुल्यो



तनहुँ, असार २६ गते ।

पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गको पहिरा हटाइएको छ । तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्किने उक्त मार्गको विभिन्न ठाउँमा गएको पहिरो हटाउन सोमबार साँझदेखि काम सुरु गरिएको थियो ।

पहिराले विभिन्न ठाउँमा ठूलाठूला ढुङ्गा खसेपछि गत शनिबारदेखि उक्त मार्ग अवरुद्ध थियो ।

गण्डकी प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गर्छन् ।

गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटोदूरीको वैकल्पिक सडकका रूपमा उक्त सडकलाई लिने गरिएको छ । गण्डकी प्रदेश सरकारले उक्त सडकको दमौलीबाट व्यास –१३ को सोढेसम्म १० किलोमिटर कालोपत्रको तयारी गरे पनि काम सन्तोषजनक छैन ।

उक्त बुद्धसिंह मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्कीपुल निर्माणाधीन अवस्थामा छ । सो पुलको निर्माण सम्पन्नपश्चात बाटो छोटिन्छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्छ ।

प्रकाशित मिति : २७ असार २०८१, बुधबार  १० : ३२ बजे