पहिरोले पुरिएर कास्कीमा एकै घरका ७ सहित १० जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१९ तल्लोकोटमा पहिरो खस्दा एकै परिवारका ७ जना घरभित्रै पुरिएका हुन् । पहिरोले घर पुरिँदा ४७ वर्षीय कुलबहादुर परियार, उनकी पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र छिमेकी राधिका परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकमध्ये प्रभा चितवनबाट श्रीमान् अस्मितसँगै माइत आएकी थिइन् । छिमेकी राधिका परियारको भने पहिरोमा पुरिएकाको उद्धारमा खटिएकै क्रममा पुरिएर मृत्यु भएको हो । यस्तै, पोखरा–३२ चैनपुरमा पहिरोमै पुरिएर तीन जनाको मृत्यु भएको छ । चैनपुरस्थित आरती ओझाको घर पहिरोले पुरिँदा छोरी १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र भदाहा ९ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच, मादी गाउँपालिका वडा नम्बर ११ तल्लो साप्लेमा पहिरोमा पुरिएर ८० वर्षीया माइती कुमारी गुरुङ बेपत्ता भएकी छिन् ।
प्रतिक्रिया