३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


आज प्रधानमन्त्री ओली सहित अन्य मन्त्रीहरूले सपथ लिदै



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । राष्ट्रपति भवन शीतल निवासमा बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई शपथ ग्रहण गराउने तय भएको छ ।

राष्ट्रपति पौडेलले आइतबार अपराह्न ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट शुक्रबार पदमुक्त भएपछि राष्ट्रपति पौडेलले शुक्रबार नै नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाउँदै प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

शुक्रबार राती नै एमाले अध्यक्ष ओलीले सबैभन्दा ठूलो दल कांग्रेसको समर्थन सहित प्रधानमन्त्रीमा दाबी गर्नुभएको थियो । राष्ट्रपतिले दिएको समयसीमा आइतबारसम्म रहेकाले ओली दाबी पेस गरेको दुई दिनपछि प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

आज ओलीको शपथसँगै अन्य मन्त्रीहरूको पनि सपथ गराउने तयारी छ । एमालेले अर्थ, रक्षा, भौतिक, पूर्वाधार तथा यातायात र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लिने सहमति भएको छ ।

यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय एमालेले पाएको छ । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्रालय पाएको छ ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन, न्याय तथा संसदीय मामिला पनि कांग्रेसले पाएको छ ।

प्रकाशित मिति : ३२ असार २०८१, सोमबार  ९ : २६ बजे