के वेदमा ब्राह्मण मुखबाट र शूद्र पाउबाट पैदा हुन्छन् भनिएको छ ? वेद हिन्दु धर्मको सर्वोच्च शास्त्र हो, त्यसैलाई पुनर्लेखन गर्न त सकिन्न, त्यसैले के छुवाछूत वेद रहुञ्जेल रहन्छ त ?
यस विषयमा चासो नहुनेहरूका लागि यो लेख समयको बर्बादी मात्रै हुनेछ । चासो हुनेहरूका लागि लामो समयदेखि चर्चामा रहेका यिनै प्रश्नमाथि सङ्क्षिप्त प्रकाश पार्ने कोसिस हुनेछ ।
हो, वेदमा ब्राह्मण मुखबाट र शूद्र पाउबाट पैदा भएको भनेर लेखिएको छ । ऋग्वेददेखि यजुर्वेदसम्म पाइने अनि दैनिक कर्मकाण्डमा प्रयोग हुने वेदको ऋचामा स्पष्ट रूपमा यो उल्लेख छ । तर त्यहाँ छुवाछूतको न गन्ध छ न जड़ नै !
हिन्दु धर्म या धार्मिक समुदायभित्र विभेद छैन, छुवाछूत छैन भन्ने दाबी गर्न यो लेख लेखिएको होइन । त्यहाँ छोइने गरी विभेद छ, विभेदका अनेक स्वरूप र तह छन्, छुवाछूत छ, विकृति छन् !
तर यसको जड़का रूपमा प्रायः संस्कृत नपढेका लेखकले उद्धरण गर्ने वेदको त्यो ऋचासँग छुवाछूतको कुनै सम्बन्ध छैन । उल्टो त्यसले विभेद र छुवाछूतको विरोधमा बलियो आधार दिएको छ । वेदको जुन ऋचा, मन्त्र या श्लोकले छुवाछूतलाई अधार्मिक, असत्य र अन्यायपूर्ण साबित गर्न सक्छ, जसलाई आधार बनाएर धार्मिक समुदायभित्र रहेको अस्पृश्यतालाई ‘च्यालेन्ज’ गर्न सकिन्छ, त्यही श्लोकलाई छुवाछूतको मूल भनेर गरिँदै आएको तर्कबारे पुनर्विचार गर्नु यो लेखको उद्देश्य रहेको छ ।
हिन्दू धर्म एउटा ईश्वर, एउटा विचार या एउटा केन्द्र भएको धर्म नभएकाले शास्त्र र साहित्य धेरै छन् । त्यसभित्र तहगत रूपमा वेद सबैभन्दा माथि र अन्तिम प्रमाण मानिन्छ । यद्यपि गीतासम्म आउँदा भगवान् कृष्णले ‘निस्त्रैगुण्यो भवार्जुन !’ भन्दै वेदबाट पनि माथि उठेर योगी बन्ने सुझाव अर्जुनलाई दिनुभएको छ । ‘समत्वम् योग उच्यते’ भनेर भेदरहित समत्व नै योग भएको स्पष्ट रूपमा त्यहाँ उल्लेख नै छ ।
हाम्रो प्रसङ्ग भने वेदको हो !
पहिले त्यही श्लोक हेरौँ । वेदमा श्लोकलाई मन्त्र या ऋचा भनिन्छ । त्यसको समूहलाई सूक्त भनिन्छ ।
त्यो ऋचा यस प्रकार छ:
“ब्राह्मण: अस्य मुखम् आसीत् बाहू राजन्य: कृत:
ऊरू तदस्य यद्वैश्य: पद्भ्याम् शूद्र: अजायत !
परमात्माको मुखबाट ब्राह्मण, बाहुबाट क्षत्रीय, जाँघबाट वैश्य र पाउबाट शूद्र पैदा भए भन्ने यो श्लोकको शाब्दिक अर्थ हो । झट्ट हेर्दा विभेद जस्तो देखियो नै ! तर यसलाई बुझ्न यो ऋचाको प्रसङ्ग अर्थात् सिङ्गो सूक्त (मन्त्रसमूह) बुझ्नपर्छ । वेदमा ऋषिहरूको पूर्ण वाक्यका रूपमा सूक्तलाई लिइएकाले एउटामात्रै श्लोकको अर्थले वाक्य पूरा हुँदैन ।
यो वेदको “पुरुषसूक्त”भित्र रहेको श्लोक हो । त्यो सूक्तमा यो सृष्टि र ईश्वरबारे प्रश्नर-उत्तर रहेको छ । यो सारा ब्रह्माण्डको सृष्टि ईश्वर अर्थात् विराट् पुरुषबाट भएको र यो सिङ्गो सृष्टि उसैको विस्तार भएको वर्णन त्यो सूक्तमा छ ।
“सहस्र शीर्षा पुरुष: सहस्राक्ष: सहस्रपात्…” यो उक्त सूक्तको पहिलो श्लोक हो । जसले त्यो ईश्वरको स्वरूपबारे वर्णन गरेको छ । हजारौँ शीर, हजारौँ आँखा र पाउ भएको विराट् पुरुषबाटै यो दृश्य-अदृश्य ब्रह्माण्ड जन्मिएको हो ! यहाँ जन्मको अर्थ सृष्टि भन्ने देखिन्छ । उक्त सूक्तमा मान्छे (चारै वर्ण) भगवान्बाटै जन्मिएको भनिसकेपछि चन्द्रमा मनबाट, नाभिबाट अन्तरिक्ष, सूर्य आँखाबाट, कानबाट वायु र मुखबाट अग्नि र पाउबाट भूमि (पृथिवी) जन्मिएको भन्ने थप श्लोक छन् । अर्थात् त्यो ऋचा एक्लो होइन । शरीरका अन्य अङ्गबाट के के उत्पत्ति भए भन्ने लामो प्रसङ्ग छ । तर ती सबै ऋचाको तात्त्विक अर्थ यो सबै ब्रह्म तत्त्वको विस्तार (आजको बिग ब्याङ् थ्योरी जस्तै) हो भन्ने हो । त्यो वैदिक विराट् पुरुष या आदिपुरुष नै पछि शिव र विष्णुका नाममा प्रचलित भई सम्प्रदायमा बाँडिएको हो ।
ब्राह्मण-क्षत्रीय-वैश्य र शूद्रको वर्ण-व्यवस्था वैदिक समाजमा पनि थियो भन्ने जानकारी यहाँबाट हुन्छ । तर यो व्यवस्था त्यतिन्जेल कर्ममा आधारित थियो भन्ने सङ्केत मिल्छ । जसमा छुवाछूतको गन्ध मिसिएको थिएन ।
अब मुखबाट ब्राह्मण जन्मिएकोले पूज्य र शूद्र पाउबाट जन्मिएकोले हेय भएको भन्ने तर्कलाई हेरौँ । एक त यो सिङ्गो सृष्टि भगवान् कै अङ्ग भन्ने अर्थमा आएको हो । दोस्रो, भूमि पनि पाउबाट पैदा भएको भनिएको छ जुन पूज्य छ । फेरि यो पाउ त्यो विराट् पुरुषको हो, ईश्वरको हो, मान्छेको होइन । त्यो आदिपुरुषको कुनै अङ्ग विशेष बढ़ी महत्त्वको भएको र कुनै अङ्ग कम महत्त्वको भएको कल्पना, सङ्केत या धारणा कतै भेटिन्न । खासमा यो श्लोक र प्रसङ्ग नै कुनै पनि प्राणी या वस्तु ईश्वरभन्दा भिन्न छैनन् भन्ने देखाउन प्रयोग भएको छ नकि तिनको मान्यताक्रम देखाउन ।
हाम्रा हरेक पूजामा यही पुरुषसूक्तको प्रयोग हुन्छ । र, भगवान्को पहिलो पूजा पाउकै हुन्छ । मुख, घुँडाको पूजा त कुनै कुनै पूजामा प्रसङ्गवश हुन्छ, तर हरेक पूजामा पाउ (पाद्य), र हात (अर्घ्य) को अनिवार्य पूजा हुन्छ । भगवान्लाई ढोग्ने पनि पाउमैँ हो, मुखमा होइन । मुख त भगवान्कै पनि बरु कतै चोखो मानिन्न । गाईको मुख जुठो मानिन्छ । अब भगवान्को पाउ अस्पृश्य भन्न त मिलेन । रामायणमा भरतले मुख पुछ्ने रूमाल होइन,पाउको खडाउ मागेर त्यसको पूजा गरेको वर्णन नै छ । पूजापछि भगवान्को पाउ धोएको जल (चरणामृत ) पिउने गरिन्छ ।
मान्छे जुन वर्णको भए पनि सबै भगवान्का अङ्गबाट पैदा भएको त्यसको अर्थ हो । यो त समताका लागि दिनुपर्ने दृष्टान्त पो हो । स्मरण रहोस् पूजा गर्नुभयो भने आज पनि पूजन हुने भगवान् को पाउ नै हो भने त्यो अस्पृश्य कसरी हुन्छ ? काखीको फोहोरबाट जन्मिएको भनिने गणेश अस्पृश्य छन् ?
भगवान्को लिङ्ग त पूज्य छ, रौँदेखि गुदद्वारसम्म खसेका शक्तिपीठ त पूज्य छन् भने सदैव पूजा हुने पाउबाट जन्मेको भनिएको शूद्र कसरी अस्पृश्य हुन्छ ? भगवान् अस्पृश्य छैनन् भने भगवान्कै अंश शूद्र कसरी अस्पृश्य हुन्छ ? त्यही पाउबाट उत्पन्न भएको भूमि अस्पृश्य छैन भने मान्छे कसरी हुन्छ ? भूमिसँगै जन्मिएकाले बरु शूद्र भूमिमाथि झन् बढ़ी उत्तराधिकारी भएन र ?
जसले शूद्रलाई अस्पृश्य मानेर विभेद गरिरहेका छन् तिनले कानुनी अपराधमात्रै होइन भगवान्कै अंशलाई विभेद गरेर अधार्मिक, अमानवीय र अशास्त्रीय कामसमेत गरेका छन् । दैनिक पढ्ने यो मन्त्रले नै सबैलाई दाजुभाइ भनेको छ, परमात्माको अंश भनेको छ भने त्यही अंशलाई अपमान गर्नु त परमात्माको अपमान हो नि ! तपाईंले मन्त्र पढेको, वेद पढेको के काम ?
अनि समताको लक्ष्य हासिल गर्न हतियार बन्न सक्ने यही मन्त्रको असंलग्न अर्थ लगाएर उल्टो विभेदको स्रोतका रूपमा व्याख्या गर्ने हो भने त धार्मिक समुदायबाट कसरी विभेद हटाउन सकिएला ? किनकि कानुन जेजस्तो बनाए पनि कुरानमा लेखेको कुरा मुस्लिमलाई, बाइबलमा लेखेको कुरा क्रिश्चियनलाई र वेदमा लेखेको कुरा हिन्दुलाई अन्तिम सत्य लाग्नु स्वाभाविक हो !
भएको ठाउँबाट विभेद हटाउने हो । नभएको ठाउँमा समेत हो भनेर थप्ने होइन । धर्मशास्त्रभित्र विभेद र छुवाछूत छैन भन्ने दाबी पनि गलत हो । त्यो आकाशबाट टपक्क टप्किएको होइन । हाम्रै रचना हो, सिर्जना हो । वेदपछिका स्मृतिग्रन्थ र अन्य पौराणिक ग्रन्थसम्म आइपुग्दा विभेदका बाछिटा प्रशस्तै पाइन्छन् । विभेदको मुख्य केन्द्र हाम्रो संस्कार पनि हो । जातीय विभेद मात्रै होइन, विभिन्न तह र स्वरूपमा एउटै जात या लिङ्गभित्र पनि अनेक विभेद अद्यापि विद्यमान् छन् । विभेद र छुवाछूत कति जेलिएको र गहिरो छ भने यो दलित-दलित या दलित-गैरदलितबीच मात्रै नभई ब्राह्मण-ब्राह्मणबीच पनि विद्यमान् छ !
तर, हिन्दू धर्मभित्र शास्त्रका रूपमा वेद अन्तिम मानिए पनि भिन्न समास गर्दै वेदभन्दा पर वेदान्त रहेको मानिन्छ । कर्मकाण्ड, भजनकीर्तन, शरीर र पूजाआजा वेदका कुरा भए, त्यसभन्दा पर वेदान्त अर्थात् दर्शनशास्त्र (विचार) छ । हिन्दू दर्शनशास्त्र विश्वकै गहिरो दर्शनशास्त्र पनि मानिन्छ । त्यसमा भने कुनै पनि विभेदलाई निषेध गर्दै समताको सम्बर्धन गरिएको छ । जीवनका चार आश्रम (खण्ड) मध्ये पछिल्लो खण्ड सन्यास हो र त्यहाँ वेदको नभई वेदान्तको चर्चा हुन्छ । उदाहरणका लागि गीता एउटा दार्शनिक ग्रन्थ हो । गीताजस्ता ग्रन्थ या शास्त्रमा वैचारिक बहस भएकाले विभेदको पूर्णतः निषेध गरेर समतासम्म पुऱ्याउने प्रयास भएको देखिन्छ । शास्त्रको प्रामाणिकता र कथाहरू छुट्याउन र सुधारको आन्दोलन शुरू गर्न पनि केही दलितले आफै शास्त्र पढ्नु जरूरी छ ।
निष्कर्षमा हामीकहाँ अझै पनि विभेदको ठूलो खाड़ल छ । विभेदको मूल जड़ हाम्रै धार्मिक संस्कार र कतिपय ग्रन्थ हुन् । तर हाम्रै कति धेरै ग्रन्थहरूले विश्वबन्धुत्व अर्थात् विश्वभरका मानवलाई दाजुभाइ मान्न पनि सिकाएका छन् । समताको स्थितिमा पुग्न सुझाएका छन् । कुनै पनि छुवाछूत या अपमानविरुद्ध हाम्रा शास्त्रमा सयौं निर्देश, शिक्षा र सूत्र छन् । महिलाप्रति विभेदका उदाहरण पनि हाम्रा केही शास्त्र र कथाहरूमा भेट्न सकिन्छ भने हाम्रै शास्त्रहरू हुन् जसले पुंलिङ्गी ईश्वर मात्रै नमानेर देवीका रूपमा समान शक्तिशाली ईश्वरीय रूपको कल्पना गरेको छ । कन्यादेखि नारी शक्तिसम्मलाई पूज्य मानेको छ । अझ तेस्रो लिङ्गको पनि प्रतिनिधित्व हुने गरी अर्द्धनारीश्वरको कल्पना भएको छ ।
धर्म नमान्नेहरूले मानवता र कानुनी आधारमा विभेदविरुद्ध लड्न सकिन्छ भने धर्म मान्नेहरूले पनि त्यहाँबाटै रिफरेन्स लिएर यो अमानवीय विभेदविरुद्ध लड्न सकिने अवस्था छ । हाम्रो धार्मिक प्रमाण वेद हो र वेदले नै सबैलाई ईश्वरीय अंश मानेको छ ।
जसरी लड़े पनि हाम्रो गन्तव्य समता नै हो । हामी सबै बन्धु हौँ, ईश्वरका सन्तान हौँ, दाजुभाइ हौँ ! ऋग्वेद नै भन्छ:
“सं गच्छध्वं सं वदध्वं सं वो मनांसि जानताम् !”
हामी सँगै हिडौँ, हाम्रो बोली एउटै होस् र हाम्रो मन एक होस् !
अझ गीतामा भगवान् वचन नै छ:
यो मां पश्यति सर्वत्र सर्वञ्च मयि पश्यति ।
तस्याहं न प्रणश्यामि स च मे न प्रणश्यति !
अर्थात्, जसले (सर्वभूतेषु) सबै प्राणीमा मलाई देख्छ र ममा सबै देख्छ (विभेद दृष्टि राख्दैन) ऊ र ईश्वरबीच कुनै दूरी छैन ।
चण्डीको मन्त्र पनि यही छ:
या देवी सर्वभूतेषु चेतनेत्यभिधीयते
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः !
सबै प्राणीमा ‘चेतना’रूपमा रहेकी देवीलाई नमस्कार छ !
यति पढ्नुभएकोमा ईश्वरकै अंश तपाईंलाई पनि नमस्कार छ !
By Narayan Gaulne
३० श्रावण २०८१, बुधबार
4
Shares
प्रतिक्रिया