६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


महामन्त्री थापाको प्रस्ताव पारित : कांग्रेस एक्लै निर्वाचन लड्ने



काठमाडौं, भदौ १६ गते । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले पार्टीलाई बलियो बनाइ एक्लै निर्वाचन जित्नसक्ने अवस्थामा पुर्‍याउने निर्णय गरेको छ ।

आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीलाई बलियो बनाउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले राख्नुभएको, नीतिगत, सांगठनिक र समयसामयिक प्रस्ताव उपर छलफल भएको बताए।

उहाँले महामन्त्री थापाले निर्वाचनअघि गठबन्धन गर्न नहुने प्रस्ताव छलफल भई सोही दिशामा अघि बढ्ने निर्णय भएको बताए । प्रवक्ता डा. महतले काँग्रेसको संगठनलाई चुस्त, दुरुस्त रुपमा गाउँगाउँमा पुर्‍याउने, संगठनको अभियानलाई अगाडि बढाउने सम्बन्धमा निर्णय भएको जानकारी दिए।

त्यस्तै, चुनावअघिको गठबन्धनबारे पार्टीलाई केन्द्रबिन्दुमा राखेर पार्टीलाई बलियो बनाउने, एकीकृत गर्ने निर्णय भएको बताए । प्रवक्ता महतले भने, ‘गठबन्धनका सम्बन्धमा पनि जुन प्रस्ताव महामन्त्रीको प्रस्तावमा आएको थियो । अहिलेको परिवेशमा सबै कुरालाई मध्यनजर गरी पार्टीलाई नै केन्द्रबिन्दुमा राखेर पार्टीलाई बलियो बनाउने, एकीकृत गर्ने र पार्टी संगठनलाई बलियो बनाएर एक्लै जित्नसक्ने परिस्थिति निर्माण गर्ने भन्नेतिर नै निर्णय केन्द्रित भएको छ ।’’

महामन्त्री शर्माले एक पटक मात्रै राष्ट्रपति, दुई पटक मात्रै प्रधानमन्त्री, मन्त्री तीन पटक मात्रै मन्त्री र चार पटक मात्रै सांसद बन्ने व्यवस्था गर्न प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ११ : ११ बजे