२१ चैत्र २०८१, शुक्रबार | Fri Apr 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला/साहित्य


मेरो सम्झनामा तिज…



पर्वत फलेवास क्षेत्रमा, उहिल्यैका तीजका दिनको सम्झना ।
तीजको बेला विवाहित छोरी, दिदीबहिनी, फुपू र चेलीहरुलाई उनीहरूको घरमै पुगेर लिन जाने चलन थियो ।
तीज र दर खाने दिनमा महिलाहरुलाई फुर्सद दिन पुरुषहरुले उनीहरुको कामको जिम्मा लिएर साथ र सहयोग गर्थे ।
दरखाने दिन विहान सामान्य भोजन नै हुन्थ्यो ।
दिउँसो भने घिउ राखेर पकाएको अनदीको लट्टे हुन्थ्यो । अनदी उपलब्ध नभए झिनुवा वा सुगन्ध फैलिने वास्मती प्रजातिको चामलको भात टन्न घिउ राखेर पकाउने चलन थियो । तरकारीहरुमा घिरौला, तामालगायत सिर्जनका तरकारी र कुनै गेडागुडी वा दाल हुन्थ्यो । दहि अनिवार्य हुन्थ्यो । आलु–केराउ, करेला, काक्रोको अचार हुन्थ्यो तर बासको ताजा तामा पनि अनिवार्य जस्तै मानिन्थ्यो ।
बेलुकी भने कतै स्वादिलो खिर पाक्थ्यो कसैको घरमा भने खट्टे (चामल घिउमा भुटेर, दुधमा पकाउने र चिनि र नरिवल छोकडा मरिच आदि मसला राख्ने) अहिले ढकनी भन्छन क्यारे तयार हुन्थ्यो ।
भोलीपल्ट व्रत बस्ने हुँदा महिला सदस्यलाई बेलुकी केही अबेलासम्म खाना खान हौसला दिने चलन थियो ।
खाना श्रीमद्वागवतागितामा श्रीकृष्णले उल्लेख गरेझै पूर्ण सात्विक भोजन हुन्थ्यो ।
(माछामासु, मदिरा र पत्रु खानाको त कल्पनै थिएन) खानपानको कुरा मिलाए पछि वल्लोपल्ल्लो घरका महिलाहरु जम्मा भएर सुखसुखका र केही नयाँ घटनाका गीतहरु गाउथे र नाच्थे । पढेलेखेका दिदीबहिनीहरुले यिसँगै विकास निर्माण र चेतना फैलाउने गीतहरु सभ्य र शालिन शब्दको प्रयोग गर्दै गाउथे । पुरुषहरु दर्शक हुन्थे ।
तीजको दिनमा त गाउँको स्कूल, मन्दिर, सार्वजनिक ठाउँ र चौतारी बसेर नाचगान गर्दै रमाइलो गर्ने चलन थियो ।
तीजको बेला फलफुलमा प्राय गाउँ मै उपलब्ध हुने केरा, अम्बा र रुखकटहर आदि हुन्थ्यो । बजारिया फलफुल र मिठाईको चलनचल्ति नै थिएन । बरु दुध प्रशस्त हुने घरमा कुराउनी पकाउने चलन थियो । (सायद दिदीबहिनी र फुपूहरुको कोशेली होला)
कति लेख्नु ? यस्ता अनगिन्ती सम्झना आइरहन्छन्
सम्पुर्ण महिलाहरुलाई तीजको हार्दिक शुभकामना …
निकण्ठ शर्मा पर्वत फलेवास ५, हाल काठमाडौं

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  ११ : ५८ बजे