२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यक : प्रचण्ड



काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतहरू भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध संघर्ष गर्नुपर्ने स्थिति आएको बताए।

क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै कसर भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरूले नै बढी क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेको बताए । ‘हामीले गरेको परिवर्तनकारी र बलिदानीपूर्ण जनयुद्धलाई संविधानमा जनताको सशस्त्र संघर्ष र त्यसको व्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौं,’उनले भने,‘तर, जसको मुख्य कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो,त्यही व्यवस्थामा बसेर जनयुद्धलाई नै अपमान गर्ने काम भइरहेको छ । त्यसका विरुद्ध संघर्षको संकल्प गर्नुको नै सहिदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।’

आफूहरू शान्ति प्रक्रियामा सहभागी हुनुअघि नै क्रान्ति भिन्न रुपमा जारी रहने बताएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने,‘हामीले जनयुद्धमा हुँदा र १२ बुँदे समझदारी गर्दा नै भनेका थियौं– गणतन्त्र त अब आउँछ नै, तर यसलाई दलाल पूँजीपति र नोकरशाहीहरूले आफ्नो विशेषताको बुर्जुवा गणतन्त्र बनाउने प्रयास गर्नेछन् भने हामीले जनताको गणतन्त्र बनाउने कोशिस गर्नेछौं । त्यहाँनेर गएर फेरि अर्को संघर्ष हुन्छ भनेका थियौं,अब राजनीतिक त्यतै जाँदैछ । दलाल पूँजीपति र नोकरशाहीहरूसँग संघर्ष सुरू भएको छ । जनतालाई साथमा लिएर फेरि एउटा संघर्ष अघि बढाउनैपर्छ ।’

जनयुद्ध सुरु हुनअघि भएको रामवृक्ष यादवको बलिदानले देशभरिका युवालाई क्रान्तिमा लाग्न उत्प्रेरित गरेको र त्यसपछिका सबै सहादतहरूले क्रान्तिकारीहरूलाई प्रतिशोधको भावनासहित अघि बढाउन सहयोग गरेको पनि उनले बताए।

सुरेश वाग्ले पार्टी जिम्मेवारीको हिसाबले सबैभन्दा माथिल्लो तहमा भएको अत्यन्त सचेत,योग्य र लोकप्रिय शिक्षकको रुपमा पनि स्थापित व्यक्तित्व भएको उल्लेख गर्दै उनले वाग्लेको सहादतपछि पार्टीलाई ठूलो क्षति भए पनि सिंगो पार्टीपंक्तिमा बलिदानी भाव पनि त्यहीअनुसार उच्चस्तरबाट वृद्धि भएको बताए ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ११ : ०२ बजे