४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सत्तासिन दलबिच संविधान संशोधनका लागि साझा धारणा बनाउनेबारे छलफल



काठमाडौँ, भदौ २५ गते । सत्ता साझेदार पाँच दलका शीर्ष नेताको बैठकले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच भएको सातबुँदे सहमतिको मर्म अनुसार सत्तासीन दलको मुद्दा समेटेर न्यूनतम साझा कार्यक्रम ल्याउने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सम्पन्न सत्तारूढ दलको बैठकमा सातबुँदे समझदारीका आधारमा सरकार सञ्चालन गर्ने प्रतिबद्धता अनुसार न्यूनतम साझा कार्यक्रम ल्याउने कांग्रेस–एमालेका शीर्ष नेताबिचको सहमतिका सन्दर्भमा सबै दलको एकीकृत धारणा बनाउन छलफल भएको हो ।

कांग्रेस संसदीय दलका मुख्य सचेतक श्यामकुमार घिमिरे र एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश गर्ने विषय, संविधान संशोधन, सरकार सञ्चालन र संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताएका छन् ।

नेता घिमिरेले सातबुँदेलाई नै आधार बनाएर सरकार सञ्चालनको विधिसँगै सबै दलको सहमतिमा न्यूनतम साझा कार्यक्रम आउने प्रस्ट पारे। उनले भने, “सातबुँदे सहमतिका आधारमा सरकार बनेको छ । मुख्यतः तिनै सात बुँदाका आधारमा सरकार सञ्चालन हुन्छ । सरकारको न्यूनतम साझा कार्यक्रम पनि त्यही आधारमा चाँडै आउँछ ।”

नेता बर्तौलाले न्यूनतम साझा कार्यक्रम नियमित छलफलका माध्यमबाट सबै दलका साझा भावना एकीकृत गरेर एकीकृत दृष्टिकोणका साथ आउने बताए ।

मुख्य सचेतक घिमिरेले संविधान संशोधनका सन्दर्भमा कांग्रेस–एमालेको धारणा स्पष्ट पार्दै अन्य दलको सहमति जुटाउन पहल गर्ने बताए । उनले भने, “संविधान संशोधनको विषय त्यति सजिलो विषय होइन, जटिल प्रकृतिको विषय हो । यो विषयमा सबैको साझा सहमति जुट्ने गरी, संविधानका कुन कुन विषयवस्तु संशोधनमा लैजाने भन्ने कुरा छ ।”

उनले शतप्रतिशत सहमति नभए पनि बढीभन्दा बढी दलको सहमति जुटाउने र यसमा दलीय सहमतिसँगै जनताले स्वीकृति दिने गरी संविधान संशोधनका एजेन्डा अघि बढाउने विषयमा छलफल भएको बताए।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ११ : १२ बजे