२६ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


माक्र्सवादी ज्ञान केन्द्रको चौथो साधारण सभा सम्पन्न



माक्र्सवादी ज्ञान केन्द्रको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षतामा शनिबार काठमाडौंमा उपलब्ध ज्ञान केन्द्रका आजीवन सदस्यहरू काठमाडौंमा र काठमाडौं बाहिर रहेका सदस्यहरू भर्चुअल माध्यमबाट एकसाथ भेला भई साधारण सभा सम्पन्न भएको हो। सभाले पुनः तिमिल्सिनाको अध्यक्षतामा १७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ।

ज्ञान केन्द्रको वरिष्ठ उपाध्यक्षमा इन्द्रराज भट्टराई, उपाध्यक्षमा रेशमकुमार अधिकारी, महासचिवमा हुमनाथ न्यौपाने ‘सुदीप’, उपमहासचिवमा दुस्यान्त भट्टराई, सचिवमा सागर अधिकारी र कोषाध्यक्षमा राधिका ओझालाई चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा भीमप्रसाद सुवेदी, भूपनारायण यादव, त्रिविक्रम ज्ञवाली, सीता कडरिया, टीका ओली, डा. शंकर खतिवडा, आस्था घिमिरे, राजुराम सार्की भुल, मीनादेवी नेपाल र लक्ष्मण गुरुङ चयन भएका छन्। त्यस्तै सभाले ज्ञान केन्द्रका विभाग प्रमुख र प्रदेश अध्यक्ष समेत चयन गरेको छ। कोशीमा सीता कडरिया, मधेशमा भूपनारायण यादव, बागमतीमा सागर अधिकारी, गण्डकीमा भीम सुवेदी, लुम्बिनीमा गेहेन्द्र ढकाल, कर्णालीमा जयशंकर धिताल र सुदूरपश्चिममा राजुराम सार्की भुल प्रदेश अध्यक्षमा चयन भएका छन्।

अध्यक्ष तिमिल्सिनाले ज्ञान केन्द्रले वैचारिक कामलाई अझ सशक्त ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाए। नयाँ कार्यसमितिले माक्र्सवादी विचार निर्माणमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास दिलाए। तिमिल्सिनाले माक्र्सवादी ज्ञान केन्द्रप्रतिको अपेक्षा र भरोसालाई मर्न नदिने प्रतिबद्धता जनाए।

भेलामा पूर्व मन्त्रि एवं नेकपा (माओवादी केन्द्र)का नेतृ रेखा शर्माले कम्युनिस्ट राजनीतिक दलहरूले नयाँ पुस्तालाई गहिरो ढंगले राजनीतिकरण गर्न नसकेको र माक्र्सवादी दर्शन र वैचारिक रूपमा उभ्याउन नसकिरहेको अवस्थामा माक्र्सवादी ज्ञान केन्द्रको प्रयास निकै सह्रानीय रहेको बताएकी छन्। माक्र्सवादी विचार, राजनीति, संस्कार, संस्कृतिप्रति आस्थावान् व्यक्तिहरूलाई जोडेर अगाडि बढिरहेकोमा उनले खुसी व्यक्त गरिन्।

‘माक्र्सवादको लक्ष्य हासिल गर्न विचार निर्माण आवश्यक छ। मानिसहरूलाई सचेत बनाउनुपर्नेछ। कम्युनिस्ट आदर्श र दर्शन अनुकूल आचरण र व्यवहार सञ्चालनको विषयमा सचेत गराउनुपर्नेछ,’ उनले भनिन्, ‘विज्ञानप्रविधिको विकाश र बदलिँदो परिस्थिति अनुसारको माक्र्सवाद कस्तो हुने र कसरी ग्रहण गर्ने भन्ने विषयमा एउटा निष्कर्ष निकाल्नु पर्नेछ। यसतर्फ तपाईँहरूको प्रयासहरू केन्द्रित हुने र सफलता हासिल गर्नुहुनेछ भन्ने विश्वास लिएकी छु।’

भेलामा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता प्रमेश हमालले माक्र्सवाद निरन्तर विकास हुँदै गएको सामाजिक विज्ञान भएकोले माक्र्सवादी दर्शनबारे सिकाइको प्रक्रियालाई अझ परिपक्व बनाएर लैजानुपर्ने बताएका छन्। सिकाइको कुरामा नयाँ पुस्तासँग आफूहरूमा निराशा रहेको उल्लेख गर्दै उनले मुलुकमा सर्वहारा वर्गको हकहितलाई स्थापित गर्न र नेपाली विशेषताको समाजवाद निर्माण गर्न माक्र्सवादको अध्ययन गर्न जरुरी रहेको बताए। नेपाल अनुकूलको समाजवादी कार्यक्रमको ढाँचा निर्माणनिम्ति रणनीति तयार गर्ने दिशामा छलफल र बहसलाई केन्द्रित गर्नुपर्ने आवश्यकता उनले औँल्याए।

‘माक्र्सवादी विचार भाववादी मात्र होइन। माक्र्सवादीहरू व्यवहारवादी हुन्छन्। उनीहरू प्रयोगबाट निष्कर्षमा पुग्छन्,’ उनले भने, ‘माक्र्सवादी दर्शन र आदर्श अनुरूपको समाज रूपान्तरणको कुरा कुनै भाववादी होइन। बस्तुवादी कुरा हो। समाजवाद रूपान्तरण कुनै काल्पनिक कुरा होइन। यो वास्तविक कुरा हो। त्यस कारण हामीले समाजवादी कार्यदिशा र कार्यक्रमलाई समृद्ध बनाउनुपर्छ। नेपाली विशेषताको समाजवाद निर्माण गर्न अझ बढी काम गर्नुपर्छ।’ माक्र्सवाद सिक्ने र प्रयोग गर्ने विषयमा नयाँ पुस्ता अग्रसर हुनुपर्नेमा नेता हमालले जोड दिए। उनले नेपालमा वामपन्थी दलहरुबीच एकता आवश्यक भएपनि तत्काल सम्भव नरहेको बताए। उनले विचार र कार्यक्रममा एकरूपता कायम गर्दै एकताको पक्षमा परिस्थिति विकसित गर्दै लैजानुपर्नेमा जोड दिए। माक्र्सवादी दर्शन र विचार निर्माणमा माक्र्सवादी ज्ञान केन्द्रको प्रयास अर्थपूर्ण रहेको भन्दै उनले त्यसलाई अझ गहिरो गरी अगाडि बढाउन शुभकामना दिए।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  १२ : २४ बजे