२५ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अन्य


काठमाडौं म्याराथनको १६ औं संस्करण असोज १२ गते, ट्राफिक व्यवस्थापन मुख्य चुनौती



काठमाडौं । काठमाडौं म्याराथनको १६ औं संस्करण यही असोज १२ गते हुने भएको छ । यसमा १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल ३ हजारभन्दा बढीको सहभागिता रहनेछ ।

म्याराथनमा १ सय ७० जनाले सहभागिताका लागि नाम दर्ता गरिसकेका छन् । त्यस्तै हाफ म्याराथनका लागि ५ सय ५० ले नाम दर्ता गराएका छन् ।

सरकारी र निजी गरेर ६० भन्दा बढी विद्यालयका छात्रछात्राले पाँच किलोमिटर दौड र तीन किलोमिटर खुल्ला दौडमा सहभागिता जनाउने छन् । फेमिली रनमा १९ परिवारको सहभागिता रहनेछ ।

दौडमा चार सय भन्दा बढी स्वंयसेवक तथा टेक्निकल अफिसियलको सहभागिता रहनेछ ।

काठमाडौं म्याराथनका मुख्य आयोजक निलेन्द्रराज श्रेष्ठले दौडका बेला ट्राफिक व्यवस्थापन सबैभन्दा ठूलो चुनौती रहेको बताए । उनले दौडका बेला ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको पनि बनाए ।

उनका अनुसार दौडका लागि बाटोको एक भागलाई बन्द गर्ने तथा धावक/धाविकको पूर्ण सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सबै प्रयास गरिने बताए ।

उनले भने, ‘मलाई पूरा विश्वास छ, ट्राफिक व्यवस्थापन निकायले दौडका बेला चाहिने सबै जिम्मेवारी गम्भीर भएर पूरा गर्नेछ र खेल सहरका रूपमा काठमाडौंको छवि कायम राख्न मद्दत पुग्नेछ ।’

म्याराथन र हाफ म्याराथनको दौड त्रिपुरेश्वरबाट बिहान ठीक ५ः१० बजे सुरु हुनेछ । आयोजकले दौडका बेला प्रयोग हुने रुटमा त्यस दिन पाँच घण्टाका लागि सकेसम्म सवारी साधन नचलाइदिन पनि चालकलाई अनुुरोध गरेको छ ।

उनले सटिक ट्राफिक व्यवस्थापनले खेलाडीलाई मात्र सजिलो हुने नभएर सहरको छवि ब्रान्डिङ तथा पर्यटन विकासमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ११ : १२ बजे