पर्वतमा ३० वर्ष अघिदेखि सामाजिक किसानलाई उद्यमी बनाउने अभियानमा लाग्नुभएका पूर्व सांसद् तथा सामाजिक अभियान्ता ऋषिकेश तिवारी पर्वतका उद्यमीसंग निरन्तर छलफलमा जुट्नु भएको छ । शनिबार पर्वतको कुश्मा बजारमा फ्रन्टलाइन नेपालद्वारा आयोजित पर्वतमा उद्यमशीलताको अवस्था र स्थानीय उद्यम प्रवर्द्धनका लागि युवाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अभियान्ता तिवारीले स्थानीय उत्पादन प्रवर्द्धन अभियानलाई सफल बनाएमा मात्र रोजगारीका साथै उद्यमशीलताको विकास गर्न सकिने धारणा राख्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जिल्लाकै अग्रज सामाजिक उद्यमशीलता विकासका अभियान्ता तिवारीले पर्वत जिल्ला उद्यम विकासका हिसाबले धेरै संभावना भएको जिल्ला भए पनि त्यसको यथेष्ट उजागर र सदुपयोग हुनमा कमीकमजोरी हुन पुगेको धारणा व्यक्त गर्नु भयो। उहाँले हाम्रो राजनीतिले हामीलाई उद्यम गर्न नसिकाएको र निति निर्माणको तहमा जाने बाटो राजनीतिमा राम्रो र असल मान्छेको प्रवेश र हस्तक्षेपको जरुरी रहेको भनाइ राख्नुभयो ।
उहाँले अहिले निती निर्माण तहका प्रथामिकतामा धेरै परिवर्तन आएको कारण अब उद्यम व्यवसायको विकासको लागि खाली गुनासो मात्रै गर्नु भन्दा केही प्रयासहरु गरेर हामीले यो गर्यौ अब यसो भएमा नतिजामा पुगिन्छ भन्ने खालको अनुभव सहितको संक्षिप्त र स्पष्ट दृष्टिकोण सरोकारवालाहरुले दिन सक्नुपर्नेमा बताउनु भयो।
अभियान्ता तिवारीले पर्वत जिल्लामा ३० वर्ष अघिदेखि थालनी गरिको स्थानीय उत्पादन र प्रशोधनको कार्य अहिले झ्नै महत्वका साथ देशव्यापी रुपमा चासो र बहसको विषय बन्न थालेको कार्यक्रममा सहभागीहरुले धारणा राखेका छन् ।
स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि उद्योगी व्यवसायी समुदायका तर्फबाट आफ्नै संगठित प्रयासको आवश्यकता माथि जोड दिईएको हुन ।
राज्य तहबाट उद्योग र व्यवसाय हेर्ने पहिलो प्राथमिकता रहेको कार्यालय माथि छेडखानी गरि नाम र उद्देश्य समेत परिवर्तन गरि अन्य विधामा र शिर्षकहरुमा बजेट छुट्टाउन थालिएको र स्थानीय सरकारहरुले पनि विभिन्न प्राथामिकताहरुका विच स्थानीय साना उद्यम र व्यवसायको प्रवर्द्धन गर्न यथेष्ट ध्यान दिन नसकेको भन्दै अनौपचारिक क्षेत्रबाटै संगठित प्रयासहरुको आवश्यकता माथि जोड दिइएको छ ।
अन्तरक्रिया कार्यक्रममा सहभागी उद्यमी व्यवसायी, तथा सरोकारवालाको यस्तो निष्कर्ष रहेको थियो। पर्वत जिल्लाको व्यवसायीक प्रथामिकता र परिचय स्पष्ट हुनुपर्नेमा कार्यक्रमका बक्ताहरुको जोड रहेको थियो।
पर्वत उद्योग वार्णिज्य संघ पर्वतका अध्यक्ष ठाकुर वि. पौडेलले पर्वतमा जिल्लाको व्यवसायीक चिनारीका लागि संघले विगतमा यन्त्रिक पुल निर्माण गरि पर्यटन प्रवर्द्धनको सुरुवात गरेको र अब यहाँको व्यवसायीक पहिचानको लागि विभिन्न नितिगत पहलका लागि काम गर्नुका साथै आगामी दिनमा स्थानीय उत्पादनको विक्रि कक्ष कोशली घर स्थापना लगाएताका कार्यक्रमहरु आफ्नो पाइपलाइनमा रहेको बताउनुभयो।
त्यसैगरी कुश्मा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुभाष पन्तले उद्यमशीलता विकास र नवप्रवर्तनलाई पाठ्यक्रमका माध्यमबाट युवा विद्यार्थीहरु माझ पुराइएको र त्यसलाई व्यहारीक उद्यामशीलताको अभ्यास सँग जोडेर लैजानु पर्ने आवश्यकता रहेको धारणा राख्नुभयो।
घरेलु तथा साना उद्योग महासंघ नेपालका गण्डकी प्रदेश सचिव शिवशर्मा पौडेलले पर्वत जिल्लामा मुल्य श्रृङखला अभिवृद्धि गर्ने खालको उद्योग प्रवर्द्धनमा सरोकारवालाहरुले काम गर्नु पर्ने सुझाव दिनुभएको छ ।
कार्यक्रममा गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष कृष्णप्रसाद शर्माले गैससमा विभिन्न कारणले कार्यक्रम र बजेटमा कमी भए पछि विगतमा गैससहरुले प्रवर्द्धन गरिरहेका उद्यमीहरुले उत्प्रेरणा र बजार विस्तारमा सहयोग नपाएको आफुले भेटेको बताउँदै स्थानीय सरकारले गैसस साझेदारी मोडलका कार्यक्रमद्वारा उद्यमशीलता विकासमा काम गर्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गर्नु भयो।
कार्यक्रममा फ्रन्टलाइन नेपालका निर्देशक शिवप्रसाद शर्माले जिल्लाको उद्यम वातावरण र सरोकारवालाको आगामी भूमिका विषयक प्रस्तुति राख्नुभएको थियो।
फ्रन्टलाइन नेपालका कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्माको अध्यक्षता, सचिव सञ्जुकुमारी शर्माको संचालनमा भएको कार्यक्रममा उद्यमशीलता विकास संयोजक केदारनाथ आचार्य, घरेलुु तथा साना उद्योग महासंघ पर्वतका अध्यक्ष निर्मल विश्वकर्मा, उद्योगीहरु चन्द्रा क्षेत्री, जसमाया पुन, कर्ण वहादुर क्षेत्री, थानेश्वर भुषाल, गोविन्द प्रसाद रेग्मी, वसन्त बास्तोला लगाएतले उद्यमीहरुका तर्फबाट धारणा राख्नु भएको थियो ।
पर्वत जिल्लामा पर्वतमा बनेको र नेपालमा बनेको सामानको उपभोग र प्रवर्द्धनका लागि ऐक्यबद्धता सहित हस्ताक्षर अभियान सुरुवात भएको छ र उद्यमशील पर्वतू ई–पत्रिका सार्वजनिक समेत गरिएको छ। उद्यम र उद्यमीहरुका सफलताका कथा, अनुभव र सिकार्इ आदानप्रदान तथा अध्ययन अनुसन्धान तथा विश्लेषणात्मक विषयमा कलम चलाउने गरि संस्थाले सो ई–पत्रिका सुरु गरेको जानकारी दिएको छ।
प्रतिक्रिया