१२ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


नेपाल र थाइल्याण्डबीच सांस्कृतिक समानताहरु छन्ः परराष्ट्रमन्त्री



परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र थाइल्याण्डका बीचमा कैयौँ सांस्कृतिक समानता रहेको उल्लेख गर्नुभएको छ । आज राजधानीमा आयोजित ‘थाइ फ्लेभर्स् इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उहाँले नेपाल र थाइल्याण्डबीच ऐतिहासिक सम्बन्ध रही आएको र दुई देशबीचमा सांस्कृतिक लगायतका धेरै क्षेत्रमा समानता रहेका बताउनुभयो ।

मन्त्री डा राणाले दुई देशका बीचमा पाहुनाहरुको स्वागत, बहुधार्मिक र बहुसांस्कृतिक मूल्यमान्यताहरुको सम्मान तथा सहिष्णुता तथा पर्यटन र यसमार्फत् प्राप्त गर्न सकिने समिृद्धिलगायतका समानताहरु रहेका चर्चा गर्नुभयो । पर्यटन दुई देशका बीचको साझा समृद्धि एवं सहकार्यको क्षेत्र हुनसक्ने स्पष्ट गर्दै मन्त्री डा राणाले नेपालमा पनि पर्यटनको अथाह सम्भावना रहेकाले पर्यटन एवं हस्पिटालिटीका क्षेत्रमा लगानी गर्न थाई लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो ।

नेपाल उद्यमशिलताका क्षेत्रमा अघि बढिरहेको र हस्तकला लगायतका कैयौँ वस्तुको उत्पादन विश्व बजारको आकर्षण पनि बनेको भन्दै उहाँले नेपालमा लगानी गर्न थाई उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको हो । नेपाल र थाइल्याण्ड कहिल्यै पनि कुनै उपनिवेशमा नरहेका स्वतन्त्र र स्वाधीन राष्ट्र रहेका प्रसंग उल्लेख गर्दै मन्त्री डा राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै थाइल्याण्डको भ्रमण गर्नुभएको र त्यस क्रममा सरकारी तथा निजी क्षेत्रमा सहमति र समझ्दारीहरु भएका पनि स्मरण गर्नुभयो ।

सो भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनेको र आगामी दिनमा यस प्रकारका उच्चस्तरीय भ्रमणहरुलाई निरन्तरता दिनुपर्ने पनि उहाँले बताउनुभयो । नेपालस्थित थाई दूतावास र भाटभाटेनी सुपरमार्केटद्वारा सो फेयरको आयोजना गरिएको हो ।

प्रकाशित मिति : १२ श्रावण २०८२, आइतबार  ५ : ४६ बजे