नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक २०८२ साउन १६ गतेदेखि सुरु भई चार दिनसम्म चलेर आज सकारात्मक निष्कर्षसहित सम्पन्न भएको छ।
बैठकले पार्टी एकताको महत्वमा जोड दिँदै, छलफलमा स्वतन्त्रता र कार्यान्वयनमा एकरूपताको सिद्धान्त सबैले अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याएको छ। निजी स्वार्थमा केन्द्रित, पार्टी हितविरुद्ध क्रियाशील स्वार्थ समूह वा गुटहरूको अन्त्य गर्ने सामूहिक संकल्प पनि बैठकले गरेको छ।
प्रतिगमन र यथास्थितिवादलाई परास्त गर्दै सामाजिक–आर्थिक रूपान्तरण र सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्न पार्टीको नेतृत्व अपरिहार्य रहेको निष्कर्ष बैठकले निकालेको छ। यस ऐतिहासिक जिम्मेवारी पूरा गर्न पार्टीको रूपान्तरण र पुनर्गठन प्रक्रियालाई अझ सशक्त रूपमा अघि बढाउने निर्णय पनि भएको छ।
बैठकले क. विप्लव सी. नेतृत्वको नेकपा लगायत अन्य क्रान्तिकारी शक्तिसँग पार्टी एकताको पहल गर्दै वार्ता गर्ने, साथै समाजवादी मोर्चाको सुदृढीकरण र विस्तारमा सक्रिय प्रयास गर्ने निर्णय गरेको छ। यसबीचमा पार्टीका गल्ती र कमजोरीहरूको समेत समीक्षा गरिएको छ।
वर्षाका कारण स्थगित मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई भाद्रको तेस्रो हप्तादेखि पुनः निरन्तरता दिने र यस वर्षको दशैंपछि केन्द्रीय समिति बैठक बस्ने, त्यही बैठकबाट राष्ट्रिय महाधिवेशनको मिति तय गर्ने निर्णय पनि गरिएको छ।
— नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको फेसबुक स्टाटसबाट साभार
प्रतिक्रिया