सामाजिक अभियन्ता ऋषिकेश तिवारीको “गाँउ घरलाई सम्झेर आउँ आजै…” सन्देशमुलक गीत सार्वजनिक
पर्वत जिल्लाका पूर्व सांसद तथा सामाजिक अभियान्ता ऋषिकेश तिवारीको “गाँउ घरलाई सम्झेर आउँ आजै…” बोलको गीत सार्वजनिक भएको छ । सामाजिक उद्यमशीलताका अभियान्ता तिवारीको परिकल्पना तथा शब्द रचनामा रहेको गीत सार्वजनिक भएको हो ।
अहिले हरेक दिन नेपालका युवा युवतीहरु विदेशीने क्रम जारी रहेको समयमा तिवारीले गाँउ घरलाई सम्झेर आउँ आजै बोलको गित सावर्जनिक गरेर गीत मार्फत केही आशा जगाउन खोज्नुभएको हो । सो गीतमा स्वर अञ्जान बाबु र सुस्मिता क्षेत्रीको रहेको छ भने लय अञ्जान बाबु र शब्द संयोजन सहयोगीका रुपमा धिरज नाथ हुनुहुन्छ ।
उद्यमशीलताबाट सामाजिक जनजीवनलाई कसरी परिवर्तन गर्न सकिन्छ भन्ने जनसचेतनामूलक उद्यमशीलताको आभास दिने गीतको बाध्यवाधनहरुमा खड्ग बुढा–मादल, सारङ्गगी–मनिष गन्धर्व, बाँसुरी–रत्न विक, गितार–सबिर कार्की, सहनाई–समिर जैरुको भूमिका रहेको छ । यस्तै समूह गायन तर्फ आरती विष्ट र सिता केसी रहेका छन् भने थेगो प्रह्लाद सुवेदीको छ ।
संगीत संयोजनमा सबिर कार्की, ध्वनी सम्पादनमा गोविन्द्र सोनी दृश्य सम्पादनमा ठाकुर सुवेदी रहेका छन् । यमन पौड्यालको निर्देशनमा तयार भएको गीत हुरी स्टुडियो कुपण्डोलमा रेकर्ड भएको हो । यो गीत पालिका अनलाईन डटकम समाचार पोट्ल तथा पालिका अनलाईन युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।
पर्वत सामुदायिक विकास संस्थाले गीत मार्फत प्रस्तुत गरिएको सामाजिक उद्यमशीलताको नमुनाका रुपमा सामुदायिक खाद्य प्रशोधन उद्योग सञ्चालन गरी उद्देश्यलाई सार्थकता दिएको सञ्चालक थानेश्वर भुसालको भनाई छ ।
अभियान्ता तिवारी ४ दशक अघिदेखि राजनीतिसंगै सामाजिक कार्यमा सक्रिय रहदैं आउनुभएको छ । तिवारीले सामाजिक उद्यमशीलताको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पुरस्कार समेत प्राप्त गरि सक्नु भएको छ ।
“गाँउ घरलाई सम्झेर आउँ आजै…” भन्ने बोलको सन्देशमुलक गीतमा कृषिलाई उद्योग र किसानलाई उद्यमी बनाइ गाउँमा बस्ने, कमाउने र रमाउने वातावरण कसरी जस्ता महत्वपूर्ण सूत्रहरुको बारेमा जानकारी समेत दिन खोजिएको छ ।
उहाँले लेखेको “सामाजिक उद्यमशीलता” नामक पुस्तकमा गाउँघरका साथै मुलुक कसरी समृद्धि बन्न सक्छ भन्ने विषयमा केन्द्रित रहेको छ ।
सार्वजनिक भएको गीतमा पर्वत जिल्लाको उद्यमशीलतालाई आधार बनाई छिट्टै भिडियो समेत छायाङकन हुने भएको छ ।
प्रतिक्रिया